• १३ असोज २०८१, आइतबार

अध्यक्षको कार्यकक्षमा तालाबन्दी

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, वैशाख २० गते । कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहितको केन्द्र यथास्थानमा राखिनुपर्ने मागसहित एक समूहले मङ्गलबार गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताला लगाएको छ। सोमबार भएको १३औँ गाउँ सभाको दुई तिहाइ बहुमतले गाउँपालिका भवन कानेपोखरी–५ को भौंसाबारीमा सार्ने निर्णय गरेको थियो। 

हाल प्रमुख प्रशासकीय भवन रहेको कानेपोखरी–६ का वडाध्यक्षलगायत सबै जनप्रतिनिधि र अरू २५० जना एमालेका सक्रिय सदस्यले सोमबार पार्टीबाट सामूहिक राजीनामा दिनुभएको थियो। प्रशासनिक भवन यथास्थानमा राख्न दबाब दिने उद्देश्यसहित उहाँहरूले राजीनामा दिनुभएको थियो। मङ्गलबार नै वडा नं.–६ को वडा कार्यालयमा समेत सोही समूहले ताला लगाएको छ।

प्रशासनिक भवन सार्ने र यथास्थानमा राख्ने विषयमा विवाद भएपछि मतदानबाट निर्णय गरिएको थियो। गाउँ सभाको बैठकमा भएको मतदानमा २७ जनाले सार्ने पक्षमा मतदान गर्नुभएको थियो भने सात जनाले यथास्थानमा राख्नुपर्ने पक्षमा मतदान गर्नुभएको थियो। चार जनाको मत बदर भएको थियो।

गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँ सभामा पालिकाको केन्द्र पालिकाले खरिद गरेको वडा नम्बर ५ भौंसाबारीमा सार्ने प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावमा सहमति हुन नसकेपछि मतदान भएको पालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताउनुभयो।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा पालिकाको केन्द्र स्थापनाका लागि भन्दै दुई करोड पाँच लाख रुपियाँमा वडा नम्बर ५ को भौंसाबारीमा एक बिघा जग्गा खरिद गरेको थियो। त्यो जग्गामा पालिकाको प्रमुख प्रशासनिक केन्द्र बनाउने कि नबनाउने भन्ने विषयमा विवाद भइरहेको थियो। गाउँ सभाबाट सार्ने निर्णय भएसँगै अब यो विवाद समाधान भएको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो।