• १३ साउन २०८१, आइतबार

पर्यटक आगमन बढाउन भारतमा प्रचार

blog

कास्की समाचारदाता

कास्की, वैशाख १० गते । भारतका प्रमुख सहरहरूमा पर्यटन प्रवद्र्धन गर्दै पोखरासहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै भ्रमण सकिएको छ ।

कोभिड–१९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भइरहेका अवस्थामा नेपालका लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, वाराणासी, अयोध्या र गोरखपुरलगायतका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ वैशाख ३ गते हिँडेको २३ सदस्यीय टोली प्रवद्र्धन गरेर फर्किएको छ ।  

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले भारतका विभिन्न ठाउँका पर्यटन सम्बद्ध सरकारी, निजी संस्थाका प्रतिनिधि, ट्राभल्स टुर्स अपरेटर र पत्रकारहरूसँग छलफल एवं अन्तक्र्रिया गरिएको बताउनुभयो । कार्यक्रमले पोखरासहित समग्र नेपालको पर्यटनमा महत्वपूर्ण योगदान पुगेको बताउँदै आगामी दिनमा ती क्षेत्रबाट पर्यटकको आगमन बढ्ने आशा जगाएको बताउनुभयो । टुरिजम एसोसिएसन अफ विहारका सचिव प्रकाश चन्द्रले हवाई सम्पर्क सुरु नभएको र बाटो निर्माणको काम भइरहँदा पोखरा जान असहज भएको बताउनुभयो । “यहाँबाट पर्यटकलाई पोखरा लैजाने कुरामा कुनै द्विविधा छैन । पोखरासँगको कनेक्टिभिटीलाई प्राथमिकता दिनु जरुरी छ,” उहाँले भन्नुभयो ।

कार्यक्रमले पोखरासहित समग्र नेपालको पर्यटनमा योगदान पुगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । भारतीय पर्यटकका तर्फबाट उठाइएका कनेक्टिभिटी एवं पूर्वाधार विकासका कुरामा राज्यले ध्यान दिनु जरुरी रहेको उहाँले बताउनुभयो । “नेपालका लागि भारत नै पर्यटनको प्रमुख स्रोत हो । भारतीय पर्यटकको आगमन बढाउन सकेमा यहाँको पर्यटनमा महत्वपूर्ण टेवा पुग्दछ,” उहाँले भन्नुभयो ।

नाट्टा गण्डकी प्रदेशका महासचिव सङ्गीता पौडेलले पोखरा धार्मिक साहसिक, सांस्कृतिक र मनोरञ्जनका लागि पनि महत्वपूर्ण सहर हो भन्ने सन्देश प्रवाह गरिएको बताउनुभयो । विश्वमै धार्मिक महत्व बोकेको शालिग्राम पाइने क्षेत्रका रूपमा गण्डकी प्रदेशको प्रवद्र्धन गरिएको उहाँले सुनाउनुभयो । 

कार्यक्रममा भारतबाट आउने पर्यटकले सीमा क्षेत्रमा पाउने गरेका समस्याका बारेमा पनि जिज्ञासा राखिएको थियो । भारतीय सहरको पर्यटन प्रवद्र्धनले पोखराको पर्यटन प्रवद्र्धनमा योगदान पुगेको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बताउनुभयो ।