यही चैत मसान्तसम्मको तथ्याङ्क हेर्दा प्रेस काउन्सिल नेपालमा सूचीकरणका लागि आवेदन दिने अनलाइनको सङ्ख्या तीन हजार ९१५ पुगेको छ । यो सङ्ख्या बढ्दै छ । अनलाइन माध्यम खोल्ने होडबाजी नै छ । सूचीकरणका लागि आवेदन दिने अनलाइन माध्यमका सञ्चालक र सम्पादकको सरसर्ती अध्ययन गर्दा यसतर्फ चारथरी मानिस आकर्षित भएको देखिन्छ । पहिलोथरीका मानिस लामो समयसम्म पत्रकारिता क्षेत्रमा योगदान गरेका र अरूको सञ्चारमाध्यममा काम गर्दागर्दै दिक्क लागेर आफैँ अनलाइन खोल्न आएका छन् । यी छापा र विद्युतीय दुवै माध्यममा अनुभव प्राप्त व्यक्ति हुन् । यिनले राम्ररी अनलाइन सञ्चालन गर्ने अवसर पाए/सके पत्रकारिता मर्दैन । छापा र विद्युतीय जस्तै यो क्षेत्रको पत्रकारिताबाट पलायन हुनुपर्ने अवस्था छैन तर विकृति बढेको अहिलेको अवस्थामा इमानको रोटी खाएर पत्रकार आचारसंहिता र सञ्चार निर्देशिकाको ख्याल गरी समाचार माध्यम चलाउन पर्दा बाँच्न नै धौधौ हुन सक्छ ।
दोस्रोथरी यस्ता छन्, जो अनलाइन खोलेपछि रातारात मालामाल भइन्छ भन्ने भ्रममा परेको देखिन्छ । पत्रकारिता तथा आमसञ्चार विषय नपढेका, यसबारे खासै नबुझेका वा कम बुझेका बढी मानिस यसतर्फ आकर्षित छन् । कतिपय त यस्ता मानिस छन्, जसले छुट्टै व्यापार–व्यवसाय गर्दै आएका छन्, जसमा विज्ञापनको पहुँच पनि छ । यस्ता व्यक्ति सिधै ‘अनलाइन माध्यम खोल्दिम् न भनेर आएको, आफ्नो व्यापार–व्यवसाय फस्टाउन र आफ्नो क्षेत्रको विज्ञापन उठाउन आफ्नै अनलाइन माध्यमबाट सकिन्छ कि भनेर यता हाम्फालेको’ भन्छन् । हुन त यसरी पत्रकारिता अभ्यासमा प्रवेश गर्नेहरूबाट पनि छानिएर राम्रा व्यावसायिक पत्रकार स्थापित हुने सम्भावना रहन्छ तर पनि कमाउने र आफ्नो विज्ञापन आफैँ उठाउने मात्र उद्देश्यले मिडिया हातमा लिनेबाट शतप्रतिशत स्वच्छ पत्रकारिता हुन्छ भन्न गाह्रै छ । यिनीहरूको कुरा सुन्दा र व्यवहार हेर्दा ‘पहुँच’ र ‘पावर’ को आडमा विज्ञापनको बजार कब्जा गर्न मात्रै अनलाइन माध्यमतर्फ लालयित भएको हो कि जस्तो देखिन्छ ।
तेस्रोथरीका मानिस विभिन्न पार्टी, सङ्गठनको बलमा अनलाइन माध्यम चलाउन प्रवेश गरेका छन् । यिनीहरू स्वयं कुनै पार्टी र त्यसको भातृ सङ्गठनको जिम्मेवारीमा समेत आबद्ध छन् । यस्ता व्यक्तिले अनलाइन माध्यम चलाउनुको भित्री ‘मिसन’ आर्थिक पाटोबाट हेर्दा त्यही पार्टी, सङ्गठन देखाएर विज्ञापन सङ्कलन र राजनीतिक रूपमा हेर्दा आफैँ संलग्न गुट, उपगुटको पक्षमा मात्र ‘प्रपोगाण्डा’ गर्ने देखिन्छ । यो पक्ष दोस्रोथरीको तुलनामा कम खतरा हो किनकि राजनीति बुझेको मानिस सामाजिक चेतना फैलाउन सक्षम हुन सक्छ । तथापि यस्ता माध्यम घोषित रूपमा नै ‘मिसन’का लागि खडा भएको हुँदा यिनीहरूबाट सन्तुलित पत्रकारिताको आशा भने कमै गर्न सकिन्छ ।
चौथोथरीका मानिस नाम र दामको रहरले यो क्षेत्रमा प्रवेश गरेका छन् । यसभित्र पत्रकारिता तथा आमसञ्चार विषय पढेका र नपढेका दुवैथरी छन् । यिनीहरूको उद्देश्य पवित्र देखिन्छ । पत्रकारिता तथा आमसञ्चार विषय पढेकाले त यसलाई बुझेर नै आफ्नो ‘लाइफ लाइन’ बनाउन खोजेको देखिन्छ तर यो विषय नपढेकाले बढी रहर र छिट्टै कमाउन सक्ने भ्रमले यसलाई पछ्याएको देखिन्छ । यद्यपि पत्रकार आचारसंहिता र सञ्चार निर्देशिका बुझेपछि यिनीहरूले सकारात्मक सोच बनाएको पाइन्छ । किनकि उनीहरूले पत्रकार आचारसंहिता र सञ्चार निर्देशिका बुझेपछि सन्तुष्टि व्यक्त गर्दै पेसामा रमाउन सकिने प्रतिक्रिया दिने गरेका छन् ।
अतः यी चारथरीका अनलाइन सञ्चालकमध्ये पत्रकारिता पेसाको सबैभन्दा बढी दुरुपयोग अन्य विभिन्न पेसा, व्यवसाय गरेर आ–आफ्नो क्षेत्रको विज्ञापन बजार कब्जा गर्न खोज्नेबाट हुन्छ कि भन्ने चिन्ता छ । किनकि हरेक पेसा, व्यवसायमा आबद्धले आफैँ अनलाइन माध्यम खोलेपछि विज्ञापनमा नै ‘सिन्डिकेट’ लाग्छ । र, कसैको आडभरोसा नभई स्वतन्त्र रूपमा अनलाइन वा अन्य माध्यम सञ्चालन गर्न खोज्नेले विज्ञापन नपाउने खतरा बढेर जान्छ । यस्तो भएपछि स्वच्छ, स्वस्थ, स्वतन्त्र, मर्यादित पत्रकारिता गर्न चाहने व्यक्ति निरुत्साहित भई पलायन हुन पुग्छन् । त्यसैले आगामी दिनमा यसबारे सम्बन्धित पक्षबीच आपसी छलफल भई कस्तो कस्तो क्षेत्रका व्यक्तिलाई सञ्चार क्षेत्र सञ्चालन गर्न दिने भनी नीति नै तय गर्नुपर्ने आवश्यकता छ ।
यही र यस्तै समस्या देखिँदै गएपछि प्रेस काउन्सिल नेपालले नयाँ दर्ता/सूचीकरण हुने अनलाइन माध्यमका सञ्चालक÷सम्पादकका लागि पत्रकार आचारसंहिता र सञ्चार निर्देशिकासम्बन्धी अभिमुखीकरण कार्यक्रम राखेको एक वर्ष पूरा भएको छ । रेडियो, टेलिभिजनपछिको पछिल्लो प्रभावकारी माध्यमका रूपमा विकसित अनलाइन माध्यमप्रति मानिसहरूको बढ्दो तीव्र आकर्षणसँगै यसबाटै आचारसंहिता बढी उल्लङ्घन हुने गरेको पाइएपछि काउन्सिलले आचारसंहिता पालनामा मद्दत पुग्ने र नवआगन्तुक पत्रकारको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने अभिप्रायः राखी यो अभियान सुरु गरेको थियो । २०७८ साल चैत ११ गते पहिलो शृङ्खला सुरु भएको यस अभिमुखीकरणको यही २०७९ चैत २९ गतेसम्म आइपुग्दा २३औँ शृङ्खला पूरा भइसकेको छ । यस क्रममा प्रत्यक्ष (भौतिक) रूपमा र जुमबाट गरी एक हजार ६१ जनाले अभिमुखीकरणमा भाग लिइसकेका छन् भने ७०३ वटा अनलाइन माध्यमले सूचीकरण प्रमाणपत्र प्राप्त गरिसकेका छन् । अनलाइन कक्षामा नयाँसहित छापा र विद्युतीय माध्यममा लामो अनुभव सङ्गालेका पत्रकारसमेत सहभागी हुँदै आएका छन् । अहिलेसम्म ४६ जना विषय–विज्ञबाट अभिमुखीकरण दिइएको छ ।
यो अभिमुखीकरण कार्यक्रम थालनी हुनुअघिका केही ‘कोसेढुङ्गा’ बारे चर्चा गर्नु यहाँ उपर्युक्त हुन्छ । पहिलो त प्रेस काउन्सिल नेपालको सञ्चालक समितिको बैठकले अनलाइन सूचीकरण मापदण्ड, २०७८ तयार गरी यो अभियान अघि बढाउने आँट गरेकाले नै यसलाई कार्यान्वयन गर्न सम्भव भएको हो । यहाँसम्म आउनका लागि विगत केही वर्षअघि नै गृहकार्य सुरु भएको थियो । २०७० साल फागुन २२ गते सर्वाेच्च अदालतका पूर्वरजिष्ट्रार डा. रामकृष्ण तिमल्सेनाको संयोजकत्वमा चार सदस्यीय ‘पत्रकार आचारसंहिता सुझाव कार्यदल–२०७०’ गठन गरिएको थियो । कार्यदलले पत्रकार बन्ने निश्चित योग्यता र मापदण्ड तोक्नुपर्ने, पत्रकारिताको अभ्यासमा जानुपूर्व काउन्सिलले नै प्रेस प्रवेश परीक्षा लिनुपर्ने र सम्पादकलाई कम्तीमा तीन महिना तालिम दिने व्यवस्था गर्नुपर्र्ने सुझाव दिएको थियो ।
यस्तै २०७२ साल फागुन १९ गते ‘पत्रकारिता पेसामा प्रवेश पूर्वप्रेस परीक्षा सञ्चालन र व्यवस्थापन अध्ययन कार्यदल’ गठन भएको थियो । सर्वाेच्च अदालतका पूर्वरजिष्ट्रार डा.रामकृष्ण तिमल्सेनाकै संयोजकत्वमा गठित कार्यदलले पत्रकार आचारसंहितासम्बन्धी योग्यता परीक्षण गर्न उपर्युक्त हुने लगायतका सुझाव दिएको थियो । यिनै सुझावका आधारमा आचारसंहितासम्बन्धी अभिमुखीकरण पाठ्यक्रम तयार पारिएको थियो तर केही सरोकारवाला संस्थाबाट असन्तुष्टि व्यक्त भएकाले सो कदम तत्काललाई स्थगित भएको थियो ।
अर्काे महìवपूर्ण कुरा, नागरिक दैनिकका तत्कालीन विराटनगर संवाददाता खिलानाथ ढकालविरुद्ध परेको रिटको अन्तिम फैसला (२०७६ साल माघ ३) मा सर्वाेच्च अदालतबाट ‘कानुन व्यवसायी र पत्रकारिताको आचारसंहिताको दोहोरो मान्यतालाई थप बल पु¥याउन नेपाल बार काउन्सिल तथा यस अदालतबाट गठन हुने प्रेस तथा सञ्चार शाखासँग समन्वय गरी केन्द्र र प्रदेशस्तरमा अग्रिम रूपमा तयार पारिएको पाठ्य सामग्रीसहित अभिमुखीकरण कार्यक्रम तथा तालिमहरू सञ्चालन गरी व्यावसायिकतामा आधारित प्रेस तथा सञ्चार क्षेत्रको रूपान्तरणका लागि आवश्यक व्यवस्था गर्नु
भनी प्रेस काउन्सिल नेपाललाई लेखि पठाउनू’ भन्ने आदेश भएको थियो । उक्त आदेशपछि काउन्सिलले यो अभियान थाल्नुपर्ने नै थियो ।
यिनै आधारमा सञ्चालित यो अभिमुखीकरण सकारात्मक र प्रभावकारी रूपमा अघि बढिरहेको छ । पत्रकार आचारसंहिता पटक पटक उल्लङ्घन गर्ने पत्रकार र उजुरी परेका सञ्चार माध्यमका सञ्चालक/प्रकाशक/सम्पादकलाई समेत यस अभिमुखीकरणमा अनिवार्य रूपमा उपस्थित गराउने गरिएकाले थप प्रभावकारिता देखिएको छ ।
पहिलो पटक आचारसंहिता र सञ्चार निर्देशिकाबारे जानकारी पाएका सञ्चालक/प्रकाशक/सम्पादकले आफूहरूले नयाँ ज्ञान पाएको बताएका छन् । लामो समय सञ्चार कर्ममा रमाएका व्यक्तिहरू समेत ‘यस्तो आचारसंहिता र निर्देशिका पो रहेछ’ भनेर छक्क पर्ने गरेका छन् । यसतर्फ वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्रीको समेत चासो देखिएको छ । उहाँले नयाँ दर्ता/सूचीकरण हुने अनलाइन माध्यमका साथै पहिले नै दर्ता भएर सञ्चालित माध्यमका पत्रकारलाई पनि अभिमुखीकरण दिन पाए राम्रो हुने इच्छा प्रकट गर्नुभएको छ ।
लेखक प्रेस काउन्सिल नेपालमा आबद्ध हुनुहुन्छ ।