• १३ साउन २०८१, आइतबार

‘ताप्लेजुङदेखि अक्सफोर्डसम्म’

blog

काठमाडौँ, वैशाख १० गते । पूर्वगोर्खा सैनिक, शिक्षासेवी, अभियन्ता डा. चन्द्रकुमार लक्सम्बाको स्मृतिमा ‘ताप्लेजुङदेखि अक्सफोर्डसम्म’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ । 

सेन्टर फर नेपाल स्टडिज यूकेद्वारा शनिबार आयोजित कार्यक्रममा स्व. लक्सम्बाको करिब ६० वर्षको जीवनयात्रा, योगदान, संस्मरणलाई पुस्तकका रूपमा सार्वजनिक गरिएको हो । यस पुस्तकमा उहाँको बहुआयामिक जीवनी र आलेखहरू समेटिएका छन् । संविधान सभाका सभापति देवराज घिमिरेले ताप्लेजुङदेखि अक्सफोर्डसम्म शीर्षकको पुस्तक सार्वजनिक गर्दै बेलायती सेनाबाट सेवानिवृत्त भएर देशको सेवा गर्छु भनेर स्वदेश फर्केका ताप्लेजुङका होनहार प्रतिभालाई छिट्टै गुमाउनुपर्दा देशलाई ठूलो नोक्सानी भएको बताउनुभयो ।

उहाँले शिक्षाको माध्यमबाट स्वदेशको सेवा गर्नका लागि नेपाल खुला विश्वविद्यालयमा अध्यापन गरिरहनुभएको, विभिन्न क्षेत्रको अध्ययन, लगानी थालेर विदेशमा बटुलेको अनुभवलाई स्वदेशमै कार्यान्वयन गर्ने जुझारु व्यक्तित्वलाई विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण गुमाउनुपर्दा घरपरिवारलाई मात्र होइन, नेपालकै लागि क्षति पुगेको बताउनुभयो ।

वि.स. २०१७ मा ताप्लेजुङको कुञ्जारी गाउँमा जन्मिनुभएका डा. लक्सम्बाको वि.स. २०७७ माघ १३ गते कोभिड १९ को  उपचार चलिरहँदा हृदयाघात भएर बेलायतमा निधन भएको थियो । कार्यक्रममा पत्रकार नरेश खपाङ्गी मगरले डा. लक्सम्बाकी धर्मपत्नी कल्पना लक्सम्बाले लेख्नुभएको संस्मरणात्मक लेख ‘चालीस वर्षको सहयात्रा’ वाचन गर्नुभएको थियो । 

डा. कृष्णप्रसाद अधिकारीले स्व. लक्सम्बाको व्यक्तित्वबारे चर्चा गर्दै ताप्लेजुङमा जन्मेका बहुप्रतिभाशाली लक्सम्बाको बेलायती सेनामा विद्यावारिधि गरेका शैक्षिक विज्ञतासहित फरक पहिचान बनाएको बताउनुभयो । स्व. लक्सम्बाको  बेलायतमा नेपाली पत्रकारिताको विकास, नेपाल अध्ययन केन्द्र बेलायत, गैर आवासीय नेपाली सङ्घ यूके, किराँत याक्थुम चुम्लुङलगायतका सङ्घसंस्थाको नेतृत्व गर्दै बेलायतमा गोर्खा सैनिक परिवारको हक, हितका लागि अभियान चलाएको सम्झनुभयो । पुस्तक नरेश खपाङ्गी मगर, डा. कृष्ण अधिकारी र लोकेन्द्रपुरुष ढकालले सम्पादन गर्नुभएको थियो ।