• ७ मंसिर २०८१, शुक्रबार

अँध्यारोमा एउटा दियो

blog

“देश देशका चाल चलनमा असल तरहका चालका बात चलाई

हाकिम काम्दारलाई मुलुक मुलुकको हाल जाहिर्गराई ।।

जंगी काम्का तरिकाहरु पनि सहजै बात बातमा घुसाई

काम्काम्मा होसियारी पनि सहज सितै मिल्न शक्न्या गराई ।। 

फेरि आफ्ना मुलुकका तरह–तरहका बन्दवेपारलाई 

युक्ति बुद्धि शिकाई, सकल मुलुकको उन्नति गर्नलाई ।।

सबभन्दा सभ्यताका असल तरहका श्रेणीमा चढ्नलाई

ठूलो उत्साह गर्छौ, समय–समयमा यस पत्रलाई चलाई ।।” 


प्रस्तुत कविता आजभन्दा १२२ वर्ष पहिले अर्थात् वि.सं. १९५८ वैशाख २४ गते प्रकाशित साप्ताहिक ‘गोर्खापत्र’ (गोप) को पहिलो अङ्कमा रहेको कविता हो । देशकै पहिलो समाचारपत्रका रूपमा गोप प्रकाशित गर्नुको उद्देश्य र औचित्य यस आठ पङ्क्तिको कवितात्मक रचनामा स्पष्ट गरिएको छ तर यसका रचनाकारको नाम उल्लेख छैन । यद्यपि गोरखापत्र (गोर्खापत्र) प्रकाशन गर्ने ऐतिहासिक जिम्मेवारी पाउनु भएका, त्यसअघि नै (वि.सं. १९५५ मा) स्वदेशबाट पहिलो पत्रिका ‘सुधासागर’ प्रकाशित गरी साहित्यिक पत्रकारिताको अनुभव प्राप्त गरिसक्नुभएका र ‘युवक कवि’ मोतीराम भट्टको निकट सङ्गतमा रहनुभएका नरदेव पाँडेले नै यसरी कवितात्मक शैलीमा गोरखापत्रको परिचय दिएको हुनुपर्छ भनी सहजै अनुमान गर्न सकिन्छ । पत्रकारिताका विद्वान् रामराज पौड्यालले आफ्नो पुस्तक ‘पत्रकारिता’ मा गोरखापत्रबारे एउटा सिङ्गै पुस्तकले व्याख्या गर्न नभ्याउने कुरा यी आठ पङ्क्तिले व्याख्या गरेको छ भन्ने विचार व्यक्त गर्नुभएको छ । ‘सुधासागर’ र गोरखापत्रका जन्मदाता, मोतीराम भट्टका घनिष्ठ मित्र, सुधारवादी राणा प्रधानमन्त्री देवशमशेरका विश्वास पात्र, सिर्जनशील क्षमताका धनी एवं शिक्षित नरदेव पाँडे त्यस युगका एक यस्ता व्यक्तित्व, जसबारे गहन अध्ययन अनुसन्धान गरी उहाँको बौद्धिक योगदानको यथोचित सम्मान गर्न हाम्रो आजको युग पछि परेको छ । 

गोरखापत्र प्रकाशनका लागि पाँडेले वि.सं. १९५८ वैशाख ११ गते प्रधानमन्त्री देवशमशेरबाट सनदद्वारा लिखित अख्तियारी पाउनुभएको थियो । अख्तियारी पाएको दुई हप्तामै आठ पृष्ठको पहिलो समाचारपत्र प्रकाशित गर्न सक्नु उहाँको विलक्षण कार्यक्षमताको ठोस प्रमाण मान्न सकिन्छ । सञ्चार, प्रविधि, शैक्षिक अवस्था, यातायात आदि सबै क्षेत्रमा शून्यप्रायःको अवस्थामा पनि देवशमशेर र नरदेवको इच्छाशक्ति र इमानदारीका कारण त्यति छिट्टै अखबार प्रकाशित हुनु र निरन्तरतासमेत पाउनुलाई तत्कालीन नेपाली राष्ट्रिय जीवनको एक आश्चर्यजनक विषय हो भन्नेमा अतिशयोक्ति हुँदैन । 

औचित्य र अपेक्षा

गोरखापत्रको पहिलो अङ्कमा समावेश सामग्रीहरू धेरै रोचक र अहिलेको दृष्टिमा ऐतिहासिक महत्त्वका छन्, जसमा अखबार प्रकाशनबाट देशको प्रशासनिक, सामाजिक, आर्थिकलगायतका क्षेत्रमा पर्न जाने सकारात्मक प्रभावको अपेक्षाबारे उल्लेख गरिएको छ । यसलाई निम्न बुँदामा विश्लेषण गर्न सकिन्छ :

सरकार र जनताबीच सम्पर्क माध्यम : ‘यो पत्रबाट दुनियाँ (जनता) को दुखदर्द श्री ३ महाराजका हजुर्मा पुगी यथार्थ जाहेर हुने हुनाले र श्री ३ महाराजबाट दुनियाँको उपरमा निगाह राखी बक्सने राय तपाई हामीहरु सारा दुनियाँहरुलाइ यथार्थ थाहा हुने हुनाले राजा रैयत सबैलाई ठूलो फाइदा हुन्या छ ।’ 

राजा र जनताबीच विश्वास एवं प्रगतिका लागि उत्प्रेरणा : ‘अखबार बराबर हेर्नाले दुनियाँभरको खबर जानी ठूला ठूला मुलुकमा यस किसिमले देशको उन्नति गरेको रहेछ, यस्तो सभ्यता रहेछ भनी जान्नाले बुद्धिमान भयाका दुनियाँले आफ्नो चालचलन व्यवहार, धर्म, कर्म, खेतिपाती, इलम इत्यादी सम्पूर्ण विषयमा उन्नति गरेको देखि दुनियाँमा राजाको प्रेम बढदै जाने हुनाले र राजाले आफूमाथि प्रेम गरेको देखि दुनियाँले पनि राजामा भक्ति रोज व रोज हर्कीसिमले बढाउँदै लैजाने हुनाले राजा रैयत दुवैको बहुतै फाइदा छ ।’ 

सैनिक उपलब्धिबारे जानकारी : ‘मुलुकमा भयाको लडाईको बयान, ठुला ठुला फौजमा गरेको तलिम तरकिब, ठुला ठुला फौजको कमान गरी धेरै लडाई गरी बुजरुक भयाका पुरुषहरुले गरेका बयान हुनाले (अखबारमा छापिने हुनाले) मिलेटरीलाई फाइदा छ ।’ 

केन्द्रीय र स्थानीय निकायका कार्यबारे जानकारी : ‘सदर मौफसलमा रहेका हाकिम कारीन्दाले गरेको असल वा कमसल कामको बयान यस पत्रमा छापिने हुनाले निजहरुले यसबाट ठुलो फाइदा पाउने छन् ।’ 

सूचना र समाचार प्रवाह : ‘मोफसलमा रहेका हाकिम, चौधरी, जिम्दार, महन्त, ठेकेदारहरुले सदरको हालखबर बुझ्नका निमित्त धेरै रुपैयाँ खर्च गरी थोरै हालखबर पाउँदथे, अब उप्रान्त चार रुपैयाँ (वार्षिक) मात्र खर्च गर्नाले मोफसल देश देशावरको सारा खबर पाउँछन् ।’ 

देशभित्र र बाहिर रहेका नेपालीबारे जानकारी : ‘व्यापार वा नोकरी निमित्त देश परदेशमा गएका हाम्रा गोर्खाली माहाशयहरुलाई आफ्नु हालखबर घरसम्म र घरको हालखबर आफूसम्म आइपुग्न मुस्किल हुनाले मनमा ठूलो ताप हुन्थ्यो, अब उप्रान्त गोर्खा राज्यभरका गाउँगाउँका हालखबर छापिने हुनाले दुवै तर्फलाई फाइदा छ ।’

 व्यापारिक सूचना : ‘देश देशावरको र गोर्खा राज्यभरका ठाउँ ठाउँको सुन, चाँदी, लत्ताकपडा, अनाज इत्यादि सारा चिजबिजको दरभाउ यसमा बराबर छापिने हुँदा महाजनहरुलाई पनि ठूलो फाइदा छ ।’ 

सीप र प्राविधिक सूचना : ‘केही बुद्धिमान पुरुषले आफ्नो बुद्धिको खर्च गरी सबैलाई अक्कल बुद्धि बढ्ने कुरो वा बहुतै फाइदा हुने अनेक हुनर (कला) का कुरो लेखे तापनि कसैलाई थाहा नभई त्यसै हराई जान्थ्यो, अब उप्रान्त त्यस्तो कुरो पनि बराबर छापिने हुनाले यस विषयबाट सबैलाई फाइदा छ ।’ 

कानुनी जानकारी : ‘सबैलाई चाहिने हुनाले यो एक बहुतै फाइदा हुने कुरो छ कि, यसमा दुनियाँको उपर निगाह राखी थिति बाँधी बक्स्याको कुरा नयाँ आइन (ऐन) कानुन बन्याको, ठूला ठूला मुकद (मुद्दा) मा ठीक ठीक आइन मिलाई छिन्याको इत्यादि सबै निस्साफको विषय छापिन्छ ।’ शैक्षिक जागरण : ‘यो पनि एक फाइदा छ कि लेखपढ गर्न सक्ने दुनियाँले यो अखबार हेरि उन्नति गरेको र यसबाट अनेक कुराका मजा लिएको देख्तामा अनपढ दुनियाँले लेखपढ गर्न अवश्य सिक्नु पर्ने रहेछ भन्ने ठानी आफूले नसके तापनि छोराछोरीलाई जरुर पढाउनन् ।’ 


महिला जागरणको उत्प्रेरणा : ‘स्त्री जातीहरुलाई पनि यसबाट बहुतै फाइदा हुनेछ कि पासा, गंजिफा, तास, पचिस इत्यादि खेलवाड गरी अथवा आफू आफूमा रीसराग गरि दिन काट्नु पथ्र्यो, अब उप्रान्त बराबर यस पत्रको अभ्यास गर्नाले निज स्त्री जातिहरुमा पनि सभ्यता बढी घर गृहस्थाश्रम असल तरिकाले हुन्याछ ।’ 

शिक्षकका लागि सन्दर्भ सामग्री : ‘विद्वानहरुले धेरै विद्यार्थी तयार गरी विद्याको उन्नति गर्दै लैजाँदामा सरकारबाट विद्याको उन्नति गर्ने पण्डित (शिक्षक) लाई यस्तो तरक्की भयो भन्ने कुरो यसबाट थाहा पाइने हुनाले र आफूले पढाएका विद्यार्थीहरुलाई यो पत्रको अभ्यास गराई विद्याको उन्नति गराउन पाउने हुनाले पण्डितहरुलाई पनि बहुतै फाइदा छ ।’ कृषि सूचना : ‘खेतिकिसान गर्नेलाई पनि खेतिपातीको तरिका बराबर जाहिर हुने हुनाले फाइदा छ ।’ कर्मकाण्डमा सहयोग : ‘आफ्ना ब्राह्मणवृत्तिमा रहनु भएका ब्राह्मणहरुलाई यसमा विवाह, जन्म, दान–प्रदान, उत्सव इत्यादि अनेक विषय पनि छापिने हुनाले बहुतै फाइदा छ ।’ 

२०५५ सालमा गोरखापत्र संस्थान परिसरमा एलएलसीको परीक्षाफल हेर्न जम्मा भएका अभिभावक तथा विद्यार्थी । 

यसरी गोरखापत्रले पहिलो अङ्कमै आफ्नो औचित्य र बहुपक्षीय उपादेयताबारे महत्त्वाकाङ्क्षी अपेक्षा राखेको स्पष्ट देखिन्छ तर शासन सम्हालेको तीन महिनामै देवशमशेरलाई हठात् अपदस्थ गरी चन्द्रशमशेरले राज्य सत्ता हत्याएपछि गोरखापत्र करिब ३० वर्षसम्म ‘न हुरुक्क, न जुरुक्क’ को अवस्थामा रह्यो । अरू कतिपय विषयमा सकारात्मक नै देखिए पनि गोरखापत्रको सन्दर्भमा प्रधानमन्त्री चन्द्रशमशेर अनुदार रहे । उनले गोपलाई पूरै बन्द गरेर अङ्ग्रेजहरूका अगाडि अनुदार देखिने हिम्मत त गर्न सकेनन् तर गोरखापत्रलाई प्रवद्र्धन गर्नुको साटो सास मात्र धानिएको अवस्थामा पु¥याए । यद्यपि गोरखापत्रका पुराना अङ्कहरू पल्टाउँदा यसले पहिलो अङ्कमा व्यक्त गरेको माथि उल्लिखित विभिन्न अपेक्षा धेरै हदमा पूरा भएको पाउन सकिन्छ । 

ऐतिहासिक तिथिमिति

गोरखापत्र आज जे छ, जस्तो छ त्यो दुई/चार वर्षमै भएको होइन । करिब सवा शताब्दीको यो कालखण्डमा यसले अनुभव गरेका तितामिठा क्षण, पार गरेका उकाली ओराली, घुम्ती र मोड सबैले एउटा अखबारको मात्र नभई सिङ्गो राष्ट्र, समाज, भाषा, साहित्य आदिको समग्र बृहत्तर इतिहास बोकेको छ । गोरखापत्रसँग जोडिएर आउने कतिपय तिथिमितिको आफ्नै महŒव छ । गोरखापत्रको सिङ्गो इतिहास वि.सं. १९५८ वैशाख ११ गतेको दिनदेखि प्रारम्भ हुन्छ, जुन दिन प्रधानमन्त्री देवशमशेरले नरदेव पाँडेलाई लिखित सनद दिएर साप्ताहिक अखबार प्रकाशित गर्ने ऐतिहासिक जिम्मेवारी सुम्पेका थिए । त्यो मितिलाई गोरखापत्रको विधिवत् बिजारोपण भएको मिति मान्न सकिन्छ । त्यसको दुई सातापछि ‘गोर्खापत्र’ साप्ताहिकको पहिलो अङ्क प्रकाशित भएको मिति १९५८ वैशाख २४ गते सबभन्दा महŒवपूर्ण मिति हो । यसै दिन मूर्त रूपमै जन्मिएर नेपाल र नेपालीलाई ‘गोर्खापत्र’ ले आधुनिक सभ्यताको प्रतीक अखबार युगमा सकुशल प्रवेश गरायो । नेपालमा पत्रकारिताको दिगो जग बसेको त्यसै मितिका आधारमा वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ । 

पहिलो अङ्कदेखि नै यसको शीर्षनाम (मास्टहेड) ‘गोर्खापत्र’ लेखिँदै आएकामा २५ वर्षपछि वि.सं. १९८३ जेठ ४ गतेदेखि ‘गोरखापत्र’ लेखिन थाल्यो । करिब ७९ वर्ष यसरी नै लेखिने गरेकामा फेरि वि.सं. २०६२ वैशाख २४ गतेदेखि पुरानै शैलीमा ‘गोर्खापत्र’ लेखिन थाल्यो तर यो अभ्यास धेरै लामो चलेन । एक वर्षपछि नै २०६३ वैशाख १८ गतेदेखि फेरि ‘गोरखापत्र’ नै लेखिन थाल्यो, यो अहिले पनि जारी नै छ । यसरी शीर्षनाममा हेरफेर हुनुको कुनै ठूलो कारण नभई देशको राजनीतिक परिवेश र गोरखापत्रको नेतृत्वमा आउने फेरबदलको परिणाम मात्र रहेको देखिन्छ । २००७ सालमा प्रजातन्त्र स्थापना भई राजाको वैधानिक शासन प्रारम्भ भएदेखि गोरखापत्रको सम्पादकीयमाथि राजतन्त्रको प्रतीक चिह्न श्रीपेचको चित्र राख्ने गरिएकामा वि.सं. २०६३ जेठ ३ गतेदेखि त्यो चलन हटाइएको पाइन्छ । 

गोरखापत्र प्रारम्भमा हरेक सोमबार प्रकाशित हुने गरेकामा १९९१ साल वैशाख १५ देखि शुक्रबार प्रकाशित हुन थाल्यो । भोलिपल्ट शनिबार सार्वजनिक साप्ताहिक बिदा हुने भएकाले फुर्सदमा अखबार पढ्न सुविधा होस् भनी त्यसो गरिएको हुनुपर्छ । साप्ताहिक अखबारका रूपमा जन्मेको गोरखापत्र जन्मेको ४२ वर्षपछि २००० साल असोज २९ गते (दशैँको उपलक्ष्य) देखि अर्धसाप्ताहिक बन्यो । त्यसपछि हरेक मङ्गलबार र शुक्रबार प्रकाशित हुन थालेको गोरखापत्र त्यसको छिट्टै नै २००३ साल पुस ८ देखि हप्ताको तीन पटक सोमबार, बुधबार र शुक्रबार प्रकाशित हुन थाल्यो । साप्ताहिक, अर्धसाप्ताहिक, साताको तीन पटक हुँदै गोरखापत्र २०१७ साल फागुन ७ गतेदेखि (राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा) दैनिक अखबारका रूपमा निरन्तर प्रकाशित भइरहेको छ । यसरी जन्मेको ५९ वर्षपछि मात्र गोरखापत्रले दैनिक अखबार बन्ने सौभाग्य पायो । दैनिक समाचार र विचार सम्प्रेषणका अतिरिक्त साहित्य, कला र विभिन्न सामाजिक विषयलाई उजागर गराउनमा गोरखापत्रको शनिवासरीय परिशिष्टाङ्कको विशेष योगदान रहिआएको छ । यसको प्रारम्भ २०१९ साल असारदेखि भएको हो । अरू दिनको गोरखापत्र जसरी पढे पनि वा पढ्न छुटाए पनि शनिबारे परिशिष्टाङ्क भने किनेरै पढी जतनसाथ सङ्कलनसमेत गरेर राख्ने पाठक पनि प्रशस्तै थिए, सायद अझै केही होलान् । गोरखापत्रले बेलाबेलामा अनेकौँ प्रयोग पनि गर्ने गरेको पाइन्छ । २०१९ कात्तिक २ देखि २०२२ असोज १२ गतेसम्म सायम्कालीन अङ्कसमेत गरी दिनको दुई पटक गोरखापत्र प्रकाशित गर्नुलाई एउटा यस्तै प्रयोग मान्न सकिन्छ तर आर्थिक तथा व्यवस्थापकीय दृष्टिले यो आवश्यक नदेखिएकाले सायम्कालीन संस्करणलाई निरन्तरता नदिइनु स्वाभाविकै थियो । राष्ट्रको विशेष अवसरमा विशेषाङ्क प्रकाशित गर्ने परिपाटी पनि गोरखापत्रको एक सिर्जनात्मक प्रयोग हो, जसको प्रारम्भ राजा त्रिभुवनको ३५औँ शुभजन्मोत्सवका उपलक्ष्यमा १९९८ भदौ १७ गते ‘उदयाङ्क’ को नाम दिई पहिलो विशेषाङ्क प्रकाशित गरिएको थियो र विशेष अवसरमा विशेषाङ्क प्रकाशित गर्ने कार्य अहिले पनि निरन्तर जारी नै रहेको छ । त्यसअघि एक पटक १९८५ साल साउनमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको जन्मोत्सवको उपलक्ष्यमा गोरखापत्रले विशेष सामग्री प्रकाशित गरेको थियो तर त्यसलाई विशेषाङ्क भनिएको थिएन । 

गोरखापत्रको इतिहाससँग जोडिएका मितिमध्ये १९८४ साल वैशाख १३ को विशेष महत्त्व छ । त्यस दिनको गोरखापत्रको पृष्ठ ३ मा वीरगञ्जकी १२ वर्षीया सूर्यमती श्रेष्ठले श्रीचन्द्र कामधेनु नामको चर्खा चलाइरहेको तस्बिर छापिएको थियो । राजा, सर्वशक्तिमान प्रधानमन्त्री वा अरू कुनै विशिष्ट व्यक्तिको नभई साधारण बालिकाको तस्बिर छापेर नेपाली पत्रकारितामा फोटो पत्रकारिताको शुभारम्भ भएको यस घटना र मितिलाई ऐतिहासिक महत्त्वको मानिन्छ । सोही फोटोका आधारमा नेपालमा हरेक वर्ष वैशाख १३ गतेलाई फोटो पत्रकारिता दिवस भनेर विशेष रूपमा मनाउने गरेका छन् । यद्यपि उक्त फोटो कसले खिचेको थियो भन्ने तथ्य भने अझै अज्ञात छ । 

गोरखापत्र प्रकाशन सुरु भएदेखि नै यसमा सम्पादकको नाम छाप्ने चलन थिएन । सम्भवतः राणा शासकहरू त्यसरी जनसाधारणको नाम प्रचलनमा आओस् भन्ने चाहँदैनथे । गोरखापत्रमा आफ्नो नाम छापेर जोखिम मोल्न सम्पादकहरूले पनि आवश्यक ठानेनन् वा आँट गरेनन् । सम्पादकले यदि आफ्नो नाम छापेमा राणा शासक रिसाएर गोरखापत्र नै बन्द गराइदिन सक्ने भय उनीहरूमा थियो । तसर्थ गोरखापत्रका लागि दिनरात खटिएर सम्पादनलगायत परिआउने सबै किसिमका काम गर्ने नरदेव पाँडे, जयपृथ्वी बहादुर सिंह, चिरञ्जीवी शर्मा आदिले प्रधान सम्पादक, व्यवस्थापक आदिकै जिम्मेवारी वहन गरेका थिए तर गोरखापत्रमा नाम भने उल्लेख थिएन । यो क्रमभङ्ग १९९१ साल जेठ ५ गते भयो, त्यस दिनको गोरखापत्रमा पहिलो पटक ‘सम्पादक प्रेम’ (प्रेमराज शर्मा) भनेर छापियो र सम्पादकको नाम छाप्ने चलन सुरु भयो । त्यतिखेर प्रधानमन्त्री जुद्धशमशेर थिए । उनैलाई 

‘बक्साएर’ यो चलन सुरु गरिएको थियो । प्रेमराज होमियोप्याथीका चिकित्सकसमेत भएकाले केही समयपछि गोरखापत्रमा ‘म्यानेजर तथा सम्पादक डा. प्रेमराज शर्मा’ भनेर छाप्ने गरिएको हो भनी रामराज पौड्यालले उल्लेख गर्नुभएको छ । 

प्रमुख योगदान 

करिब सवा शताब्दीको इतिहासको साक्षी बनेको गोरखापत्र एक अखबार मात्र नभएर राष्ट्रको धरोहर नै हो । स्वदेश र संसारमा भएका महत्त्वपूर्ण घटनाका समाचार, विचार, सन्देश आदिको जीवित दस्ताबेजका रूपमा रहेको गोरखापत्रले बहुपक्षीय योगदान दिएको छ । यसले दिएको योगदानलाई मुख्यतया निम्न बुँदामा उल्लेख गर्न सकिन्छ : 

सवा शताब्दीको ऐतिहासिक दस्तावेज : वि.सं. १९५८ अर्थात् सन् १९०१ देखि अहिलेसम्म अनवरत प्रकाशित गोरखापत्रका पुराना अङ्कहरू सवा शताब्दीको इतिहास बताउने ठोस प्रमाण हुन् । यस कालखण्डमा नेपाल र संसारले धेरै उकाली, ओराली भोगेको छ । त्यसको सत्यतथ्य विवरण यदि कतै सुरक्षित छ भने गोरखापत्रका पुराना पृष्ठहरूमै छ । यो यस्तो ऐतिहासिक सम्पदा हो, जसको मूल्य कुनै रकममा आँक्न सकिँदैन । 

आधुनिक युगमा प्रवेश : राणाकालीन युगमा पनि अखबार प्रकाशित गर्नु भनेको समाजलाई आधुनिकतातर्फ प्रवेश गराउने हुटहुटीकै प्रतिफल हो । शासक र शासित वर्ग मिलेर यस्तो कालजयी रचनात्मक सत्कार्य गरेको उदाहरण इतिहासमा विरलै मात्र पाइन्छ । गोरखापत्रको प्रकाशनले पत्रकारिताको मात्र होइन, नेपाली समाजमा नवचेतनाको पनि जग बसालेको पाइन्छ । 

पत्रकारिताको बलियो जग निर्माण : भारतवर्षमा प्रचलित विभिन्न भाषामा पत्रपत्रिका प्रकाशित भइसक्दा पनि नेपाली (गोर्खाभाषा) मा भने कुनै पत्रपत्रिका प्रकाशित भएको थिएन । यो स्थिति वनारसमा अध्ययनरत छात्र मोतीराम भट्टका लागि पिरोल्ने विषय थियो । तसर्थ उनले वनारसमै छापाखाना व्यवसाय सञ्चालन गरिबसेका मित्र रामकृष्ण बर्माको सहयोग लिई वि.सं. १९५० मा मासिक 

‘गोर्खाभारत जीवन’ प्रकाशित गरे । नेपाली भाषामा प्रकाशित त्यो विश्वकै पहिलो पत्रिका थियो । त्यतिखेरसम्म नेपालबाट कुनै पत्रिका प्रकाशित भएको थिएन । यस प्रकाशनबाटै प्रेरित भएर १९५५ साल साउनमा ‘सुधासागर’ मासिक साहित्यिक पत्रिका प्रकाशित भयो । 

भाषा र साहित्यको विकासमा उल्लेखनीय योगदान : गोरखापत्रका पुराना अङ्कहरू पल्टाउने हो भने नेपाली भाषा शैली कसरी परिवर्तित र परिमार्जित हुँदै आएको छ भन्ने सजिलै बुझ्न सकिन्छ । लोकतन्त्रको स्थापनापछि नेपालका विभिन्न भाषालाई गोरखापत्रले दिएको महत्त्व र स्थानबाट पनि ती भाषाको सेवामा ठोस योगदान पुगिरहेको छ । गोरखापत्र एक सय वर्ष पुगेको उपलक्ष्यमा प्रकाशित एक सय वर्षका कथा, कविता, निबन्ध आदि बेग्लाबेग्लै सङ्ग्रहको अध्ययनबाट पनि गोरखापत्रले नेपाली साहित्यको विविध विधाको विकासमा पु¥याएको योगदान स्पष्ट हुन्छ । 

बन्द र सङ्कुचित समाजमा एक बौद्धिक अभ्यास : नेपाली समाज धेरै लामो समयदेखि बन्द र सङ्कुचित अवस्थामा रहेको थियो । १९०३ साल असोजमा कोतपर्वसँगै राणा शासन प्रारम्भ भएदेखि २००७ फागुनमा प्रजातन्त्र घोषणा नभएसम्म नेपाली समाज बन्द मात्र होइन, उत्पीडनको अवस्थामा थियो । खुलेर कुनै बौद्धिक क्रियाकलाप गर्न नपाइने त्यस्तो युगमा पनि गोरखापत्रको माध्यमबाट केही सीमित मात्रामा भए पनि बौद्धिक गतिविधि सम्भव भएको थियो । 

नेपालबारे सूचनाको आधिकारिक स्रोत : पहिलेदेखि नै भारत, चीन, बेलायत, फ्रान्स, अमेरिका आदि मुलुकमा केही प्रति गोरखापत्र पठाइन्थ्यो । चन्द्रशमशेरका पालामा फ्रान्सका विद्वान् सिल्भाँ लेभी गोरखापत्रको ग्राहक बनेका थिए । बेलायतका राजकुमार इडवार्ड सप्तम्लगायत कतिपय विदेशी विद्वान्ले भाषा नबुझे पनि विभिन्न देशका पत्रपत्रिका सङ्कलन गर्ने गरेका थिए । त्यसक्रममा उनीहरूले नेपालको गोरखापत्रप्रति पनि चासो राख्दथे । कतिपयले विदेशमा पुगेका नेपालीलाई अनुवाद गर्न लगाई गोरखापत्रमा प्रकाशित विषय बुझ्ने गरेका थिए । व्यक्तिगत सङ्ग्रह मात्र होइन, विश्वका कतिपय प्रतिष्ठित पुस्तकालयमा पनि नेपालको गोरखापत्रलाई राम्रो स्थान दिएर राखिएको थियो । राजा महेन्द्र २०१८ सालमा अमेरिकाको राजकीय भ्रमणमा रहँदा त्यहाँको विश्वप्रसिद्ध लाइब्रेरी अफ कङ्ग्रेसमा रहेको गोरखापत्रको सङ्कलन अवलोकन गराइएको थियो । यसैगरी बेइजिङको राष्ट्रिय पुस्तकालयमा पनि गोरखापत्र सङ्कलित थियो । विभिन्न देशका राजदूतावासमा नेपालबाट पठाइने गोरखापत्र नै त्यहाँ रहेका नेपालीका लागि ढिलै भए पनि आफ्नो देशको हालखबर जान्ने भरपर्दो माध्यम थियो । 

दक्षिण एसियाली पत्रकारितामा महत्त्वपूर्ण स्थान : दक्षिण एसियामा अखबारी पत्रकारिताको इतिहास सन् १७८० मा कोलकाताबाट प्रकाशित बङ्गाल गजेट साप्ताहिकबाट सुरु भएको हो, जसको आयु दुई वर्षभन्दा लामो हुन सकेन । यस परिस्थितिमा दक्षिण एसियामा एक शताब्दीभन्दा लामो अवधिदेखि निरन्तर प्रकाशित केही सीमित समाचारपत्रमा गोरखापत्र पनि पर्नु हाम्रा लागि निकै गौरवको विषय हो । एक शताब्दीभन्दा लामो यात्रा पूरा गरेर पनि अझै निरन्तर यात्रा जारिराखेका भारतीय अखबारहरूमा टाइम्स अफ इन्डिया (सन् १८६१), अमृतबजार पत्रिका (१८६८), पायोनियर (१८७२), स्टेट्सम्यान (१८७५) र द हिन्दू ( १८७८) मुख्य हुन् । यही लहरमा हाम्रो गोरखापत्र (सन् १९०१) पनि पर्दछ । 

गोरखापत्रको कमी कमजोरी नभएको होइन । मुख्य कुरा गोरखापत्रलाई एउटा दैनिक पत्रिकाका रूपमा मात्र नलिई गौरवपूर्ण इतिहास बोकेको राष्ट्रको एक अमूल्य सम्पदाका रूपमा लिनु पर्दछ र राज्यसत्ता एवं जनताले पनि यसलाई सोही आधारमा संरक्षण र संवद्र्धन गर्नुपर्दछ । यसको अस्तित्व नै समाप्त गरी यसलाई इतिहासमा मात्र सीमित पार्न समय समयमा अनेकौँ प्रपञ्च नरचिएका होइनन् तर ती सबै चुनौतीलाई निस्तेज पार्दै निरन्तर अगाडि बढ्न गोरखापत्र सफल भएको छ ।    

गोरखापत्रको प्रकाशन एउटा पत्रिका प्रकाशित भएको सामान्य घटना मात्र थिएन, घोर अन्धकारमा एउटा दियो बाल्ने साहस गरिएको ऐतिहासिक घटना थियो, जुन दियो समयको आँधीहुरीसँग जुध्दै, जोगिँदै सवा शताब्दीसम्म पनि निरन्तर उज्यालो छर्न सक्षम रहँदै आएको छ र अझै रहिरहनेछ ।            

Author

श्रीरामसिंह बस्नेत