• १९ पुस २०८१, शुक्रबार

कुवेतको सेमिफाइनल सम्भावना बलियो

blog

ब्याटिङ गर्दै कुवेतका खेलाडी । फाइनल तस्बिर

काठमाडौं, वैशाख १२ गते । सिंगापुरलाई हराउँदै कुवेतले एसीसी प्रिमियर कपमा सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा कुवेतले सिंगापुरलाई चार विकेटले हरायो । समूहमा ‘बी’ मा जितविहीन बनेको सिंगापुर प्रतियोगिताबाट बाहिरिएको छ । 

जितका लागि एक सय १४ रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले २६.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । कुवेतको जितमा ओपनर अद्नान इद्रिसले सर्वाधिक ३८ रन बनाउनुभयो ।

मित भावसरले अविजित २७, यासिन पटेलले अविजित २१ र शिराज खान १० रन बनाउनुभयो । बलिङमा सिंगापुरका अक्षर पुरी र विनोथ भास्करनले दुई विकेट लिनुभयो ।  आदित्य भर्गव र थिलिपनले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुरले ३१.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय १३ रन बनाएको थियो । सिंगापुरका आमत्य कौलले ४५ रन बनाउनुभयो । मनप्रीत सिंहले २८ र थिलिपन ओमाईदुरईले १३ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सक्नुभएन । 

बलिङमा कुवेतका कप्तान मोहम्मद इस्लामले पाँच विकेट लिनुभयो । स्पिनर शिराज खानले तीन तथा यासिन पटेलले एक विकेट लिनुभयो । समूह ‘बी’ मा तीन खेलबाट चार अङ्क बनाएको कुवेत तेस्रो स्थानमा छ ।

कुवेतले अन्तिम खेलमा बिहीबार मूलपानी मैदानमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ । हङकङ पाँच अङ्कसहित तालिकाको शीर्षस्थानमा छ ।

अन्तिम खेलमा हङकङलाई हराउन सके कुवेत सेमिफाइनलमा पुग्नेछ । दोस्रो स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) चार अङ्कसहित दोस्रो स्थानमा छ । तीन अङ्क बनाएको बहराइन चौथो स्थानमा छ । 

समूह ‘ए’ बाट नेपाल सेमिफाइनलमा पुगिसकेको छ । यस समूहबाट अब साउदी अरब र ओमानबीचको विजेता सेमिफाइनलमा पुग्नेछ ।