• १३ साउन २०८१, आइतबार

‘धर्मसंस्कृति र सभ्यताले मानसखण्ड क्षेत्र समृद्ध छ’

blog

मानसखण्ड सम्मेलनको समापन कार्यक्रममा सहभागी अतिथि गण । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह 

धनगढी, वैशाख ४ गते । नेपाली कांग्रेसकी नेत्री तथा प्रतिनीधि सभा सदस्य डा‍‍ आरजु राणा देउवाले सुदूरपश्चिम काठमाडौंबाट सुदूर भए पनि सनातन धर्म, संस्कृति, सभ्यताका हिसावले केन्द्रमा रहेको बताउनुभएको छ । तीन दिने मानसखण्ड सम्मेलनको सोमबार भएको समापन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मानसखण्डको ठूलो महत्व रहेको चर्चा गर्दै यस क्षेत्रको विकासमा मानसखण्डको  भूमिका रहने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

मानसखण्ड (सुदूरपश्चिम) को धर्म, संस्कृतिलाई जोगाएर धार्मिक पर्यटकीय क्षेत्रको प्रचार गरेर, व्यवस्थित गरेर आर्थिक समृद्धि ल्याउन सकिने धारणा राख्नुभयो । उहाँले सुदूरपश्चिममा जस्तो धेरै जात्रा (मेला) अन्यत्र कतै नभएको भन्दै यसको फाइदा लिनुपर्ने बताउनुभयो । 

नेत्री राणाले प्रदेश सरकारले मानसखण्ड क्षेत्रलाई जोगाउन र समृद्ध सुदूरपश्चिम प्रदेश बनाउन विशेष बजेटको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । विगतको तुलनामा सुदूरपश्चिममा ठूलो परिवर्तन भएको उहाँको भनाइ छ । 

“२८ वर्ष अगाडि यहाँ आउँदा निक्कै पछाडि परेको अवस्था थियो, अहिले धनगढीको सडक नै काठमाडौंभन्दा राम्रो बनेको छ” उहाँले भन्नुभयो । यहाँका नागरिकहरु पैसा कमाउन खाडी र भारतको सहरमा जानु दुःखद भएको भन्दै उहाँले नागरिकका लागि यही क्षेत्रमा रोजगारको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । 

मानसखण्ड क्षेत्रका जानकार आचार्य घनश्यामका अनुसार महाकाली र कर्णाली नदीको बीच भागमा पर्ने भागलाई मानसखण्ड भनिन्छ । यो क्षेत्रमा ४० हजारभन्दा बढी तीर्थस्थल छन् । 

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले मानसखण्ड क्षेत्र भारत–नेपाललाई जोड्ने पुल बन्ने बताउँदै यो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्ने धारणा राख्नुभयो । भारत–नेपाल जोड्न काली नदीमा पुल बनिरहेको चर्चा गर्दै उहाँले पुलले भूगोल जोड्ने काम गर्ने विश्वास व्यक्त गर्नुभयो । राजदूत श्रीवास्तवले दुई वर्षभित्र नै कञ्चनपुरको दोधारा चाँदनीस्थित सुख्खा बन्दरगाहा सञ्चालनमा आउने गरी काम भइरहेको बताउनुभयो । 

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालले महाभारत र रामायण सर्किटले भारत–नेपालको सम्बन्ध दर्शाउने संकेत गर्दै सांस्कृतिक एकता र सद्भावका लागि मानसखण्ड क्षेत्रको ठूलो महत्व रहेको चर्चा गर्नुभयो । 

कार्यक्रममा नेपाल–भारतका सीमा क्षेत्रका राजनीतिज्ञ, साहित्यकार, धार्मिक अगुवा र पत्रकारलगायतको उपस्थिति थियो । कार्यक्रम सुदूरपश्चिम विश्वविद्यालय, भारतको कुमाउ विश्वविद्यालय, नेपाल–भारत सहयोग मञ्च विरगञ्जलगायतले आयोजना गरेका हुन ।