• १ जेठ २०८२, बिहिबार

भर्नाका नाममा चर्को शुल्क

blog

भैरहवा समाचारदाता

भैरहवा, वैशाख ८ गते । रुपन्देहीका संस्थागत विद्यालयले पुराना विद्यार्थीको नवीकरणबापत पनि चर्को शुल्क असुल्न थालेका छन् । एक पटक भर्ना भएका विद्यार्थीलाई भर्नाका नाममा फेरि चर्को शुल्क असुलेपछि अभिभावकले आर्थिक मन्दीका बेला विद्यालयले आर्थिक रूपमा बोझ पार्ने काम गरेको गुनासो गरेका छन् ।

हरेक विद्यार्थीले सुरुमै भर्ना शुल्क तिरेपछि माथिल्लो कक्षामा भर्ना शुल्क तिर्नु नपर्ने व्यवस्था शिक्षा नियमावलीमा छ तर प्रायः सबै निजी विद्यालयले भर्नाका नाममा अतिरिक्त शुल्क असुलिरहेका छन् । रुपन्देहीको न्यु होराइजन बोर्डिङ स्कुलका अभिभावक नमुना नेपालले विद्यालयले भर्नाका नाममा मनलाग्दी शुल्क असुलेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “एक पटक भर्ना भइसकेको विद्यार्थीलाई अर्को कक्षामा जाँदा फेरि भर्नाका नाममा चर्को शुल्क लिने काम राम्रो होइन, यसलाई नियन्त्रण गर्नुपर्छ ।”

अभिभावक सङ्घ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले एक पटक भर्ना भएका विद्यार्थीसँग सोही विद्यालयले फेरि भर्ना शुल्क लिन नपाउने बताउनुभयो । विद्यालयले त्यसरी भर्ना शुल्क लिने कुरा शिक्षा ऐनविपरीत पनि हो । विद्यालयहरूले चर्को शुल्क असुल्न थालेपछि सिद्धार्थनगर नगरपालिकाले परिपत्र नै गरेर आफूखुसी शैक्षिक शुल्क नअसुल्न निर्देशन दिएको छ ।

अभिभावकले भर्नालगायत विभिन्न शुल्कका नाममा चर्को शुल्क असुली र पसल तोकेरै शैक्षिक सामग्री खरिद गर्न विद्यालयले बाध्य बनाएको गुनासो गरेपछि नगरपालिकाले विद्यालयहरूमा परिपत्र गर्दै अभिभावकको गुनासो सम्बोधन गर्न भनेको छ । 

शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ (संशोधनसहित) र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ तथा संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ को प्रावधानविपरीत मनोमानी ढङ्गले चर्को शुल्क असुल्ने र पसल तोकेर शैक्षिक साम्रगी खरिद गर्न बाध्य गराएको गुनासो/उजुरी प्राप्त भएपछि पत्र जारी गरेर निर्देशन दिइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बताउनुभयो ।