डडेलधुरामा जन्मेको भए पनि मेरो परिवार २०२१ सालमा कञ्चनपुर बसाइँ स-यो। मैले त्यही साल एसएलसी (अहिले एसईई) परीक्षा पनि डडेलधुराबाट नै उत्तीर्ण गरेँ। डडेलधुरामा एसएलसीको परीक्षा केन्द्र स्थापना भएको पनि त्यो पहिलो वर्ष थियो। म नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाभन्दा दुई वर्ष तल्लो कक्षामा पढ्थेँ। एसएलसी उत्तीर्ण भएपछि विज्ञान सङ्कायमा भर्ना हुने चाहना बोकेर म काठमाडौँ आएँ। त्यतिखेर काठमाडौँमा अमृत साइन्स र त्रिचन्द्र क्याम्पस मात्रै थियो तर तेस्रो श्रेणीमा उत्तीर्ण भएकाले विज्ञान पढ्न नपाउने चलन थियो। त्यसैले त्रिचन्द्र क्याम्पसमा मानविकीमा भर्ना भएँ। यसरी नै जीवन चलिरहेको थियो।
पछि म पञ्चायती राजनीतिमा पनि आबद्ध भएँ। २०३४ सालमा कञ्चनपुरबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएँ। त्यतिखेर म २९ वर्षको मात्रै थिएँ। २०३९ सालमा फेरि राष्ट्रिय पञ्चायतको सदस्यमा उम्मेदवार भएँ तर हारेँ। त्यति बेलासम्म मेरो विवाह भएको थिएन। चुनाव हारेपछि एक प्रकारले फुर्सदिलो जस्तो भएँ।
घरमा विवाहको कुरा पनि चलिरहेको थियो। काठमाडौँ आएर विवाह गरेँ। त्यसपछि फेरि कञ्चनपुर फर्कन मन लागेको थियो तर श्रीमती पद्मकन्या क्याम्पसमा पढाउँथिन्। उनलाई सँगै लैजान कि त रोजगारी छोड्नुप¥यो कि त उतै सरुवा गर्नुपर्ने तर यो दुवै अवस्था नमिलेपछि म पनि काठमाडौँमै बस्न थालेँ। त्यसपछि बिस्तारै मेरो रुचि बदलिन थाल्यो। राजनीति छोडेर पत्रकारितातर्फ मेरो यात्रा मोडियो। साथीहरूसँग मिलेर पहिलो पटक ‘साप्ताहिक मञ्च’ नामको पत्रिका निकाल्ने योजना बन्यो। साथीहरूको जोडबलले म आफैँ सम्पादक बनेँ। सात जना मिलेर १४ हजार रुपियाँको दरले पैसा सङ्कलन गरियो। मेरो काँधमा ठूलो जिम्मेवारी थपिएको महसुस भयो। मनमनै सोचेँ, पत्रिका चले त ठिकै थियो, चलेन भने त मेरो भएको इज्जत पनि जाने भयो। पत्रिका चलाउने योजना बनेपछि उद्धवदेव भट्टलाई भेट्न गएँ। उहाँ यूएनको राजदूत पनि हुनुभएको थियो। म पनि यूएनको डेलिगेट भएर गएको समयमा भेट भएको थियो। उहाँ पनि बैतडीकै मान्छे भएकोले मसँग बोलीचाली पनि मिल्ने । उहाँसँग भेट भएपछि भन्नुभयो, “साप्ताहिक पत्रिका मान्छेले ‘न्युज’का लागि पढ्दैनन्। यदि ‘भ्युज’ दिन सक्नुभयो भने चाहिँ चल्छ।” २०३९ साल पुस १ गते शुक्रबार पत्रिकाको पहिलो अङ्क निकालियो। त्यो छलफलमा भट्टका भान्जा विजयकुमार पाण्डे पनि सँगै हुनुहुन्थ्यो। त्यही बेलादेखि उहाँ पनि हामीसँगै पत्रकारितामा जोडिनुभएको हो। पत्रिकामा ‘आदि इत्यादि’ कोलम राखेर नियमित रूपमा लेख्न लगाएँ तर पारिश्रमिक नपाउने गरी।
पत्रिकामा सात जनाको लगानी थियो। पत्रिका दर्ता गर्न जाँदा सातै जनाको प्रहरी प्रतिवेदन चाहिन्छ भन्यो तर हाम्रा साथीमध्ये म कञ्चनपुरको, कोही मुस्ताङका, कोही धरानका, कोही धनकुटाका थिए। हाम्रो समूहमध्ये वैकुण्ठनारायण प्रधानको घर काठमाडौँमै थियो। प्रहरी रिपोर्ट ल्याउने झन्झटबाट मुक्ति पाउन वैकुण्ठकै नाममा पत्रिका दर्ता गरियो। त्यतिखेर सप्तकोशी प्रकाशन गृहको नाममा पत्रिका निकालेका थियौँ। सामूहिक लगानी भए पनि पत्रिका प्राविधिक रूपमा वैकुण्ठकै नाममा थियो। हाम्रो मन मिल्ने भए पनि पत्रिकामा लगानी गर्ने साथीमध्ये कोही कम्युनिस्ट, कोही पञ्चायत र कोही प्रजातान्त्रिक विचारधारका थिए, जसको जे विचार भए पनि हाम्रो पत्रिकाको मुख्य उद्देश्य पञ्चायत र भूमिगत गिरोहको गतिविधि बाहिर ल्याउने थियो। पत्रिकालाई पठनीय बनाउनका लागि पनि यस्ता गतिविधिलाई बाहिर ल्याउन जरुरत थियो। हामी कुनै पनि वादमा नलागी सत्यतथ्य समाचार ल्याउन कटिबद्ध थियौँ। अझ मलाई त राष्ट्रिय पञ्चायतको सदस्यमा सरकारी उम्मेदवार नै खडा गरेर हराइएको हुनाले पञ्चायतका बारेमा लेख्न कुनै डर थिएन। त्यही भएर पनि साथीहरूले मलाई सम्पादक बनाएका थिए। म राष्ट्रिय पञ्चायतको सदस्य र राष्ट्रवादी विद्यार्थी मण्डलको अध्यक्ष पनि भइसकेको हुनाले कारबाही गरिहाल्न पनि कठिन थियो। पत्रिकामा निकै खोजमूलक समाचार लेख्न थाल्यौँ। पाठकको सङ्ख्या ह्वात्तै बढ्यो।
हाम्रै समूहका वैकुण्ठनारायण प्रधान व्यापार व्यवसायमा पनि संलग्न हुनुहुन्थ्यो। उहाँले त्यतिखेर धनगढीको रोजिन टर्पेन्टाइल कारखानाको सामान भारत निर्यात गर्नुभएको थियो तर ६०/६५ लाखको सामान पु¥याउनुपर्नेमा आधा पेस्की लिएर सामान पु-याउनभएको थिएन। पु-याउने क्रममै थियो। तैपनि उहाँलाई प्रहरीले पक्राउका लागि खोजी गरेछ। हामीले नै उहाँलाई पाटनमा साथीको घरमा केही समय लुकायौँ। त्यतिखेर प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द हुनुहुन्थ्यो, सम्बन्ध राम्रै थियो। उहाँलाई भेटेर वैकुण्ठलाई पक्राउ गर्न लागिएको विषयमा जानकारी गरायौँ। वैकुण्ठ न त व्यवस्था विरोधी थिए न त उहाँलाई पक्राउ पुर्जी नै थियो। त्यसपछि प्रधानमन्त्रीले पनि वैकुण्ठलाई थुन्न मिल्दैन भनिदिनुभयो। प्रहरीलाई पनि निर्देशन दिनुभयो तर वैकुण्ठलाई पक्रन हिँडेको प्रहरीको हाकिमले मान्दै मानेन। किन त्यस्तो भयो भनेर बुझ्दै जाँदा पक्रन खोज्ने गिरोहले पदम ठकुराठीलाई प्रधान सम्पादकबाट हटाउने हो भने पक्रदैनौँ भनेछ।
त्यसपछि वैकुण्ठले मलाई प्रधान सम्पादकबाट हट्न अनुरोध गर्नुभयो। म जिल्ल परेँ। अरू साथीले पनि ठकुराठीलाई कुनै पनि हालतमा हटाउन मिल्दैन भन्न थाले तर वैकुण्ठले मान्नुभएन। कानुनी रूपमा उहाँ नै अघि हुनुहुन्थ्यो किनकि प्रहरी रिपोर्ट ल्याउने झन्झटका कारण उहाँलाई साहुजी बनाएर हामीले पत्रिका निकालेका थियौँ। त्यसपछि पत्रिका छोडिदिएर हामी छ जना समूहबाट बाहिरियौँ। यो पत्रिका चलाउँदा एक वर्षको अवधिमा समाचारकै कारण म २० पटक थुनामा परेको थिएँ।
हाम्रो रुचि पत्रिकामै थियो। पत्रिकाको खोजी गर्दै गर्दा भक्तपुरका शिवकुमार खड्कालाई भेट्यौँ। उहाँको नाममा ‘जनज्योति साप्ताहिक’ नामको पत्रिका रहेछ। हामीले उहाँलाई महिनाको तीन हजार दिएर पत्रिका चलाउने निर्णय ग¥यौँ। सम्पादक खड्का नै हुने, म अतिथि सम्पादक बन्ने निर्णय भयो तर पत्रिका सम्पूर्ण रूपमा हाम्रै जिम्मेवारीमा थियो। खड्काको नाम मात्रै रहने भयो। कांग्रेसको समाचार लेखाउने उद्देश्यले त्यही पत्रिकामा हरिहर विरहीलाई पनि जोड्यौँ। विरहीले एउटा सनसनीपूर्ण अन्तर्वार्ता लिएर आउनुभयो योगी नरहरिनाथको। त्यो अन्तर्वार्तामा ‘राजाले छाता ओड्ने भए आफैँले समाउनुपर्छ’ भन्ने शीर्षक थियो। जस्ताको तस्तै छाप्यौँ। त्यसपछि यही विषयलाई लिएर विरहीलाई राजकाज मुद्दामा जेल चलाइयो। नरहरिनाथलाई भैरहवाबाट भारत पठाइयो। पत्रिकाको सम्पादक बनेका खड्काको भागाभाग भयो। म त अतिथि सम्पादक मात्रै भएकोले प्रहरीले चासो नै दिएन। झन्डै तीन/चार महिनापछि आएर खड्काले म अबदेखि पत्रिका दिन सक्दिनँ, तपाईंहरू अर्कै चलाउनूस् भन्नुभयो। त्यतिबेला विरही पनि छुटिसक्नुभएको थिए। खड्काले दिन्न भनेपछि हामीले पनि बलजफ्ती गर्ने कुरा भएन, पत्रिका उहाँलाई नै छोडिदियौँ।
पत्रकारितामा झन् रस बस्दै गयो। त्यतिबेला हामी समाचार लेख्ने विषयमा कुनै सम्झौता गर्दैनथ्यौँ। प्रमाणबिनाको समाचार छाप्दैनथ्यौँ। प्रमाण पुगेको समाचारलाई जस्तै ठूलो प्रलोभन आए पनि लुकाउँदैनथ्यौँ। फेरि पत्रिका चलाउने हुटहुटी चल्यो। पत्रिकाको खोजी गर्ने क्रममा भक्तपुरका बलदेव थापालाई भेट्यौँ। उहाँको नाममा ‘नेपाली आवाज’ नामको पत्रिका रहेछ। थापालाई मासिक तीन हजार रुपियाँ दिएर हामीले पत्रिकाको सम्पूर्ण जिम्मेवारी लियौँ तर सम्पादक थापा नै रहने र म अतिथि सम्पादक बन्ने निर्णय भयो। त्यसलाई पछि साप्ताहिक नेपाली आवाज नाम राखेर चलायौँ। पत्रिका निकै चर्चित भयो। त्यही लोकप्रियता देखेर थापाले उक्त पत्रिका भरत जङ्गमलाई बेचिदिनुभयो। हामी फेरि जिल्लियाँै। पत्रिका चर्चित बनाउने हामी, लैजाने अरू भए।
गोरखापत्र दैनिकको जागिरबाट अवकाश भएपछि केशवराज पिडालीलगायतको समूहले साप्ताहिक विमर्श चलाइरहेको थियो। यो पत्रिका २०२४/२५ सालमा सुरुवात भएको थियो तर बीचमा नियमित हुन सकेको थिएन। पिडालीको नेतृत्वमा पत्रिका चलाएको भए पनि कर्मचारीले पाँच÷छ महिनादेखि तलब पाएका रहेनछन्। पत्रिकाको छापाखानासमेत बेचेर व्यवस्थापनले हिसाब मिलाएको थियो। त्यसपछि पत्रिकाको व्यवस्थापनले हामीलाई पत्रिका छाप्नुप¥यो भन्न थाल्यो। हामी पनि नेपाली आवाजबाट भर्खरै बाहिरिएको तर पत्रिका चलाउने रुचि भएका कारण तत्कालै विमर्शमा आबद्ध भयौँ। त्यतिबेला हामी तीन जना मिलेर विमर्श चलाएका थियौँ। पिंडाली सञ्चालक नै हुनुहुन्थ्यो। हरिहर विरही पनि हाम्रै समूहमा हुनुहुन्थ्यो। पत्रिका चल्दै थियो। लोकप्रियता निकै बढिसकेको थियो। त्यति बेला हामीले एक हजारप्रति पत्रिका हुलाक टिकट टाँसेर विदेश पठाउँथ्यौँ। भूमिगत गिरोहका बारेमा निकै सनसनीपूर्ण समाचार लेख्थ्यौँ। समाचार लेखेकै कारण मैले २०४३ साल भदौ २० गते गोलीसमेत खानुप¥यो। घरमा सुतिरहेको अवस्थामा गोली हान्दासमेत मलाई मार्न सकेनन्। एउटा आँखा गुमाएर भए पनि मैले पत्रकारितालाई निरन्तरता दिइरहेँ।
विमर्श निकाल्दै गर्दा त्यति बेला सरकारले दुई सय जना राजनीतिज्ञलाई एकै पटक मारिदिने गोप्य निर्णय गरेको रहेछ। यो समूहमा पञ्चायतविरोधी र समर्थक सबै रहेछन्, जसमा म मात्रै होइन, सूर्यबहादुर थापाको समेत नाम रहेछ। हामीले त्यो सूचना पायौँ। राजनीतिक पृष्ठभूमिबाट आएको हुनाले मेरो सूचना स्रोत राम्रै थियो। खेलकुद परिषद्का मान्छेलाई एक/एक वटा पेस्तोल दिने र उनीहरूले एकै पटक सबैलाई मार्ने योजना रहेछ। हामीले त्यही सूचनाअनुसार समाचार लेख्यौँ। समाचार सनसनी बन्यो तर सत्य नै थियो। हामी अर्को अङ्कको तयारी गर्दै थियौँ। सञ्चार मन्त्रालयबाट एउटा पत्र आयो, अबदेखि पत्रिका निकाल्नुअघि अञ्चलाधीश कार्यालयबाट समाचार पास गराएर मात्रै छाप्नुहोला। सरकारको कुरा नमान्ने भन्ने पनि भएन। हाम्रै पत्रिकाको कारण अन्य पत्रिकाले पनि छाप्नुअघि अञ्चलाधीशको कार्यालयबाट जाँचबुझ गराउनुपर्ने बाध्यकारी व्यवस्था राखियो। यसो गर्नुको मुख्य कारण सरकारी गोप्य सूचना बाहिर नजाऊन् भन्ने नै हो तर पनि हामीसँग समाचारको निकै गोप्य स्रोत थियो। पत्रिका निकाल्दा हाम्रो स्पष्ट मान्यता थियो, झुटा समाचार नछाप्ने, प्रमाण पुगेको समाचार लेख्दा जस्तोसुकै प्रलोभनमा पनि नफस्ने र प्रमाणबिना कुनै पनि समाचारको खण्डन नछाप्ने, राजपरिवार तथा सरकारका निकै गोप्य विषयलाई छाप्दथ्यौँ। यस्तै गोप्य समाचारलाई स्रोतको हवाला दिँदै ‘सुलसुले’ नामको स्तम्भबाट छाप्थ्यौँ। त्यतिखेर यो स्तम्भ निकै लोकप्रिय थियो।
विमर्श निकाल्दै गर्दा हरिहर विरहीसँग आर्थिक विषयमा विवाद भयो। समाचारको विषयमा केही असहमति आउन थाले तर पनि उहाँ हाम्रा कर्मचारी मात्रै हुनुहुन्थ्यो। उहाँ हाम्रो पत्रिकाबाट अलग्गिनु भयो। यो क्रममा सानातिना विवाद पनि भए। त्यति बेलासम्म पत्रिका पिडालीकै नाममा थियो। हामीसँग विवाद भएर पत्रिकाबाट बाहिरिएका विरहीले पछि पत्रिका नै आफ्नो बनाउनुभयो। पिडालीले पत्रिका लगेपछि हामी सबै जना बाहिरियौँ। यही समयदेखि म करिब करिब पत्रकारिताबाट बाहिरिएँ।
त्यसपछि करिब १० वर्षपछि फेरि पत्रकारितामा लाग्ने रुचि जाग्यो। कुलेश्वरमा कार्यालय राखेर फेरि ‘नेपाली माटो’ नामको पत्रिका निकाल्न थाल्यौँ। म सम्पादक थिएँ। हिमलाल ज्ञवाली पत्रिकाका सञ्चालक हुनुहुन्थ्यो। यो राजदरबार हत्याकाण्ड भएपछिको थियो। यो पत्रिकाबाट पनि केही समयपछि नै म बाहिरिएँ। त्यसपछिको जीवन अध्ययन अनुसन्धानमै बितिरहेको छ। हाम्रो समयको पत्रकारिता अहिलेको भन्दा निकै फरक थियो। त्यति बेला कुनै व्यक्ति समस्यामा परे भने सरकारी कार्यालयमा जाँदा सुनुवाइ हुँदैनथ्यो तर पत्रिकामा समाचार छापियो भने सरकारी कार्यालयबाट तुरुन्त सुनुवाइ हुन्थ्यो। सही कुरा छापियो भने तत्काल कारबाही हुन्थ्यो। त्यतिखेरको हाम्रो ताकत भनेको त्यही हो। मैले लेखेका समाचारका दर्जनौँ उदाहरण छन् तर अहिलेको पत्रकारिता देखेर मलाइ वाक्क लाग्छ। अपवादबाहेकलाई छोडेर हेर्ने हो भने अधिकांश सञ्चार माध्यम निहित स्वार्थबाट प्रेरित छन्।
(गोरखापत्रकर्मी सूर्यप्रसाद पाण्डेसँगको कुराकानीमा आधारित)