• १३ साउन २०८१, आइतबार

ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक

blog

काठमाडौँ, वैशाख १७ गते । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा आठ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको छ । 

सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि २०७९ फागुन २३ देखि २०८० वैशाख १३ सम्म सञ्चालन भएको भाषा परीक्षाको नतिजा शनिबार सार्वजनिक भएको हो । 

वैदेशिक रोजगार विभागअन्र्तगतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका अनुसार दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २४ हजार ३२६ जना सहभागी थिए । कृषि तथा पशुपालनतर्फको पहिलो चरणका लागि तीन हजार एक जनाका लागि १० हजार ३९८ जनाको आवेदन परेको थियो । 

सो शाखाले ईपीएस भाषा परीक्षा उत्तीर्ण भएकाहरूको यही वैशाख २५ देखि जेठ ४ सम्म सीप परीक्षा हुने जनाइएको छ । 

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालका अनुसार अघिल्ला वर्षहरूमा भाषा परीक्षा पेपर बेस टेस्ट (पीबीटी)का रूपमा गरिँदै आएकामा एक वर्षयता यूबीटी (युविक्युट्स बेस टेस्ट) ट्याबमार्फत गरिँदै आएको छ । सो शाखाका निर्देशक कटुवालले यूबीटी परीक्षा प्रणाली लागू भएसँगै परीक्षा शतप्रतिशत नै पारदर्शी भएको दाबी गर्नुभयो । 

ईपीएस शाखाका अनुसार सन् २०२३ मा ईपीएसमार्फत कृषि तथा पशुपालनतर्फ १० हजार ७५८ जनाको माग आएकामा ३७ हजार २७४ जनाले आवेदन दिएका थिए । शाखाले कृषि तथा पशुपालनतर्फको गत पुस ४ देखि ८ सम्म आवेदन दिने समय तोकेको थियो । सन् २०२२ मा ईपीएसमार्फत कृषि तथा पशुपालन र उत्पादनतर्फ १५ हजारभन्दा बढी नेपाली कोरिया पुगिसकेका छन् ।