• ११ पुस २०८१, बिहिबार

मन्दिरमा गाडियो लिङ्गो

blog

हुम्ला समाचारदाता

सिमकोट, वैशाख २५ गते । बुद्ध जयन्तीको अवसरमा मन्दिरमा चालिस मिटरको लिङ्गो गाड्ने चलन हुम्लामा अहिले पनि निरन्तर रूपमा चलिरहेको छ । दुई वर्षको अन्तरालमा लिङ्गो गाडिँदै आएको छ ।

सिमकोट गाउँपालिका–७ मा पर्ने डाँडाफया गाउँमा चालिस मिटर लामो लिङ्गो मन्दिरमा गाडेर देवतालाई खुसी पार्ने प्रचलन अनुसार सो गरिएको हो । गाउँमा रहेको देवता सुकुल्ली औंसलाई खुसी पार्न र स्थानीयको धनजनको सुरक्षा गर्न लिङ्गो गाड्ने गरेको स्थानीय जङ्गबहादुर शाहीले बताउनुभयो । शाहीले करिब २७० घरदुरीले मान्दै आएको देवता सुकुल्ली औंसको मन्दिरमा जति लामो लिङ्गो गाड्यो त्यति नै सुख शान्ति मिल्ने मान्यता रहेको बताउनुभयो । पूर्णिमाको बेला जङ्गल गएर लिङ्गो काटेर गाउँमा राखिन्छ  । चतुर्दशीको दिनमा गाउँका सबै स्थानीय मिली मन्दिरमा धामी, झाँक्रीलाई नचाएर रमाइलो गर्दै लिङ्गो गाड्ने चलन रहेकाले त्यसलाई यथावत् राख्दै आएको झाँक्री कलबहादुर शाहीले बताउनुभयो ।

लिङ्गो गाड्नुभन्दा पहिला पुरानो लिङ्गोलाई हटाउने र नयाँ गाड्ने गरिन्छ । मन्दिर गाउँको बीचमा रहेको छ । देवताले दुध मात्र खाने भएकाले दुध मात्र चढाउने पुजारी गोरबहादुर शाहीले बताउनुभयो । पुजारीका अनुसार मन्दिरमा करिब सात देवताका धामी झाँक्री आएर नाच्छन ।