नेपाली कांग्रेसलाई जनस्तरमा स्थापित गर्न जनजनको घरदैलोमा पुग्नुपर्छ भन्ने मान्यता थियो बीपी कोइरालाको । यसका लागि उहाँ निरन्तर देश दौडाहामा निस्कने गर्नुहुन्थ्यो । देशदौडाहा चलायमान राजनीतिज्ञका लागि मजबुत आधारसमेत मानिन्छ । २००७ सालको राजनीतिक परिवर्तनपछि पटक पटक सरकार फेरिए पनि आमनिर्वाचन हुन सकेको थिएन । जननिर्वाचित सरकारको परिकल्पना त धेरै टाढाको विषय थियो । बीपीका लागि पनि परिस्थिति खासै अनुकूल हुन सकेको थिएन ।
यसै मेसोमा २००८ देखि २०१३ सालका बीचमा बीपीले कास्कीको पोखरा, लमजुङको करापुटार, दुराडाँडा तनहुँको रूपाकोट, रतनपुर, टुहुरेपलल, चुँदी बन्दीपुरलगायतका धेरै स्थानमा महिना दिन भन्दा लामो भ्रमण गर्नुभयो । बीपी गाउँगाउँमा बास बस्नुभयो, कार्यकर्तालाई प्रशिक्षित मात्र गर्नुभएन विभिन्न ठाउँमा अन्तरसंवाद पनि गर्नुभयो । कहीँकतै अवरोध बेहोर्नु परे पनि धेरै ठाउँमा बीपीको न्यानो स्वागत गरियो । बीपीका साथ सुवर्णशमशेर राणा, डा.तुलसी गिरी, विश्वबन्धु थापालगायत नेता हुनुहुन्थ्यो । त्यसो त तनहुँका श्रीभद्र शर्मा, गोवर्धन शर्मा पोखरेल, लमजुङका श्रीकान्त अधिकारीलगायतले बीपीलाई गाउँगाउँमा पु¥याएर उहाँको विचार प्रवाह गर्ने कार्यमा अगुवाइपूर्ण भूमिका खेलेका थिए ।
दुराडाँडामा बीपी र सुवर्णको भव्य स्वागत
२०१३ सालमा बीपी सुवर्णशमशेरलगायत नेताको टोली पोखराहुँदै लमजुङको दुराडाँडा पुग्यो । दुराडाँडाले नेपालमा २००७ सालको ऐतिहासिक जनक्रान्ति हुनुअघि नै आफ्नो अलग्गै परिचय बनाइसकेको थियो । २००६ सालमा बाहुनले पनि हलो जोत्न हुन्छ भन्ने अभियानका साथ गरिएको हलोक्रान्तिले त्यो बेलाको समाजमा उथलपुथल ल्याएको थियो । पण्डित तोयनाथ अधिकारीको अगुवाइमा दुराडाँडामा हलो क्रान्ति भएको थियो । त्यसपछि दुराडाँडामा राजनीतिज्ञ श्रीकान्त अधिकारीको पहलमा १२ वटा प्राथमिक विद्यालय स्थापना गरिएपछि यस क्षेत्रमा शैक्षिक जागरण आएको थियो । यीमध्येका केही विद्यालय छात्रा र दलितलाई समेत पढाउने भनेर स्थापना गरिएका थिए । शैक्षिक र राजनीतिक हिसाबले क्रान्तिको अगुवाइ नै गरेको थियो दुराडाँडाले तर पनि कांग्रेसका शीर्ष नेता यो ठाउँमा पुगेका थिएनन् । यो अवसर जु¥यो २०१३ सालमा । बीपी र सुवर्णशमशेर लगायत नेताको टोली पोखराबाट करापुटारहुँदै दुराडाँडा पुग्यो । पहाडमा रहेको यो गाउँ निकै बौद्धिक लागेको र आफूहरूको भव्य स्वागत पाएको बीपीको स्मरणमा उल्लेख छ । बीपी गाउँघरमा जाने र कार्यकर्ताको घरमा बस्न विशेष रुचि राख्नुहुन्थ्यो तर राणा खान्दानका सुवर्णलाई भने यसमा खासै रुचि थिएन । श्रीकान्त अधिकारीको विशेष अनुरोधमा मात्रै सुवर्ण दुराडाँडा पुग्नुभएको थियो र त्यहाँबाट पोखराहुँदै काठमाडौँ फर्कनुभएको हो । बीपी भने दुराडाँडाबाट तनहुँका गाउँतिर प्रवेश गर्नुभयो । लमजुङको यो गाउँमा पनि बीपीको सभा बिथोल्नसमेत प्रयास भएको रहेछ । बीपीले दुराडाँडामा समेत सहज रूपमा बैठक गर्न नसकेको र आफूहरूमाथि अपशब्दसमेत प्रयोग गरिएका प्रसङ्ग उल्लेख गरेबाट परिस्थिति सहज रहनेछ भन्ने अनुमान गर्न सकिन्छ । दुराडाँडाको सभामा बेहोर्नु परेको खलबलीलाई तनहुँ रतनपुरको भव्य एवं हार्दिक स्वागतले बिर्साएको थियो । रतनपुरमा कांग्रेसको सङ्गठन र क्रियाशीलता देखेर बीपी निकै खुसी भएका कुरा जेल डायरीमा उल्लेख छ ।
खुट्टा छुन खोज्नेलाई जय नेपाल
बीपीको भ्रमणले गाउँघरमा राजनीतिक चर्चा परिचर्चा र गतिविधि चुलिएको थियो । बीपीलाई देख्न, भेट्न, विचार सुन्न खोज्नेहरूको ताँती नै हुने रहेछ गाउँगाउँमा । बीपीको व्यक्तित्व आकर्षक थियो । अग्लो कदको बीपी सुकिला कमिज सुरवाल लगाएर गाउँगाउँमा पुग्ने गर्नुहुन्थ्यो । यसक्रममा बीपीका अनुयायीले दर्शन पाउँ भन्दै खुट्टातिर लम्कँदा रहेछन् तर बीपीले सबैलाई हात जोडेर जय नेपाल भन्नुहोस् भनेर धेरै गाउँमा सिकाउनुभएको रहेछ । यसपछि गाउँगाउँका मानिसले निर्धक्क तरिकाले जय नेपाल भन्न थालेका रहेछन् ।
श्रीभद्रले किन ठूलो घर बनाए ?
पछिल्लो समय नेताहरू दिनभर गाउँघर डुले पनि साँझ सहरी क्षेत्रमा नै पुगेर बास बस्ने चलनको विकास भएको छ । गाउँबस्तीमै जनताको दरदैलोमा बस्ने खाना खाने, संस्कार पछिल्लो समयमा निकै कम भएको छ । बीपी कास्की, लमजुङ, तनहुँ, स्याङ्जाका गाउँ घुम्ने बेला यस्तो थिएन । पार्टीका स्थानीय नेताले जहाँ बास बस्ने प्रबन्ध मिलाउँछन् नेताहरू त्यहीँ बास बस्ने चलन थियो । भ्रमणका क्रममा बीपीले पार्टी नेता श्रीभद्र शर्माको घरमा एक रात बिताउनुभयो । श्रीभद्रले कति विशाल घर बनाएका रहेछन् भनेर बीपी दङ्ग पर्नुभएछ । आफ्नो स्मरणमा पनि बीपीले ‘‘श्रीभद्रले निकै ठूलो घर बनाएका रहेछन् र यसले कुनै कुनै समयमा उनका लागि निकै प्रतिकूल अवस्थाको सिर्जना हुन गरेको’’ भनेर उल्लेख गर्नुभएको छ । खासमा भएको के रहेछ भने शर्माको तनहुँ सिम्पानीको त्यो घरमा दुई जना (श्रीभद्र
शर्मा र रामप्रसाद खनाल) दुई परिवार बस्ने गरी निर्माण गरिएको रहेछ । रामप्रसाद पनि जिल्लाको चर्चित नेता हुनुहुन्थ्यो र कांग्रेस तनहुँको संस्थापक जिल्ला सभापति हुनुहुुन्थ्यो । पछि रामप्रसादले सो घरबाट आफ्नो परिवारको सागा नचलेर अलग्गै घर बनाएर बस्न थालेपछि श्रीभद्रले एकल रूपमा उक्त घरको प्रयोग गर्नुभएको रहेछ । कांग्रेस नेता गोवर्धन शर्मा पोखरेलले पनि श्रीभद्र शर्माले गाउँमा उतिबेला पनि बङ्गाला नै बनाएको उल्लेख गर्नुभएको छ ।
सानो समूहलाई सम्बोधन प्रभावकारी
विभिन्न जिल्लाको भ्रमणका क्रममा बीपीले धेरै सभालाई सम्बोधन गर्नुभयो । लमजुङको करापुटार, दुराडाँडा, तनहुँको रूपाकोट, रतनपुर, टुहुरेपसल बन्दीपुरलगायत विभिन्न स्थानका सभालाई बीपीलगायत नेताले सम्बोधन गरे । बन्दीपुरमा त बीपीले तरुण दल, हरिजन सभा र प्रभावशाली व्यक्तिहरूलाई अलग अलग सम्बोधन गर्नुभयो । बीपीले भ्रमणमा के अनुभव गर्नुभएछ भने सभामा धेरै ठूलो मानिसको जमात जम्मा गर्नुको खासै अर्थ छैन । बरु गाउँगाउँमा पुगेर सा–साना सभा गरेर जनतालाई आफ्नो कुरा स्पष्ट बुझाउन सकियो भने सङ्गठन बलियो हुन्छ, भ्रमण प्रभावकारी पनि हुन्छ । पछि बीपीले स्थानीय नेतालाई पनि गाउँगाउँमा पुग्ने र स–साना सभा गर्ने हिसाबले पार्टीलाई अघि बढाउन सहज हुने भन्दै आह्वान गर्नुुभएको रहेछ ।
बास पाउन हम्मेहम्मे
बीपी २०१३ सालमा मात्र होइन २०१० सालमा पनि तनहुँका विभिन्न क्षेत्रका भ्रमण गर्नुभएको थियो । यसक्रममा बीपीले बन्दीपुरको कार्यक्रम सकी पोखरातर्फ लाग्ने क्रममा एक रात तनहुँको गुणादीमा बास बस्नुभयो । भोलिपल्ट जामुनेमा आमसभा र थर्पु बजारमा बास बस्ने प्रबन्ध पार्टीका नेताहरूले मिलाएका रहेछन् । जिल्लामा सबैभन्दा माथिल्लो तहको नेतामा श्रीभद्र शर्मा नै हुनुहुन्थ्यो । जामुनेमा बीपीको सभा गर्न सक्ने स्थिति भएनछ । पछि कांग्रेस र विरोधी पक्षबीच एउटा समझदारी भएछ । कांग्रेसले तोकिएको ठाउँमा सभा नगरी अलि पर गएर गर्नुपर्ने र विपक्षीले सभा बिथोल्न नपाउने समझदारी भएछ । सोही समझदारीपछि कांग्र्रेसले सभा सम्पन्न ग¥यो र बीपीलगायत नेताले सभालाई सम्बोधन गर्नुभयो । सभा अवरोध पनि भएन । सभा सकेर राति थर्पु बजार जाँदा स्थानीयले बीपीलाई बास बस्न दिन नसक्ने अडान लिएछन् । पार्टीले पनि नेताको घरमा नभई थर्पुमै बास बस्ने प्रबन्ध मिलाएको रहेछ । श्रीभद्र शर्माले बीपीसितको स्मरण पुस्तकमा उल्लेख गरेअनुसार कमल थापा र डा. भेषबहादुर थापाका पुख्र्याैली परिवारले नै बीपीलाई बास बस्न नदिने कार्यको अगुवाइ गरेका थिए । बीपीलाई बास बस्न वरपरका गाउँमा प्रबन्ध मिलाउन सकिने भए पनि प्रतिष्ठाका लागि पनि बीपीलाई थुर्पु नै बास बसाउनुपर्ने निचोडमा कांग्रेसको नेता पुगेछन् । पछि श्रीभद्र शर्मा, नेता विश्वबन्धु थापाले थर्पुमा बास बस्न नदिए वरपरका कांग्रेसका कार्यकर्ता उत्राने धम्की दिएपछि बल्ल स्थानीयले बीपीलाई बास बस्न दिन राजी भएछन् । बीपीले जिल्लाका कतिपय ठाउँमा न्यानो स्वागत त पाउनु भएन नै बास पाउन पनि गाह्रो प¥यो ।
बीपीका भाषणमा पाँच कुरा
बीपीको भ्रमण भएको बेला यस क्षेत्रमा धेरै विद्यालय खुलिसकेका थिए । गाउँगाउँमा प्रजातन्त्र, निर्वाचनलगायत बारेमा जनतालाई केही जानकारी थिएन । यो अवस्थालाई विचार गरी बीपीले आफूले धेरैजसो सम्बोधनमा पाँचवटा विषयमा जनतालाई स्पष्ट पार्ने प्रयास गरेको उल्लेख गर्नुभएको छ । बीपीले प्रजातन्त्र र यसको अर्थ, आमनिर्वाचन, धर्म, जमिनको वितरण र औद्योगिकीकरण गरी पाँच कुरामा जनतासमक्ष आफ्नो कुरा राखेको उल्लेख गर्नुभएको छ । आफ्ना कुरा सरल तरिकाले राखेर जनतालाई बुझाउन सक्ने सीपका धनी नै हुनुहुन्थ्यो बीपी ।
तनहुँमा बीपीको अन्तिम रात
बीपी धेरै पटक तनहुँ पुग्नुभयो । २०१० साल, २०१३ सालपछि बीपी २०३६ सालमा तनहुँको दमौली पुग्नुभयो । जनमत सङ्ग्रहमा बहुदलको पक्षमा पल्लाभारी बनाउन कमजोर स्वास्थ्यलाई समेत वास्ता नगरी बीपी देशव्यापी दौडाहामा निस्कुनभएको थियो । २०३६ साल असोज ६ गते दमौलीको बेलको रुखमुनि बनाइएको मञ्चबाट कार्यकर्तालाई सम्बोधन गर्दै बीपीले बहुदलको पक्षमा भारी मत दिन र परिवर्तनका पक्षमा उभिन आग्रह गर्नुभएको थियो । सम्बोधनको प्रारम्भमा बीपीले ‘मेरो आवाज सुन्नु भा छ’ भनेर भाषणको प्रारम्भ गर्नुभएको थियो । स्वास्थ्यका कारण बीपीको स्वर धेरै कमजोर भइसकेको रहेछ । आफ्नो मन्तव्यमा बीपीले ‘‘यो तनहुँ दमौली बजार मात्र नेपाल होइन, नेपाल भनेको त गाउँ हो, जहाँ दुई छाक खान नपाउने एकधरो लाउन नपाउने, असङ्ख्य जनता गाउँमा बसिरहेका छन् । गाउँबाट कुनै मानिस लाहुर जानु नपरोस्, मेरो यो कल्पना श्री ५ महेन्द्रसित राखेको थिएँ’’ भन्नुभएको थियो ।
सभामा नेताहरू गोवर्धन शर्मा पोखरेल, रामचन्द्र पौडेल, शैलजा आचार्य, गोविन्दराज जोशी, लक्ष्मी आचार्यलगायतले सम्बोधन गर्नुभएको थियो । बीपीको दमौलीको भाषण दूरगामी महत्व राख्ने खालको भएको नेताहरू बताउँछन् । बीपी असोज ६ गते राति दमौलीकै गेस्ट हाउसमा बास बस्नुभयो तर बहुदलविरोधी पक्षको सम्भावित अवरोध र आक्रमण हुन सक्ने भयले विद्यार्थी नेता लक्ष्मी आचार्य र तत्कालीन नेविसङ्घ जिल्ला अध्यक्ष तथा हाल प्रदेश सभा सदस्य अशोक श्रेष्ठको अगुवाइमा बीपी बसेको गेस्ट हाउसबाहिर विद्यार्थीले रातभर पहरा दिएका रहेछन् । भोलिपल्ट बिहान बीपी पोखरा पुग्नुभयो । असोज ८ गते बहुदल प्रचारप्रसार समितिको कार्यक्रममा स्याङ्जा पुग्दा बीपीमाथि अवरोध मात्रै भएन गोली नै चल्यो । गोलीबाट बीपी त बच्नुभयो तर तनहुँका रमेशचन्द्र हडखले र लमजुङका तारानाथ कोइरालालाई गोली लाग्यो । कार्यकर्ताले गोली खाए तर बीपीलाई बचाए । बीपीप्रति तनहुँका कार्यकर्ताको कति ठूलो आशा र भरोसा थियो भने बीपी बिरामी भएका बखत उपचारमा सहयोग पुगोस् भनेर जिल्लाका नेता कार्यकर्ताले स्वतस्फूर्त रूपमा पैसा सङ्कलन गरेका थिए । नेता गोवर्धन शर्मा पोखरेल र मोतीकुमार श्रेष्ठले बीपीलाई भेटेर नै उक्त रकम हस्तान्तरण गर्नुभएको श्रेष्ठ बताउनुहुन्छ ।
राजनीतिमा नेताहरू सङ्गठन निर्माणका क्रममा हिँड्दा कुन ठाउँमा बास बसे, कसको घरमा बसे भन्ने कुराले विशेष अर्थ राख्ने रहेछ । जहाँजहाँ नेताहरू पुगे त्यहाँ पार्टीको अवस्था सुदृढ हुने अवस्था अहिले पनि विद्यमान नै छ । बीपीले झन्डै सात दशकअघि घुमेका, रात बिताएका ती गाउँमा अहिले पनि बीपीको प्रभाव कायमै छ । बीपीका विचारप्रति उच्च आदर, सम्मान र श्रद्धा गर्ने गरिन्छ । बीपीले गाउँगाउँ घुमेको, बीपीका धेरै पाइला परेको तनहुँ क्षेत्र १ मा वैशाख १० गते उपनिर्वाचन हुने भएकाले पनि यतिबेला राजनीतिक चर्चा चुलिएको छ । आशा गरौँ, बीपीप्रतिको त्यो सम्मानको पक्कै आदर हुनेछ ।
लेखक गोरखापत्रका सहसम्पादक हुनुहुन्छ ।