• १३ साउन २०८१, आइतबार

रवि लामिछानेद्वारा स्पष्टीकरणको जवाफ पेस

blog

फाइल तस्बिर

वसन्त पराजुली 

भरतपुर, बैशाख ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले आफूले आचारसंहिता उल्लङ्घन नगरेको दाबी गर्नुभएको छ । निर्वाचन कार्यालयलाई उहाँले दिनुभएको स्पष्टीकरणको जवाफमा उहाँले सो दाबी गर्नुभएको हो । 

कुनै आचारसंहिता विपरीतको काम नगरेको दाबी लामिछानेको रहेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । “उजुरीमाथि सोधिएको जवाफको उत्तर प्राप्त भएको छ । त्यो जवाफ र उजुरीबारे आवश्यक छानबिन र अध्ययनका लागि हामी निर्वाचन आयोगमा पठाउने छौँ” उहाँले भन्नुभयो ।  

लामिछानेले मतदाता प्रभावित गर्ने गरी नाराजुलुस गरेपछि भरतपुर ११ स्थित किरण माध्यमिक विद्यालयमा केही झडपको अवस्था भएको कांग्रेसको उजुरीमा उल्लेख छ । यता काँग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले भने रास्वपाले मतदान केन्द्रमा नाराबाजी गर्नेसँगै नियम विपरीत ११ वटा सवारी साधन निर्वाचनमा प्रयोगमा लिएको आरोप लगाउनुभएको थियो ।

यता चितवन क्षेत्र २ को मतगणना दिउँसो १ बजेबाट सुरु भएको छ । सोमवार सम्पन्न सर्वदलीय बैठकले मतगणना गर्ने निर्णय गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उम्मेदवार लामिछानेले आचारसंहिता विपरीत काम गरेको भन्दै परेको उजुरीलाई सम्बन्धित निकाय (निर्वाचन आयोग) पठाउने निर्णयसहित दलहरू मतगणना गर्ने निष्कर्षमा पुगेका थिए ।  

लामिछानेले मतदान केन्द्रहरूमा हुल हुज्जत गर्दै नाराबाजी गरेको र मतदानकै दिन पनि फेसबुकबाट मत मागेको कांग्रेसको आरोप छ । यस सम्बन्धमा निर्वाचन कार्यालयले उम्मेदवार लामिछानेलाई स्पष्टीकरण सोधेको थियो । 

चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि निर्वाचनका बेला लामिछानेलाई निर्वाचन आचारसंहिता विपरीत सहयोग गरेको आरोप कांग्रेसको थियो । यो उजुरी पनि माथिल्लो निकायलाई सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । आइतबार सम्पन्न चितवन २ को उपनिर्वाचनमा ६३ प्रतिशत मत अर्थात् ७८ हजार २७७ खसेको छ ।