काठमाडौं, वैशाख ११ गते । चलचित्र विकास बोर्डको २३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नको लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरूको आवेदन माग गरेको छ । त्यस्तै, विशेष चलचित्रको प्रतिस्पर्धाको लागि पनि पछिल्ला दुई वर्षभित्र जाँचपास भएका नेपाली चलचित्रहरूको आवेदन माग गरेको हो ।
आइतबार सूचना जारी गर्दै बोर्डले २०७८ वैशाख १ देखि २०७९ चैत मसान्तभित्रका चलचित्रहरूलाई आवेदन दिन माग गरेको हो ।
राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन २०७८ वैशाख १ देखि २०७९ चैत मसान्तभित्र जाँचपास भई प्रदर्शनसमेत भएको हुनुपर्ने र विशेष चलचित्रको हकमा भने २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भएका चलचित्रहरूले सहभागिता जनाउन सक्ने बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताउनुभयो । आदिवासी, जनजाति एवम् विभिन्न मातृभाषाका चलचित्रको हकमा भने उक्त समय सीमाभित्र जाँचपास मात्र भएको भएपनि राष्ट्रिय पुरस्कारमा सहभागी हुन सक्नेछन् ।
राष्ट्रिय पुरस्कारमा सहभागी हुन २०८० वैशाख ३० गतेभित्र र विशेष चलचित्रको प्रतिस्पर्धामा सहभागी हुन २०८० वैशाख २४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । प्रवक्ता बुढाथोकीले निर्धारित समय सीमाभित्र आफ्ना चलचित्रहरूलाई बोर्डको कार्यालयमा आवेदन दिएर प्रतिस्पर्धामा सहभागी गराउन फिल्म मेकरलाई अपिल गर्नुभएको हो ।
विभिन्न कारणले गत वर्ष पुरस्कार प्रदान तथा विशेष चलचित्र घोषणा हुन सकेको थिएन । यस पटकको राष्ट्रिय चलचित्र पुरस्कारमा दुई वर्षका चलचित्रहरूले एकसाथ प्रतिस्पर्धा गर्नेछन् भने विशेष चलचित्र दुई फरक वर्षका ३–३ वटा चलचित्रहरू गरी छ वटा घोषणा हुनेछन् ।
कला, संस्कृति, रहनसहन, परम्परा, मानवीय संवेदना, मनोविज्ञान, राष्ट्रिय स्वाभिमान एवं कला र प्रविधिमा रचनात्मक प्रयोग सहित राष्ट्रियरुपमा योगदान पुर्याउनसक्ने चलचित्रहरूलाई प्रोत्साहन दिन विशेष चलचित्रको प्रतिस्पर्धा गरिएको प्रवक्ता बुढाथोकीले बताउनुभयो । विशेष चलचित्र घोषणा हुने सबै चलचित्रहरूलाई अन्तर्राष्ट्रिय भाषामा सबटाइटलमा हुने खर्चस्वरुप प्रति चलचित्र दुई लाख रुपैयाँ बोर्डले प्रदान गर्ने गर्दछ ।
यस्तै, विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागिताको लागि बोर्डले सहजीकरण गर्ने गर्दछ । राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका तथा विशेष चलचित्र घोषणा भएका चलचित्रहरू बोर्डले गर्ने विभिन्न महोत्सवहरू तथा घुम्ती सिनेमा प्रयोजनको लागि निर्माताले उपलब्ध गराउनुपर्दछ ।
उत्कृष्ट लेखन (कथा, पटकथा तथा संवाद), उत्कृष्ट छायाङ्कन, उत्कृष्ट सम्पादन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक र उत्कृष्ट चलचित्रलाई राष्ट्रिय चलचित्र पुरस्कार प्रदान हुने गर्दछ । उल्लेखित विधाहरू बाहेक निर्णायक समितिलाई अभूतपूर्व लागेमा बढीमा दुई विधामा समेत पुरस्कारका लागि सिफारिस हुनेछ । बोर्डले आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्र प्रमुखबाट राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।