• १३ साउन २०८१, आइतबार

पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता

blog

तेह्रथुम समाचारदाता

तेह्रथुम, वैशाख ४ गते । आठराई गाउँपालिका पर्यटन विकासको प्रचुर सम्भावना भएको क्षेत्र हो। यहाँका ऐतिहासिक, धार्मिक र मौलिक संस्कृतिको जगेर्ना गर्दै पर्यटन हबका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न कार्य प्रारम्भ गरिएको छ।

प्राकृतिक रूपमा सुन्दर क्षेत्रका रूपमा मानिएको तेह्रथुमको आठराई गाउँपालिकाको झाँक्रीगुफा संरक्षण क्षेत्र पर्यटकीय सम्भावना बोकेको स्थान हो। यो झाँक्रीगुफा परिसरभित्र भ्युटावर, लभडाँडा, सिलाम्साक्मा, जुगे पोखरी, पैदल मार्ग, खेल मैदान, फुटबल स्तम्भ, शीतल पाटी, राष्ट्रिय झन्डा, गौलो चौतारालगायतका पर्यटकलाई मोहित पार्ने भौतिक संरचना निर्माण गरिएका छन् भने कतिपय निर्माणको चरणमा छन्। प्राकृतिक रूपमा सुन्दर रहेको यो स्थानमा भौतिक पूर्वाधार निर्माणले अझ सुनमा सुगन्ध थपेको यहाँ घुम्न आउनुभएका छथर गाउँपालिका–३ का फौदराज लिम्बूले बताउनुभयो।

झाँक्रीगुफा परिसरभित्रका धार्मिक, ऐतिहासिक, प्राकृतिक रूपमा पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा भौतिक पूर्वाधारका संरचना निर्माण गरिएका हुन्। परापूर्वकालमा वनझाँक्री यही गुफामा बस्ने भएकाले यसलाई झाँक्री गुफा भनिएको स्थानीयवासीको भनाइ छ। वनझाँक्रीले यस गुफामा राखेर बनाएका धामीझाँक्री र बूढीबजुहरू अझै गाउँमा रहेका छन्। यो परिसरको संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई मोहित पार्ने गरेको लालीगुराँस नगरपालिका–६ की सिर्जना सेनेहाङले बताउनुभयो। 

यो क्षेत्र प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपले समेत सम्भावनायुक्त रहेकाले स्थानीय तहले उच्च महत्वका साथ पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न भौतिक संरचना निर्माणको कार्यलाई तीव्रता दिएको हो। झाँक्रीगुफा क्षेत्रलाई जिल्लाकै नमुना पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाइएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो।

कुल सातवटा वडा रहेको आठराई गाउँपालिकालाई विकासको बागडोर मानिएको मध्यपहाडी लोकमार्गले समेत छोएको छ। सडक सञ्जालले यस पालिकाका सबै गाउँबस्तीलाई जोडेको छ। अदुवा, अलैँचीलगायतका नगदेबाली प्रमुख आम्दानीको स्रोत मानिएको यहाँका बासिन्दाका लागि पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनले आर्थिक उपार्जनमा समेत टेवा पु-याउने गाउँपालिकाले लक्ष्य लिएको छ।