• २३ वैशाख २०८२, मङ्गलबार

सर्लाहीमा आगलागीबाट तीन घर जलेर नष्ट

blog

आगलागीले जलेको घर । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, वैशाख २४ गते । सर्लाहीको बरहथवा र धनकौलमा आइतबार दिउँसो भएको आगलागीबाट तीन घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट बरहथवा नगरपालिका –११, हीरापुरमा धर्मेन्द्र पासवान र होरिल हजारीको फूसले छाएका दुईवटा घर पूर्णरुपमा जलेको वडाध्यक्ष नवराज राईले जानकारी दिनुभयो । 

सो आगलागीबाट जगेश्वर रायको गोठ जलेको छ । दिउँसो चर्को घाम र हावा चलिरहेका बेला बस्तीमा आगलागी भएको हो । गाउँले, प्रहरी र हरिवन नगरपालिकाबाट पुगेको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले बताउनुभयो । 

घर जलेपछि अति विपन्न धर्मेन्द्र र होरिलको परिवार बिचल्लीमा परेको वडाध्यक्ष राईले बताउनुभयो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी दुई वटा फूसका घर र गोठ जल्दा दुई लाख ८० हजार रुपियाँ बराबरको क्षति भएको पीडितको भनाइ छ । 

यस्तै, धनकौल गाउँपालिका –३, मा दिउँसो भएको आगलागीबाट अति विपन्न अनुठा महतोको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट घर तथा घरभित्र रहेका सामग्री जल्दा अनुठाको परिवार पनि बिचल्लीमा परेको स्थानीयले बताएका छन् ।