• ८ मंसिर २०८१, शनिबार

साझा देवता रातो मत्स्येन्द्रनाथ

blog

- त्रिचन्द्र प्रतीक्षा

संसारको सृष्टि गर्ने सृष्टिकान्त हुन् । सहकाल ल्याउने बुंगमतीका लोकेश्वर र सुख प्रदान गर्ने कनकमुनि लोकेश्वर हुन् भनी विश्वास गरिएको छ । यसमध्ये पद्मपाणि वा आर्यावलोकितेश्वरलाई नेपालभाषामा ‘बुंगद्यः’ भनिएको छ । बुंगमती ‘बंग’ शब्दको अपभ्रंश हो । 

माछाको मुखबाट निस्किएको भनी उनलाई मत्स्येन्द्रनाथ नामकरण गरिएको मानिन्छ । महायानी बौद्ध परम्पराअनुसार मत्स्येन्द्रनाथलाई अमिताभ बुद्धका रूपमा मानिन्छ । बौद्ध पुराणअनुसार आर्यावलोकितेश्वरलाई पद्मपाणिको रूपमा सम्बोधन गरिएको पाइन्छ भने हिन्दु कथनअनुसार बुंगद्यः, रातो मत्स्येन्द्रनाथ भनिन्छ र उनी सृष्टिकर्ता र सम्भारकर्ता हुन् । रातो मत्स्येन्द्रनाथलाई बौद्ध र हिन्दु दुवै सम्प्रदायका साझा देवता मानिन्छ । 

नेपालमै सबैभन्दा लामो समय वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर आषाढ शुक्ल चौथीसम्म मनाइने सांस्कृतिक उत्सवलाई रातो मत्स्येन्द्रनाथको रथयात्रा भनिन्छ । यो रथयात्राको प्रचलन कहिलेदेखि भयो भन्ने तथ्य त्यति स्पष्ट गर्न सकिएको छैन । तथापि रातो मत्स्येन्द्रनाथ आर्यावलोकितेश्वर र लोकनाथका रूपमा प्रसिद्ध करुणामयीलाई कलिगत ३६०० अर्थात् विक्रम संवत् ४४६ मा नेपालमा ल्याइएको हो भनिन्छ । राजा नरेन्द्रदेव, आचार्य बन्धुदत्त र भरिया रथचक्र ललित ज्यापू तीन जनाले कामरु कामाक्षबाट नेपाल ल्याइएको थियो भनिन्छ । गोपाल वंशावलीअनुसार राजा नरेन्द्रदेवले नै मत्स्येन्द्रनाथको वार्षिक जात्रा चलाएको विश्वास गरिन्छ । 

यस लोकोक्तिअनुसार गोरखनाथ नेपाल पस्छन्, भिक्षा माग्न घर–घर चहार्छन् तर कुनै पनि घरबाट एक मुठी भिक्षासम्म नपाएको झोकमा गोरखनाथले पानीको मूल स्रोत मानिएका नेपालका नौवटा मुख्य मुख्य नागलाई बोलाई आसन जमाएर बस्छन् र १२ वर्षसम्म तपस्या गर्छन् । यसकारण देशमा पानी पर्दैन र अनिकाल परेर ठूलो हाहाकार मच्चिन्छ । जनतालाई अनिकालबाट बचाउन राजा नरेन्द्रदेवले काठमाडौँका तान्त्रिक आचार्य बन्धुदत्त, ललितपुरका ललित ज्यापूसँग मिलेर गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई कामरु कामाक्षबाट नेपालमा ल्याउनुपर्ने कुरा बताउँछन् । यसैअनुसार मत्स्येन्द्रनाथलाई भमरोका रूपमा कलशभित्र कैद गरी नेपाल उपत्यकाको लेले भञ्ज्याङ हुँदै कटुवाल दहबाट बुंगमती ल्याइएको भन्ने भनाइ छ । 

यसपछि १२ वर्षसम्म नागहरू आसन बनाएर तपस्यामा बसेका गोरखनाथ आफ्ना गुरु मत्स्येन्द्रनाथको दर्शनका लागि उठेर जान्छन् । नागहरू पनि आ–आफ्नो बासस्थानमा फर्कन्छन् र नेपाल मण्डलमा पानी पर्न थाल्छ । स्वयम्भूको शान्तिपुरमा अस्फानिक ध्यानमा बसेका शान्तिपराचार्यका भनाइअनुसार मत्स्येन्द्रनाथ गोरखनाथका गुरु हुन् । यसैकारण यस घटनाको संस्मरण स्वरूप प्रत्येक वर्ष कटुवाल दहको किनारमा मत्स्येन्द्रनाथलाई लिन जाने भनी यहाँका पानेजुहरू गई पूजाआजा गरी एकजोर भमरा त्यहाँको बुंग (कुवा)को प्वालबाट समातेर कलशमा राखी मन्दिरमा प्रतिष्ठापित गर्न ल्याउने प्रचलन अद्यापि छँदै छ । 

काठमाडौँको म्हेपी अजिमा योगाम्बरको किंवदन्तीअनुसार मत्स्येन्द्रनाथ बौद्ध आचार्य बन्धुदत्तका एक्ला छोरा थिए । शक्ति साधनाका लागि एक दिन बन्धुदत्त म्हेपी अजिमाकहाँ पुग्छन् । आफ्ना पिता कहाँ जान लागे भनी बाबुको पछिपछि हिँडेर मत्स्येन्द्रनाथ गए । म्हेपी अजिमाले बन्धुदत्तसँग भोग माग्दा उनले ‘मैले केही पनि ल्याएको छैन’ भनी जवाफ दिन्छन् । अजिमाले 

‘तिमीसँग आउने बच्चा देऊ’ भनेपछि बन्धुदत्तले फर्केर हेर्दा आफ्नै छोरा देख्छन् । बाध्यतावश छोरालाई भोग दिन्छन् । पछि अजिमाले भनिन्, “तिम्रो यो बच्चा अर्को जन्ममा बोधिसत्व भएर सहकाल ल्याउने हुनेछन् र त्यो बच्चा कामरूपीठका राक्षस राजा शशिका छोरा भएर रानीको कोखबाट जन्म लिन्छन् ।” 

म्हेपी अजिमाले भनेबमोजिम कामरु कामाक्ष गई भर्खर जन्मेका बच्चा ल्याउन सके सहकाल आउनेछ भनी राजा नरेन्द्रदेव, आचार्य बन्धुदत्त र ललित ज्यापू शिलानदी पार गरी कामरु कामाक्ष पुगे । धेरै प्रयासपश्चात् करुणावतार बच्चा फेला पारे तापनि सजिलै ल्याउन नसकिने देखेर बन्धुदत्तले ह्यगृव भैरव र कर्कोटक नागको साधन गरे । त्यहाँका राजालाई पेटमा शूल हुने पारिदिए । जतिसुकै ओखतीमूलो गरे पनि राजा निको भएनन् ।

नेपालबाट वैद्यराज आएको थाहा पाएर दरबार बोलाएर लग्छन् र बन्धुदत्तले रोग निको पारेपछि राजाले के पुरस्कार माग्छौ भनेर सोधे । बन्धुदत्तले हजुरको कान्छो सुपुत्र नेपालमा लगेर करुणामयका रूपमा पूजा गर्ने कुरा बताए, रानीले चाहिँ कान्छा पुत्र दिन सक्दिनँ भनिन् । त्यहाँबाट उनीहरू फर्केर कटुवाल दहमा जोगाम्बरको पीठ स्थापना गरी साधना गर्न थाले । त्यसपछि मात्र करुणामय बालक भमराको रूपमा कलशभित्र प्रवेश गर्दछन् । त्यहीँबाट करुणामय साधना सम्पन्न गरेर नेपालमा सहकाल ल्याइएको मत्स्येन्द्रनाथ वंशावलीमा उल्लेख गरिएको छ । यो कलश कटुवाल दहबाट बुंगमतीस्थित तःबहालमा ल्याइयो । मत्स्येन्द्रनाथको मन्दिर भएको यो स्थानमा राजा नरेन्द्रदेव, बन्धुदत्त र ललित ज्यापू तीनै जना कलश बिसाएर थकाई मार्दा तीनै जना निदाएछन् र गोठालाहरूले कलश चोरेर लुकाई दिएछन् । उनीहरू ब्युँझिएर हेर्दा त कलश हराएछ । कलश नपाएपछि गोठालाहरूले हामीलाई आधा भाग दिने हो भने खोजिदिने कुरा गरेछन् । आधा गर्न हुने भए दिउँला भनेपछि गोठालाहरूले लुकाएको ठाउँबाट कलश ल्याइदिए । आधा गर्न नमिल्ने भएको हुनाले सहमतिमा उत्तरायणमा पाटन ल्याउने र दक्षिणायान भयो कि बुंगमतीमा देवता लाने परम्परा चलाइएको भनाइ छ । अतः रातो मत्स्येन्द्रनाथका दुईवटा मन्दिर स्थापित छन्– एउटा बुंगमतीमा, अर्को ललितपुरस्थित तःबहालमा । 

एक अर्को किंवदन्तीअनुसार नेपाल ल्याइएको करुणामय भएको कलशलाई राजा नरेन्द्रदेवले भक्तपुर लग्ने कि ललित ज्यापूले पाटनमै राख्ने भन्ने विवाद उठ्यो । ललितपुरका राजा वरदेवको आज्ञाले यस कुराको पुर्पक्ष गर्नका लागि पाटनका थकाली वयोवृद्धलाई छाने । वयोवृद्धले बोल्दा सबैले सुन्न सकुन् भनेर सातवटा ओखल (उगः)लाई एकमाथि अर्को खप्टाएर राख्न लगाइयो । यो सातवटा ओखलमाथि उभिएर वयोवृद्धले कामरु कामाक्षदेखि महाकष्ट गरी बोकेर ल्याउने ललितपुरका एक जना सामान्य ललित ज्यापू भएकाले ललितपुरमै राख्नुपर्ने निर्णय सुनाए । यो निर्णय सुनाएलगत्तै ती सातवटै ओखल धसिएर वयोवृद्धको मृत्यु भएको भनी वंशावलीमा पाइन्छ तर इतिहासविद् हरिराम जोशीले ‘उक्त वृद्ध व्यक्तिलाई त्यसै स्थानमा मारेर गाडेको’ भनेर उल्लेख गर्नुभएको छ । मत्स्येन्द्रनाथलाई रथारोहण गरी जात्रा आरम्भ गर्नुभन्दा १५ दिनअघि लगनखेलमा निर्मित डबलीमा स्नान गराइन्छ, जसलाई ‘न्हवं’ गर्ने भनिन्छ । वैशाख शुक्ल प्रतिपदाको दिन मत्स्येन्द्रनाथलाई खटमा बोकी तःबहालको मन्दिरबाट पुल्चोकमा ल्याई रथमा विराजमान गराउने चलन छ । यसै दिन चत्र बहालमा बनाइएको रथमा मीननाथ (जटाधारी लोकेश्वर)लाई पनि विराजमान गराइन्छ । मत्स्येन्द्रनाथ रथयात्रा अवधिभर मीननाथको रथ पनि साथमा पछिपछि लगिन्छ । 

मत्स्येन्द्रनाथको रथ जात्रा गर्नुभन्दा पहिले विभिन्न देवताको रथ तान्ने परम्परा थियो । ढलाछेँ टोलको लोकेश्वर, नारायण, मीननाथ (चक्वाद्यो)को रथ तान्ने परम्परा थियो । पछि ती देवताहरूको रथहरू एउटै रथमा गाभेर मत्स्येन्द्रनाथ र मीननाथको मात्र रथ बनाई तान्ने प्रचलन सुरु भयो । यसरी रथ तान्ने परम्परा वि.सं. ६५० देखि सुरु भएको देखिन्छ । 

रथारोहण गरेको चौथो दिनमा मात्र पुल्चोकबाट गाःबहाल टोलमा बाजागाजासहित रथ ल्याई पु¥याइन्छ । त्यसपछि स्थानीय बासिन्दाले रथलाई गाःबहालबाट सुन्धारा पु¥याउँछन् । यसरी नै जुन जुन टोलमा रथ पु¥याइन्छ, त्यहाँ बेलुका खुसियालीमा स्थानीय बासिन्दाले आ–आफ्ना नाता–कुटुम्ब र इष्टमित्रलाई समेत निमन्त्रणा गरी भोज खुवाउँछन् । 

मत्स्येन्द्रनाथको रथलाई सुन्धाराबाट लगनखेल पु-याइएको पहिलो दिन ‘बौ बिगुः’, दोस्रो दिन ‘छ्यवला बु’ र तेस्रो दिन ‘भुज्या’ गरिन्छ भने त्यही दिन रथलाई लगनखेलको खरीको बोटमा एक फन्को घुमाएर थतिटोलमा पु-याइन्छ । यही दिन ५ बजेतिर मत्स्येन्द्रनाथको रथको टुप्पो (शिर)बाट सिङ्गो नरिवल खसाल्ने एउटा विशेष जात्रा पनि हुन्छ । यसरी रथको टुप्पोबाट खसालेको नरिवल समाउने व्यक्ति निकै भाग्यमानी ठानिन्छ तर त्यो नरिवल भने समाउनेले पाउँदैन, पुजारीहरूले उसलाई नरिवल समाएबापत दक्षिणा दिई नरिवल फिर्ता लिन्छन् ।

नरिवल खसालिएको भोलिपल्ट बिहान सबेरै महिलाले मात्र तानेर अन्दाजी एक सय हातजति पर चौबाटोमा रथ पु¥याउने चलन छ । महिलाले रथ तान्ने प्रक्रिया विशेषगरी एकल महिलाका लागि मात्र हो भन्ने लोककथन छ, यसलाई ‘याकःमिसाया भूज्याः’ भनिन्छ । अघिपछि मत्स्येन्द्रनाथको रथ तान्दा पुरुषले मात्र तान्ने चलन छ भने मीननाथको रथ तान्नेहरूचाहिँ विशेषगरी १६ वर्षमुनिका केटा हुन्छन् ।

मङ्गलबजारको सोह्रखुट्टे पाटीमा चारथरिका ज्योतिषद्वारा साइत जुराएपछि रथलाई लगनखेल खरिकोबोटदेखि जावलाखेल पु¥याउने कार्य सुरु गरिन्छ । रथलाई जावलाखेल लैजानुलाई ‘घः पिसालेगु’ भनिन्छ । रथ जावलाखेल पु-याएको चौथो दिन चाहिँ भोटो जात्रा हुन्छ । बहुमूल्य रत्नजडित ‘हेलगुजी’ भनिने भोटोलाई गुठी संस्थानका कर्मचारीले रथको बुर्जाका चार कुनामा तीन–तीन पटक देखाउने गरिन्छ । भोटो चारै दिशामा तीनपल्ट देखाउने गरिन्छ । मत्स्येन्द्रनाथको अन्तिम तथा महत्वपूर्ण दिन पनि यही भोटोजात्राको दिन हो । भोटोजात्रा सकिएपछि मत्स्येन्द्रनाथलाई रथबाट खटमा राखी बुंगमती लगिन्छ र वर्ष दिनको जात्रा समापन हुन्छ ।