• १३ साउन २०८१, आइतबार

डण्डा नदी किनारमा हरियाली पर्यटकीय पार्क निर्माण

blog

सिद्धार्थनगर नगरपालिकामा निर्माण भएको दरखसवा पर्यटकीय पार्क । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, वैशाख १८ गते । रुपन्देहीको डण्डा नदी किनारमा रहेको खाडललाई पुरेर पर्यटकीय पार्क बनाउन लागिएको छ । सिद्धार्थनगर नगरपालिकाले यो क्षेत्रमा पर्यटकीय सम्भावना औँल्याउँदै पार्क निर्माण अघि बढाइएको हो । 

सिद्धार्थनगर नगरपालिका –३ मा रहेको यो क्षेत्र अब छिट्टै सुन्दर र आकर्षक पार्कमा परिणत हुने नगर उपप्रमुख उमा अधिकारीले जानकारी दिनुभयो । “निर्माण सम्पन्न भएपछि यो भैरहवाकै पहिलो र आकर्षक पार्क हुनेछ” उहाँले भन्नुभयो, “पर्यटकीय सम्भावना देखेरै नगरपालिकाले पार्क निर्माण अघि बढाएको हो ।” 

भैरहवामा खुल्ला ठाउँ भए पनि सार्वजनिक जमिन नहुँदा स्थानीय, प्रदेश र सङ्घ सरकारले लगानी गर्न चाहेर पनि मनोरञ्जनस्थल बनाउन सकेका छैनन् । नगरपालिकाले डण्डा नदीको छेउमा रहेको खाल्डोलाई पुरेर पार्क बनाइरहेको छ ।

पार्क निर्माणका लागि धेरै काम पूरा भैसकेको नगरपालिकाका योजना प्रमुख जीवन अर्यालले जानकारी दिनुभयो । “अब, थोरै मात्र काम बाँकी छ, यही आर्थिक वर्षभित्रै पार्क पूर्णरुपमा तयार हुन्छ” उहाँले भन्नुभयो । नगरवासीलाई वनभोज जाँदा वा मनोरञ्जन गर्न पनि अब टाढा जानु नपर्ने उहाँको भनाइ छ । करिब पाँच करोड रुपियाँको लागतमा नगरपालिकाले यो दरखसवा पार्क बनाइरहेको हो ।

योजना प्रमुख अर्यालले आन्तरिक पर्यटक मात्र नभएर लुम्बिनी आउने पर्यटकलाई पनि पार्कको अवलोकनका लागि ल्याउन सकिने गरी आकर्षक बनाइने बताउनुभयो । “बाह्य पर्यटक पनि यहाँ आएर मनोरञ्जनका साथै शान्त वातावरणमा रमाउन सक्नेछन्” उहाँले भन्नुभयो । विभिन्न चरणमा गरेर फरक–फरक पाँच जना ठेकेदारले निर्माण कार्य गरेका छन् । 

सिद्धार्थनगरका यसअघि नगर प्रमुख हरिप्रसाद अधिकारी र उपप्रमुख उमा काफ्लेको पालामा पार्क निर्माण कार्य सुरु गरिएको थियो । वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष थानेश्वर पौडेलले पार्कका लागि जग्गा खोज्ने र बजेट छुट्टयाउन पहल गर्नुभएको थियो ।

पार्क निर्माण सुरु गर्दा डण्डा छेउमा गहिरो खाडल थियो । “पहिला १४ फिट खाल्डो पुरेर हामीले काम थालनी गरेका हौँ” अर्यालले भन्नुभयो, “यस्तो खाडलमा पनि पार्क बन्छ र ? भनेर धेरै आलोचना गरेका थिए, अहिले सुन्दर पार्क तयार हुँदैछ ।” पार्कको पूर्वपट्टिको संरचना तयार भइसकेको छ । उत्तरपट्टी केही निर्माणको कार्य जारी छ ।

पार्क अहिले हरियाली बनेको छ । वनभोजका लागि पाँच वटा सेड बनाइएको छ । यसमा २ वटा सेड सहरी विकासले बनाएको हो भने बाँकी नगरपालिकाले लगानी गरेको हो । पार्कमा हरिण, गैँडा, चिम्पाञ्जी, याक, चिप्लेटी, गार्डेन, मर्निङवाक क्षेत्र, ट्वाइलेट–बाथरुम, सेल्फीजोन बनाइसकिएको छ । हरियालीले पार्कलाई थप सुन्दर बनाएको छ । पार्क निर्माण सम्पन्न नहुँदै उद्घाटन भएको छ ।