बाबुराम शर्मा
दोलखा, वैशाख २ गते । दोलखाको भीमेश्वर नगरपालिका–२ मा पर्ने ऐतिहासिक सहर दोलखामा एकहप्ते रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न भएको छ । गत चैत २३ गते सुरु भएको यो जात्रा सहरका विभिन्न स्थानमा पु-याएर शुक्रबार सम्पन्न भएको हो।
करिब पाँच सय वर्षअघि सुरु भएको मानिएको यो जात्रा चैत २३ गते दूधमा स्नान गराएर सुरु भयो। दोस्रो दिन अर्थात् चैत २४ गते पिङ्गल टोलमा रहेको रथमा रातो मच्छिन्द्रनाथको मूर्ति राख्ने परम्परा छ। यसपछि मात्रै रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुन्छ।
स्थानीय जीवन श्रेष्ठका अनुसार यस पटक चैत २६ गते रथ नक्छेबाट श्यामसन्दुर टोलसम्म लगियो भने चैत २७ गते टँसिचा हुँदै २८ गते माथिल्लो टोलमा रथ तानेर पु-याइएको थियो। सो दिन उकालो बाटो भएका कारण विशेष महत्वका साथ लिइन्छ।
चैत २९ गते रथ माथिल्लो टोलबाट दुङ्गल पु¥याइयो भने चैत ३० गते दुङ्गलबाट पुनः पिङ्गलमा ल्याइयो। अन्तिम दिन पिङ्गलबाट डाकलुङ्गा टोलमा भित्र्याउने परम्परा छ। परम्परानुसार टोलटोलमा मच्छिन्द्रनाथ पुग्ने भएपछि स्थानीयले घरआँगनमा नै पूजा गर्ने गरेका छन्। जात्रा कहिले सुरु भयो भन्ने यकिन नभए पनि वि.सं. १६३८ मा नै मच्छिन्द्रनाथलाई (श्री आर्यवलोकेश्वर ) सुनको प्रभा चढाएको प्रमाण भने मूर्तिको प्रभा मण्डलमा कुँदिएको छ।
किंवदन्तीअनुसार राजा नरेन्द्रदेवको पालामा लामो समयसम्म वर्षा नभएर नेपाल राज्यमा खडेरी परेको थियो। किन यस्तो भयो भनी ज्योतिषीलाई देखाउँदा गोरखनाथ बाबा भिक्षाटन गर्दै आउँदा कसैले पनि भिक्षा नदिएको रिसले सम्पूर्ण नाग आफूमुनि राखी ध्यान गर्न बसेछन्। गोरखनाथलाई ध्यानबाट जगाउन गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई नेपाल ल्याउनुपर्ने आवश्यकता देखियो, त्यसैले राजा नरेन्द्रदेव, आचार्य वन्धुदत्त र ज्यापू ललित तीनै जना कामरूप आसाम (भारत) गए। त्यहाँ तान्त्रिक विधिबाट मच्छिन्द्रनाथलाई सम्पर्क गरी ललित ज्यापूले बोकेर उपत्यका ल्याई बुङ्मतीमा मन्दिर बनाइराखे। मच्छिन्द्रनाथ प्रवेश भएपछि दर्शन गर्न गोरखनाथले आसन छोडेपछि नाग मुक्त भए र वर्षा भयो। यसरी वर्षाकाल देवता मच्छिन्द्रनाथको पाटनमा पनि मन्दिर बन्यो र रथ यात्रा गर्न थालियो।
शैवहरूले वर्षाका देवता लोकनाथ करुणामय आदि लोकेश्वर बुद्ध धर्मावलम्बीले बोधिसत्व अवलोकितेश्वर भनी पूजाआजा गरिने ललितपुरको रातो मच्छिन्द्रनाथ दोलखामा राजा नन्ददेव सिंहले ने.सं. ६३९ वैशाख सुदी १७ गते शुक्लपक्ष त्रयोदशी सोमबार महागुरु देव वज्राचार्यद्वारा बोलिबन्द सानी कन्याबाट बुङ्गमतीको मच्छिन्द्रनाथलाई दोलखामा ल्याएर डोकलुङ्गा टोलमा निवास बनाई राखेर जात्रा आरम्भ गरेको ताम्रपत्रमा उल्लेख छ।
पछि दोलखाका राजा वासुदेवले मच्छिन्द्रनाथको रथ बनाउन लापिलाङका थामीलाई जग्गा गुठी राखिदिए। त्यहाँका थामीहरू हरेक साल दोलखा आई मच्छिन्द्रनाथको रथ बनाउन बाँस, चोया, डोरी र वनमालाले सजाउने व्यवस्थाका साथै रथका लागि पाङ्ग्रा, बीचको धर्मासी आदिको बन्दोबस्त गरिदिन्थे।