• १३ साउन २०८१, आइतबार

चार वर्षदेखि नाका नखुल्दा सुनसान बन्यो लप्ची

blog

बाबुराम शर्मा 

दोलखा, वैशाख २ गते । चीनसँग सीमा जोडिएको दोलखाको बिगु गाउँपालिका–१ को लप्चीमा रहेको सीमा नाका चार वर्षदेखि कोभिड महामारीको कारण देखाउँदै बन्द गरिएकाले सास्ती भोगिरहेका लप्चीवासीहरू धमाधम बसाइसराइ गर्न थालेका छन् ।

खाद्यान्नलगायत दैनिक रूपमा सामान ढुवानी गर्न कठिनाइ भएपछि यहाँका बासिन्दाहरू बसाइँ सर्न थालेका स्थानीय कर्मा शेर्पाले बताउनु भयो । उहाँका अनुसार कोभिड महामारीको कारण देखाउँदै चिनियाँ पक्षले सीमा बन्द गरेको चार वर्ष बित्नै लाग्यो । रसुवालगायतका अन्य नाका खुलाउँदा लप्ची नाका बन्द नै गरिरहँदा स्थानीयहरूको नियमित आर्थिक गतिविधि पनि प्रभावित बनेको  छ । 

नाका नखुल्दा लप्सीवासीको मुख्य आर्थिक स्रोत घ्यू र याकका बाच्छा तिब्बती बजार न्यालममा लगेर बेच्न नपाएको पनि चार वर्ष भइसक्यो । स्थानीय तेम्बा शेर्पाले भन्नुभयो, लाप्चावासीलाई नियमित आम्दानी नै गर्न मुस्किल भएपछि स्थानीयले घर छाड्न थालेका छन् । नाका नखुलेपछि जोखिम मोलेर खाद्यान्न लिन नेपालतर्फ दुई दिन पैदल हिँडेर लामा बगर झर्नु परेको छ ।

नाका खुल्दा लप्सीवासीको नजिकका बजार तिब्बततर्फको न्यालम, कुती र फलाक हुन् । कर्मा शेर्पाले  भन्नुभयो, न्यालम नटेकेको चार वर्ष भइसकेको छ । नाका बन्द हुँदा खाद्यान्न जोहो गर्न दुई दिन पैदल हिँडेर लामा बगर पुग्नुपर्छ । तर आर्थिक स्रोत नै बन्द भएपछि गाउँ छाड्नुको विकल्प छैन ।

चौँरी पाल्न पनि कठिन

सीमा बन्द भएकै कारण याक चौँरी चरण क्षेत्रको पनि कठिनाइ झेल्नु परेको छ । लप्चीवासीहरूले चीनतर्फका चरण क्षेत्रमा चौँरी चराएबापत पहिले ७५० ग्राम घ्यू चीन सरकारलाई बुझाउने गरेका थिए । सीमा बन्द भएसँगै हाल चरण क्षेत्र पनि बन्द रहेको छ ।

नेपालतर्फ भने पर्याप्त चरण क्षेत्र नभएकाले याक र चौँरी पाल्नै मुस्किल भएको छ । सीमा बन्द भएपछि लप्चीवासीले नेपालतर्फको लामा बगरबाट प्रतिकेजी एक सय रुपियाँ तिरेर खाद्यान्न ढुवानी गरिरहेको मेलारेप्पा गुम्बाका प्रमुख लामा चुन छिरिङ लामाले बताउनु भयो ।

सरकारले छिमेकी देशसँग आग्रह गरेर नाका खुलाइदिए लप्चीको सङ्कट टर्ने थियो । चुन छिरिङ शेर्पाले भन्नु भयो,आर्थिक सङ्कटका कारण गाउँ छाड्नेको सङ्ख्या बढ्दो छ । याक चौँरी जोगाउन पनि मुस्किल भइसक्यो । सीमा बन्दका कारण ४८ परिवारका १५० जना बसोबास गर्ने लप्चीमा पाँच सयभन्दा बढी याक चौँरीलाई दिने पिठो र नुन पनि जोहो गर्न कठिन भएको छ ।

ढुवानीका लागि कठिन भएपछि लप्चीवासीहरूलाई एक वर्षका लागि खाद्यान्न जोहो गर्नुपर्ने बाध्यता रहेको छ । सीमामा आउजाउ बन्द गरिएपछि प्रतिपरिवार चार सय केजी चामल ढुवानी गरेर लप्ची लानुपर्ने बाध्यता रहेको स्थानीय कर्मा वाईसर शेर्पाले दुखेसो पोख्दै भन्नु भयो,याक र चौँरीका लागि समेत गरी लप्चीका प्रतिपरिवारले २५ सय केजीसम्म खाद्यान्न ढुवानी गर्नुपर्छ ।

ढुवानीमा मात्र प्रतिपरिवार दुई लाखदेखि अडाइ लाख रुपियाँसम्म व्यहोर्नु पर्छ । चौँरी र याकका लागि पनि ढुटो पिठो लामा बगरबाटै लैजानुपर्ने बाध्यता छ । खर्कहरू हिउँले ढाक्ने भएकाले काटेर राखेको घाँसले नपुग्ने भन्दै याक र चौँरीका लागि ढुटो पिठो बोकेरै ढुवानी गर्नुपर्ने उहाँले बताउनु भयो ।

सीमा खुला भएको भए ३/४ महिनाका लागि मात्रै खाद्यान्न जोहो गर्दा हुन्थ्यो । उता याक र घोडाबाट खाद्यान्न लिएर आउँथ्यौ, तर नेपालतर्फ बाटो नहुँदा पैदलै ढुवानी गर्नुपर्ने बाध्यता रहेको कर्मा शेर्पाले भन्नु भयो, स्थानीयहरूले उत्पादन गरेको घ्यू र चौँरीका बाच्छा पनि बिक्री गर्न पाएका छैनन् । आम्दानीको मुख्य स्रोत मानिएको घ्यू र चौँरीका बाच्छा नै चार वर्षदेखि बेच्न पाइएको छैन । यहाँको आर्थिक पाटो नै यही हो, तर सीमा नखुल्दा लप्चीका बासिन्दाले जम्मा गरेको तीन हजारदेखि ३५ सय केजी घ्यू घरमै थन्किएको छ ।