• १० पुस २०८१, बुधबार

गाईगोरु बिरामी हुन थालेपछि किसान चिन्तित

blog

पशु सेवा केन्द्र आठबीसकोटका कर्मचारी बिरामी गोरुलाई उपचार गर्नुहुँदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, वैशाख १५ गते । घरमा पालिएका गाईगोरु धमाधम बिरामी पर्न थालेपछि रुकुमपश्चिमका पशुपालक किसान चिन्तित बनेका छन् । गत एक महिनायता जिल्लाका विभिन्न स्थानका गाईगोरुलाई ज्वरो आउने, गिर्खा देखा पर्ने, आँखा तथा नाकबाट फिँज निकाल्नेलगायतका समस्या देखिन थालेको किसानको भनाइ छ । 

आठबीसकोट नगरपालिका –७ का पशुपालक किसान धने बुढाले घरमा पालिएका दुबै गोरुको घाँटी तथा पछाडिको भामा गिर्खा आउने, आँखाबाट कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिज धेरै निकाल्ने, गिर्खाहरु फुटेर गहिरो घाउ हुने समस्या देखिएको बताउनुभयो । पशु सेवा केन्द्र आठबीसकोटमा उपचारका लागि गोरुसहित आउनुभएका बुढाले दुई हप्तादेखि गाउँका अन्य गोरुमा पनि यस्तो समस्या देखिएको जानकारी दिनुभयो । 

आठबीसकोट नगरपालिका –९ का किसान बन्ने बटालाले गोरुमा ज्वरो आउने, खाना मन नलगाउने, तौल घट्नेजस्ता समस्या देखापरेको जनाउनुभयो । नजिकैको पशु सेवा केन्द्रमा गएर गोरुको उपचार गरेको बटालाले बताउनुभयो । यसखालको लक्षणका कारण किसानहरु चिन्तामा रहेका उहाँको भनाइ छ । 

पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुमपश्चिमका निमित्त कार्यालय प्रमुख ज्ञानुकुमार शर्माले एक महिनादेखि जिल्लाको विभिन्न स्थानमा रहेका गाई र गोरुहरुमा बढी मात्रामा यस्तो लक्षण देखापरेको बताउनुभयो । उहाँका अनुसार पशुचौपायको छालामा लाग्ने लम्पी रोगको लक्षणसँग मिल्ने सो भाइरल रोग सुरुमा मुसीकोट नगरपालिका –११  र १२ मा फैलिएको थियो । 

त्यसपछि जिल्लाको विभिन्न स्थानमा फैलिएको जानकारीपछि कार्यालयले स्थानीय तहलाई केही औषधि समेत पठाएको शर्माले बताउनुभयो । “यो रोगबिरुद्धको भ्याक्सिन उत्पादन भएको छैन” निमित्त प्रमुख शर्माले भन्नुभयो, “ज्वरो कम गर्ने, घाउ सुकाउने एन्टिबायोटिक औषधि प्रयोग गरेर भाइरस फैलनबाट रोक्ने प्रयास भइरहेको छ ।”

पछिल्लो समय आठबीसकोट नगरपालिका र त्यसक्षेत्रमा रहेका गाईगोरुमा सो खालको समस्या बढिरहेको पशु सेवा केन्द्र आठबीसकोटका नायब पशु सेवा प्राविधिक यज्ञ थापाले बताउनुभयो । उहाँका अनुसार सेवा केन्द्रमा दैनिक १२ देखि १५ वटा गाईगोरु उपचारका लागि किसानले ल्याउनेगरेका छन् भने करिब २० जनाले घरमै औषधि लिएर जाने गरेका छन् । विशेषगरी गोरुमा व्यापक रुपमा रोग फैलिरहेको पाइएको पशु सेवा प्राविधिक थापाले जानकारी दिनुभयो ।