• १० पुस २०८१, बुधबार

अठतीस वर्षपछि नहर निर्माण

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, वैशाख १० गते । रुकुमपश्चिममा ३८ वर्षअघि बनाउन थालिएको नहरको निर्माण सम्पन्न भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका –११ मा ७.५ किलोमिटर लम्बाइको गिजागार–डाँडागाउँ सिँचाइ आयोजना ३८ वर्षपछि निर्माण सम्पन्न भएको हो । वि.सं. २०४२ मा निर्माण सुरु भएको नहरमा पानी आउँदा स्थानीयवासी खुसी भएका छन् । आठबिसकोट नगरपालिका –११ का ७६ वर्षीय लोकबहादुर खत्रीले पञ्चायतकालमा सुरु भएको कुलो निर्माणको काम गणतन्त्रका बेला मात्र पूरा भएको बताउनुभयो ।

वर्षौंसम्म अधुरो रहेको कुलो निर्माण सम्पन्न भएर पानी आउँदा गाउँवासीमा खुसियाली छाएको खत्रीले बताउनुभयो । घरअगाडि बनेको कुलोमा पहिलो पटक पानी आएको र गहुँ खेतीमा सिँचाइ गर्न पाएको उहाँले बताउनुभयो । उक्त क्षेत्रमा रहेका चौर, गत्तासैना, तुसारे, सिमपाखालगायतका टोलका खेतीयोग्य जमिन अब बाँझै नरहने उहाँले बताउनुभयो । 

सोही गाउँका ६२ वर्षीय शिवबहादुर ओलीले लामो समयको प्रयासपछि सिँचाइ कुलोमा पानी आउन सफल भएको बताउनुभयो । उहाँका अनुसार सुरुको वर्ष ७५ हजार बजेटले काम सुरु भएको थियो । उहाँले भन्नुभयो, “त्यो बेला मैले पनि दैनिक पाँच रुपियाँ ज्यालादारीमा यही कुलो बनाउन काम गरेको हुँ ।” यसअघि वडाको चौर, गत्तासैना, तुसारे, सिमपाखालगायतका स्थानमा रहेका खेतीयोग्य जमिनमा बर्खे झरीको भरमा खेती हुँदै आएको थियो । केही भूभागमा टारखोला, सुवाखोलाको पानीले सिँचाइ हुने गरेको जानकारी ओलीले दिनुभयो । भौगोलिक विकटता, सशस्त्र द्वन्द्व, पाखोमा नहर बनाउनुपर्ने, बजेट अभावलगायतका कारण उक्त योजना छोटो समयमा बन्न नसकेको बताइएको छ । नेकपा (माओवादी) को सशस्त्र द्वन्द्वको समयमा निर्माणको काम करिब रोकिएको र त्यसबेला कुलो निर्माणका लागि विभिन्न स्थानमा बिछ्याइएका फलामका सरियाहरू निकालिएको स्थानीयले बताएका छन् ।  

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय रुकुमपश्चिमले तत्कालीन जिल्ला सिँचाइ आयोजनाअन्तर्गत टार सिँचाइ कार्यालय चौरजहारीमार्फत काम सुरु भएको जनाएको छ । कार्यालयका प्राविधिक सहायक डिल्लीबहादुर ओलीले करिब छ करोड लगानीमा सिँचाइ नहर सम्पन्न भएको जानकारी दिनुभयो । उक्त नहरले ८५ हेक्टर जमिनमा सिँचाइ सुविधा दिने बताइएको छ ।

प्राविधिक सहायक ओलीले सिँचाइ कुलोबाट करिब छ सय घरपरिवार लाभान्वित हुने जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको ३९ लाख र वडा कार्यालयको कृषितर्फको एक लाख ५० हजार रुपियाँको लागतमा कुलो निर्माणको बाँकी काम पूरा गरिएको बताइएको छ । सडक निर्माणका क्रममा नहरको केही भाग पुरिएको थियो । दुई हजार तीन सय मिटर लामो नहर भासिएको थियो ।