• १३ साउन २०८१, आइतबार

फिक्कलमा ‘सूर्योदय सडक महोत्सव’

blog

इलामको फिक्कलमा चौथोे ‘सूर्योदय सडक महोत्सव’ मा राखिएका सामग्री । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), बैशाख ३ गते । इलामको फिक्कलमा चौथो ‘सूर्योदय सडक महोत्सव’ सुरु भएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०८० को अवसरमा आयोजना गरिएको सडक महोत्सव आइतबारदेखि सुरु भएको हो । 

सूर्योदय होटल व्यवसायी सङ्घ, आयाम युनाइटेड क्लब फिक्कल र सूर्योदय जेसीजको संयुक्त आयोजनामा सञ्चालित महोत्सव दुई दिनसम्म चल्नेछ । सडक महोत्सवमा स्थानीय खानाका परिकार र इलामका कृषिउपज सहितका ४० वटा स्टल रहेका छन् । महोत्सवमा धनकुटामा उत्पादन गरिएका काठका सामग्री र ढाकाका कपडा विशेष रूपमा राखिएको छ । फूलका स्टल समेत महोत्सवमा राखिएको छ । महोत्सव  सम्पन्न गर्दा ४० लाख खर्च हुने आयोजकले जनाएको छ ।  

आयोजक मूल समारोह समितिका अध्यक्ष अभिषेक श्रेष्ठले चौथो सूर्योदय सडक महोत्सवले सूर्योदयको मात्र नभई इलामको पर्यटन प्रवर्धन गर्न सकिने बताउनुभयो । उहाँका अनुसार महोत्सवमा नेवारी, राई र लिम्बू जातिका स्थानीय खानाका परिकार पर्यटकलाई चखाइनेछ । उहाँले भन्नुभयो, ‘पछिल्लो समय आर्थिक मन्दिका कारण पर्यटन सुस्ताएका बेला महोत्सवले खस्किएको पर्यटन क्षेत्र उकास्न सहयोग पुग्नेछ ।’

एक लाख बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य लिइएको सो महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सव, सूर्योदय नगरपालिका नवप्रवर्तन साझेदारी कोष, कन्याम प्यारा ग्लाइडिङ, सूर्योदय एड्भेन्चरलगायतले सहयोग गरेका छन् । महोत्सवमा स्थानीय कोसेलीका स्टल रहेका छन् ।

महोत्सव उद्घाटन गर्दै कोशी प्रदेश सभा सदस्य खगेश्वरी पौडेलले पर्यटन प्रवर्धन गर्न निजी क्षेत्र मात्र नभई तीनै तहका सरकार पनि सक्रिय बन्नुपर्ने बताउनुभयो । आयोजक समितिका सचिव अभिषेक प्रताप पौडेलका अनुसार महोत्सव सुरु हुनुअघि कन्यामबाट फिक्कलसम्म महोत्सवको प्रचार गर्न युवाले मोटरसाइकल र साइकल र्‍याली गरेका थिए । कार्यक्रममा कलाकारहरू सविन राई, अस्मिता अधिकारी, समीक्षा दाहाल, लिजर्ड ब्याण्ड लगायतको साङ्गीतिक प्रस्तुति रहनेछ ।