• १३ साउन २०८१, आइतबार

तरकारी बजारमा थोक बिक्री समय घट्यो

blog

काठमाडौँ, वैशाख ७ गते ।  देशकै ठूलो कालीमाटी तरकारी बजारको थोक बजार दिउँसो ३ बजेदेखि बन्द गर्न थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले थोक बजारमा दिउँसो ३ बजेपछि खुद्रा कारोबार गर्ने गरेको गुनासो आएपछि परीक्षणका रूपमा बन्द गर्न थालिएको हो । 

कालीमाटीका थोक व्यापारीहरूले भने साना तथा खुद्रा व्यापारीको दबाबमा थोक पसल बन्द गरेको भन्दै विरोध गरेका छन् । व्यापारीहरूले तरकारीजस्तो संवेदनशील वस्तुको कारोबार हुने बजार बन्द गर्नु गलत हो भन्दै समितिलाई ३ बजे बन्द गर्ने नियम कार्यान्वयन नगर्न सुझाव दिएका छन् । दिउँसै थोक बजार बन्द हुँदा व्यापारी मात्रै होइन, एक धार्नी र एक ढक तरकारी किन्न आउने पनि मारमा परेका छन् । कुलेश्वरका खाजा तथा नास्ता पसल सञ्चालक नितेश थापाले दिउँसै थोक पसल बन्द गर्नु गलत भएको टिप्पणी गर्नुभयो । 

समितिले खुद्रा व्यापारीसँगको मिलेमतोमा थोकलाई बन्द गराएर उपभोक्तालाई मारमा पार्ने काम गरेको आरोप उहाँको छ । कालीमाटी थोक तथा खुद्रा व्यापारीहरूको साझा संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले केही व्यापारीले थोकबाट खुद्रा कारोबार गरेकाले अहिले यो समस्या आएको र बन्द गर्नु मात्रै दीर्घकालीन समाधान नभएको बताउनुभयो । बजार बन्द गरेर समस्या समाधान नहुने भन्दै उहाँले बरु गलत गर्नेलाई कारबाही गर्ने र बजार साबिककै समयअनुसार खुला हुने वातावरण बनाउन समितिको ध्यानाकर्षण गराएका छौँ भन्नुभयो ।  

समितिका प्रवक्ता विनय श्रेष्ठले थोक कारोबार हुनुपर्ने बजारमा खुद्राको कारोबार गर्ने बढी भएकाले थोकलाई असर नगर्ने गरी र खुद्रे कारोबार नियन्त्रणका लागि बन्द गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परीक्षणका रूपमा लागू गरिएको हो, व्यापारीलाई नै धेरै असहज भएमा पुनः पहिलाको समयअनुसार खुला गर्न सकिन्छ । व्यापारी र उपभोक्ता दुवैको सहजताका लागि मात्रै गरिएको हो, मर्का परेमा खोल्न सकिन्छ ।”

समितका अनुसार यसअघि कालीमाटी थोक बजार साँझ ७ बजे बन्द गर्ने गरिएको थियो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बोर्ड बैठकले परीक्षणका रूपमा उक्त नयाँ नियम लागू गरेको हो । समितिका अनुसार कालीमाटीमा थोक व्यापार गर्ने स्टलको सङ्ख्या पाँच सयभन्दा बढी रहेको छ । खुद्राका स्टल ६५ वटा रहेका छन् भने किसानका लागि थोकमा १४ वटा स्टल छुट्याइएका छन् । खुद्रामा २०/२५ वटा स्टल रहेका छन् ।