• १३ असोज २०८१, आइतबार

छोपिएको अवस्थामा महिलाको शव फेला

blog

विष्णुप्रसाद पोखरेल

दमक, वैशाख १५ गते । झापा शिवसताक्षी नगरपालिकामा एक महिलाको शव फिलुङ्गेको नलले छोपेको अवस्थामा भेटिएको छ । वडा ६ स्थित स्थानीय ६३ वर्षीय शान्तिमाया प्रधानको शव बिहीबार बेलुका उहाँकै घर नजिकै फिलुङ्गेको नलले छोपेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार एकल महिला प्रधानको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय छिमेकीले पराल तान्न जाँदा गन्ध आएपछि वरपर हेर्दा परालको माच छेउमा चप्पल देखेपछि खोजतलास गर्दा शव भेटिएको प्रहरीको भनाइ छ ।

वडाध्यक्ष मनोज खुलालका अनुसार प्रधान मंगलबारदेखि हराइरहेको खबर प्राप्त भएको थियो । परालको माच छेउमा फिलुङ्को नलले छोपेर राखेको अवस्थामा भेटिएको र शव कुहिएर दुर्गन्ध नै फैलिसकेको जनाइएको छ । हत्या गरेर कसैले शव लुकाएको हुनसक्ने भएकाले शवको पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

घरबाट शव घिसार्दै लगेको जस्तो देखिएको र शंकास्पद घटना भएकाले गम्भीरताका साथ छानविन गर्न आफुहरुले प्रहरीलाई आग्रह गरेको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताउनुभयो ।