• ९ मंसिर २०८१, आइतबार

'हल्कारा'को चिठ्ठी लेखन प्रतियोगिता

blog

काठमाडौं, वैशाख १० गते । वैशाख २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'हल्कारा'ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । यस प्रतियोगितामा सहभागी हुन आफ्नो जीवनबाट टाढा भइसकेका, आफूले अत्यन्तै चाहेका, आफूले चाहेर पनि नपाएका वा आफूले सधैँ सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ । उत्कृष्ट पत्र लेख्ने तीन जनाले नगद एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रथम पुरस्कार पाँच हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार बीस हजार तोकिएको छ । पत्र चलनचल्तीको सेतो कागजको एफो साइजको पानामा लेखिएको हुनुपर्नेछ र नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्नेछ । पत्र औपचारिक शैलीमा लेखिनुकासाथै अभिवादन र समापन समावेश गर्नुपर्नेछ । एकभन्दा बढी पाना आवश्यक परेमा प्रयोग गर्न सकिनेछ । पत्र कम्तीमा पाँच सयदेखि बढीमा एक हजार शब्दमा लेखिएको हुनुपर्नेछ ।

यस्तै, पत्र नेपालभर वा विदेशबाट जो कोही नेपालीले पठाउन सक्नेछन् । खाम तथा चिठ्ठीमा आफ्नो कुनैपनि सरकारी परिचयपत्रमा भएको नाम हुनुपर्नेछ । प्रेषकमा आफ्नो नाम र ठेगाना प्रष्ट लेखिएको हुनुपर्नेछ भने प्रापकमा 'नेपाली चलचित्र हल्कारा परिवार' लेखि ठेगाना काठमाडौँ, नेपाल, पोस्ट बक्स नम्बर १४१४ लेखि पठाउनु पर्नेछ । 

चिठ्ठीको अन्तिममा युट्युबमा रहेको चलचित्र ’हल्कारा’को ट्रेलर हेरी आफूलाई बुझेको कथा लेख्नुपर्नेछ । चिठ्ठीमा आफ्नो नाम र ठेगानासँगै सम्पर्क फोन नम्बर लेख्ने र विदेशबाट प्रेषित हुने चिठ्ठीमा आफ्नो नेपालमा हुने निकटतम व्यक्तिको परिचयसमेत लेख्नुपर्नेछ ।

यस प्रतियोगिताको निर्णायकहरूमा विप्लव प्रतीक (कवि तथा साहित्यकार), मनोजबाबु पन्त ( चलचित्रकर्मी) र महेश त्रिपाठी (अभिनेता) हुनुहुन्छ । प्रतियोगिताको मापदण्डमा रहेका पत्रहरूको रचनात्मकता, मौलिकता, विषयवस्तुको पालना, व्याकरण र हिज्जे र समग्र प्रभावलाई समीक्षा गरी उत्कृष्टता मापन हुनेछ ।

पत्र आजदेखि वैशाख २९ गतेभन्दा ९ दिन अगाडी वैशाख २० गतेसम्म पठाइसकेको र वैशाख २५ गतेसम्म पोस्ट बक्समा प्राप्त भैसकेको हुनुपर्नेछ । ’हल्कारा’ रिलिजको मिति वैशाख २९ गतेभन्दा २ दिन अगाडी पुरस्कार घोषणा गरिनेछ ।

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय रहेको फिल्मका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुनुहुन्छ । फिल्ममा महेश र बिनितासँगै शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय छ ।