दोलखा, वैशाख १४ गते । विद्यालय भर्ना अभियान सफल पार्न दोलखाको भीमेश्वर नगरपालिका –४ जिलु स्थितको सर्व माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि समेतका लागि घरघरमा आमा, विद्यालय शिक्षामा आमा मुख्य नाराका साथ एक दिवसीय आमा शिक्षा कार्यक्रम गर्न लागेको छ ।
विद्यालयमा विद्यार्थी भर्ना र टिकाउन आमाको मुख्य भूमिका हुने हुँदा उहाँहरूलाई सचेत बनाउन यो कार्यक्रम गर्न लागिएको विद्यालयका प्रधानाध्यापक विश्वमणि चौलागाईँले जानकारी दिनु भयो ।
वडाध्यक्ष तारानाथ चौलागाईँका अनुसार कार्यक्रम सफल पार्न नर्सरीदेखि कक्षा ५ सम्मका आमाहरूलाई चार वटा समूहमा विभाजन गरी बालबालिकाको सिकाइलाई दिगो एवम् प्रभावकारी बनाउन अभिभावकले गर्न सक्ने कार्यहरू, घरायसी वातावरण तथा विद्यालयले बालबालिकाको सिकाइलाई दिगो र प्रविधिमैत्री बनाउन आरम्भ गरिएका नयाँ कार्यक्रमहरूको समूह कार्य गराइएको छ । विद्यालयका प्रत्येक कार्यक्रममा आमाहरू सक्रिय हुनुपर्नेमा जोड दिइएको छ ।
शिक्षा कार्यक्रममा घर पहिलो पाठशाला र अभिभावक पहिलो शिक्षक हुन् भन्ने जानकारी गराउने, घरबाटै सिकेका कुरालाई अझ परिष्कृत विद्यालयबाट हुने स्पष्ट बनाउने उद्देश्य राखिएको छ । विद्यालयबाट हुने सिकाइमा आचार निर्माण, अभ्यास, समूह कार्य, लघु अध्ययन अवलोकन, सरसफाइ, अनुशासन, खानपिन नियमितताका बारेमा आमाहरूलाई जानकारी गराउने पनि उद्देश्य छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवराज चौलागाईँका अनुसार शिक्षकबाट हुने आदत, व्यवहार, अनुशासन, मूल्याङ्कन, परीक्षा, तथा नतिजा, घरपरिवारबाट अभिभावकले बालबालिकाको सिकाइका लागि सिर्जना गर्नुपर्ने अनिवार्य न्यूनतम वातावरण, अभिभावकको विद्यालयप्रतिको चासो एवम् गुनासो बारे पनि बृहत् छलफल गरिएको छ ।
विद्यालयमा बाबुभन्दा आमाको नियमित उपस्थिति हुनुपर्ने, प्रतिस्पर्धात्मक दक्ष जनशक्ति निर्माणमा विद्यालय, समुदाय र स्थानीय सरकारले निर्वाह गर्नुपर्ने भूमिका बारे पनि छलफल भएको प्रधानाध्यापक चौलागाईँले जानकारी दिनुभयो ।