• १३ साउन २०८१, आइतबार

प्युठानका मल्लरानी र सरुमारानीको बेरुजु शून्य

blog

सुजल श्रेष्ठ 
प्युठान, वैशाख १ गते । जिल्लाका दुई वटा पालिकाको बेरुजु शून्य भएको छ । मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकाको आर्थिक वर्ष २०७८-०७९ को बेरुजु शून्य आएको हो । महालेखा परीक्षकको ६० औँ प्रतिवेदन अनुसार देशभरमा प्युठानका दुई वटा पालिका मात्र शून्य बेरुजु हुने पालिकामा परेका छन् । दुवै पालिकाको आर्थिक वर्ष २०७६-०७७, २०७७-०७८ र २०७८-०७९ को बेरुजु शून्य रहेको छ ।
तीन वर्षदेखि निरन्तर बेरुजु शून्य हुँदा खुसी थपेको सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । “प्युठानकै दुई वटा पालिका बेरुजु शून्य भएको खवरले खुसी छौँ,” अध्यक्ष विश्वकर्माले भन्नुभयो,“इज्जतकै कुरा हो लगातार तीन वर्ष देखी बेरुजु शून्य नै छ ।” आर्थिक अनुशासनमा रहेर काम गर्दा बेरुजु शून्य बनाउन सकिन्छ भन्ने उदाहरण समेत भएको उहाँको भनाई छ । “शून्य नै नहुने भन्ने हुँदो रहेनछ,”, विश्वकर्माले भन्नुभयो,“यसले अरू स्थानीय तहमा पनि सकारात्मक सञ्चार भयो होला ।” पालिकाका कर्मचारी, जनप्रतिनिधि, उपभोक्ता समिति, निर्माण व्यवसायी सवैका लागि गौरव र खुसीको कुरा भएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
मल्लरानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश के।सी।ले आर्थिक कारोबारका निम्ति गरिने सम्पूर्ण प्रक्रियाहरू पुरा गरेका कारण पालिकाको बेरुजु शून्य भएको बताउनुभयो । उहाँले आगामी दिनमा पालिकाको बेरुजु शून्य कायम राख्न प्रयास गर्ने समेत बताउनुभयो । पालिकाको शून्य बेरुजुले गर्दा काम गर्न समेत हौसला मिलेको उहाँको भनाई छ ।