राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार देशमा १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना मानिस विदेशिएका छन् । त्यसमध्ये ८२.२ प्रतिशत पुरुष छन् भने १७.८ प्रतिशत महिला । पछिल्लो आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ५६ लाख ६२ हजार नाघिसकेको छ । जसमा पुरुष ५३ लाख ४८ हजार र महिला ३ लाख १६ हजार छन् । सरकारले हालसम्म व्यक्तिगत रूपमा १७८ र संस्थागत रूपमा ११० मुलुकलाई वैदेशिक रोजगारीका लागि खुला गरेको छ । पछिल्लो चार वर्षमा नेपाली श्रमिक रोजगारीका लागि १५० देशमा गएको तथ्याङ्क छ । यसले श्रम आप्रवासन नेपालको आर्थिक र सामाजिक परिदृश्यको एक महìवपूर्ण पाटोको रूपमा स्थापित भइसकेको प्रस्ट हुन्छ । मुलुकको कुल गार्हस्थ उत्पादन अनुपातको २२.५ प्रतिशत हिस्सा ओगट्ने विप्रेषण आय अर्थतन्त्रको मेरुदण्डकै रूपमा रहेको छ । हरेक दिन रोजगारीको खोजीमा विदेशिने एक हजार ५०० नेपालीले विदेशमा बगाएको रगत पसिनाले देशको अर्थतन्त्र धानिएको छ । देशको आन्तरिक उत्पादन तथा आर्थिक क्रियाकलापमा छाएको मन्दीका कारण जर्जर बनेको मुलुकको अर्थतन्त्रलाई हालसम्म विप्रेषणले नै टाट पल्टिनबाट जोगाइरहेको छ ।
नेपालमा निरपेक्ष गरिबीमा पछिल्ला दशकमा आएको तीव्र तथ्याङ्कीय गिरावटको श्रेय रेमिट्यान्सलाई नै जान्छ र रेमिट्यान्सले धेरै ग्रामीण गरिब घरपरिवारको आयस्तर तथा जीवनशैलीमा सकारात्मक प्रभाव ल्याएको तथ्यलाई नजरअन्दाज गर्न सकिन्न । वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण, नेपाली जनशक्तिले विदेशमा आर्जन सीप र विश्व परिवेश बुझ्ने अवसरका अतिरिक्त यसले नेपाली अर्थव्यवस्थामा पु¥याएका सकारात्मक योगदान महत्वपूर्ण छन् । विदेशिएको सदस्यले कमाएर पठाएको रकमले गरिब घर परिवारको आर्थिक हैसियत उकासिएको, गाँस, बास र कपासको राम्रो प्रबन्ध गर्न सकेको, स्वास्थ्य सुविधा तथा सामाजिक हैसियतमा वृद्धि हुनुका साथै बालबालिकाले राम्रो शिक्षादीक्षाको अवसर पाउने क्रम बढेको कुरालाई नकारियो भने त्यो एकाङ्की तथा पूर्वाग्रही विश्लेषण हुन जान्छ । श्रम आप्रवासी केन्द्रित रेमिट्यान्समा अत्यधिक निर्भरताका कारण हाम्रा अभिभावक, सन्तान, समाज, अर्थतन्त्र तथा समग्र देशले चुकाउनु सामाजिक तथा मानवीय मूल्यको समेत समुचित लेखाजोखा हुनु आवश्यक छ ।
देशभित्र आफ्नो श्रम बेच्ने तथा प्रतिभा उपयोग गर्ने अवसर नपाएर खाडीलगायतका विभिन्न देशमा जोखिमपूर्ण श्रममा जोतिन बाध्य नेपाली युवाले विदेशी भूमिमा ज्यान गुमाइरहने दरमा कमी आउन सकेको छैन । धन कमाएर परिवारको आर्थिक अवस्था समुन्नत बनाउने तथा बच्चाबच्चीलाई राम्रो शिक्षा दिएर ठूलो मान्छे बनाउने सपना बोकेर विदेश हानिएका सयौँ नेपाली बर्र्सेनि बाकसमा बन्द भएर फर्किन्छन् । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०।७१ यता वैदेशिक रोजगारीका क्रममा आठ हजार १ सय भन्दा धेरै नेपालीको मृत्यु भइसकेको छ । तथ्याङ्कले हरेक दिन औसतमा ३ भन्दा बढी नेपालीको वैदेशिक रोजगार गन्तव्य मुलुकमा मृत्यु हुने गरेको देखाएको छ ।
नेपालको बढ्दो श्रम आप्रवासन अर्थात् वैदेशिक रोजगारीले मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा गहन असर पार्न थालेको छ । एकातिर नेपालले अहिले जनसाङ्खिकीय लाभ लिनुपर्ने बेला ऊर्जाशील र उत्पादनशील उमेर समूहका युवाले विदेशमा आफ्ना ऊर्जा, श्रम र समय खर्चिरहेका छन् भने अर्कोतिर नेपालको श्रम बजारमा श्रमिकको अभाव देखिएको छ । वैदेशिक रोजगारीले नेपालकोे सामाजिक संरचना तथा सामाजिक सम्बन्धमा गहिरो असर पारिरहेको छ । गाउँहरू युवाविहीन बनेका छन् । गाह्रो साह्रो पर्दा, बिरामी अस्पताल पु¥याउँदा तथा शव उठाउने मान्छेको अभाव छ । केही दशक अघिसम्म सम्बन्ध विच्छेदका घटना निकै दुर्लभ हुन्थे नेपाली समाजमा । सम्बन्ध विच्छेदका अधिकांश मुद्दामा वादी वा प्रतिवादीमध्ये कम्तीमा एक जना वैदेशिक रोजगारीमा संलग्न रहेका व्यक्ति हुने गरेको तथ्याङ्कले पनि वैदेशिक रोजगारीले कति डरलाग्दो गरी पारिवारिक विखण्डन निम्त्याइरहेको छ ? यस्तो पारिवारिक विखण्डनको सबैभन्दा चर्को मूल्य चुकाउनेमा बुढा बाउआमा तथा ससाना छोराछोरी हुने गरेका छन् । पारिवारिक विखण्डन तथा अपुरोपन, बालबालिकाले अभिभावकबाट पाउनुपर्ने वात्सल्यबाट वञ्चित, उनीहरूको उचित र व्यवस्थित लालनपालन, शिक्षा, स्वास्थ्यमा कमी, रेखदेखमा कमी, परिवारका सदस्यमा देखिने संवेदनशील मनोसामाजिक असर आदि रहेका छन् ।
वैदेशिक रोजगारीले नागरिकको आर्थिक हैसियत उकास्न सहयोग गरे पनि गम्भीर पारिवारिक तथा सांस्कृतिक विचलन ल्याएको छ । गाउँमा समेत संयुक्त परिवार पाउन मुस्किल हुन थालेको छ । युवक वैदेशिक रोजगारीमा हिँडेपछि श्रीमती तथा छोराछोरी सहर पस्ने चलन छ । सहरमा बच्चाबच्ची स्कुल जान थालेपछि एक्लोपनले सताएका महिला गलत सङ्गतमा फस्ने गरेका घटना पनि पाइन्छन् । प्रहरीका अनुसार श्रीमान् विदेशमा भएका धेरै महिला साइबर अपराधसम्बन्धी उजुरी लिएर प्रहरीकहाँ पुग्ने गरेका छन् । वैदेशिक रोजगारीले ल्याएको पारिवारिक विग्रहमा महिला मात्र दोषी नभएको र श्रीमती विदेश जाँदा श्रीमान्ले पनि नेपालमा अर्कैसँग सम्बन्ध राख्ने प्रवृत्ति देखिएको छ ।
परिमाणमा पुरुषको वैदेशिक रोजगारीको दर तथा त्यसको सामाजिक असरका घटना बढी पाइन्छन् । परिमाणमा कम भए पनि महिलाको वैदेशिक रोजगारीका सामाजिक असरको गहनता बढी हुन्छ । श्रम स्वीकृति लिएर हालसम्म झन्डै तीन लाखको सङ्ख्यामा महिला वैदेशिक रोजगारीमा गएको तथ्याङ्क भए पनि त्योभन्दा ठूलो सङ्ख्यामा नेपाली महिला खाडी तथा विश्वका विभिन्न देशमा वैदेशिक रोजगारीमा गएको पाइन्छ । अवैध बाटो अपनाउँदै गन्तव्य मुलुकसम्म पुगेका हुँदा उनीहरूले पाउने दुःख कष्ट पनि बढी नै छ । घरेलु कामदारका रूपमा गएका धेरै महिला अपाङ्गता तथा गर्भसहित फर्किने र त्यस्ता महिलालाई घरपरिवारले अस्वीकार गर्ने र समाजमा पुनस्र्थापित हुन गाह्रो हुने घटनासमेत देखिएका छन् । वैदेशिक रोजगारीबाट फर्केका महिलालाई समाजले हेर्ने नजर नै नकारात्मक छ । उनीहरूमाथि सामाजिक आक्षेप लाग्ने तथा आत्मसम्मानमा ठेस पुग्ने गरेको छ । सरकारले घरेलु कामदारमा जाने महिलाका लागि कहिले उमेर तोक्ने, कहिले प्रतिबन्ध लगाउने र कहिले फुकुवा गर्नेजस्तो लुकामारी गर्ने गरेको छ । घरेलु कामदारमा विदेश जाने महिलाका लागि अहिले सरकारले ल्याएको निर्देशिकामा सानो बच्चा भएको महिलालाई विदेश जान नदिने नियम बनाइएको छ । यो महिला अधिकारको विरुद्धमा छ । सरकारले यस्ता अनेकथरी नियम बनाउनुको अन्तर्य घरेलु कामदारका लागि गन्तव्य मुलुकमा सुरक्षा तथा सहजता छैन भन्ने कुरालाई सरकारले स्वीकार्नु हो । यस्तो थाहा हुँदाहुँदै पनि सरकारले महिलाका लागि वैदेशिक रोजगारीलाई सुरक्षित र सम्मानपूर्ण बनाउन ठोस कदम चाल्न सकेको छैन ।
वैदेशिक रोजगारीमा जाने सङ्ख्या तथा गन्तव्यमा वृद्धिसँगै नेपालमा भित्रिने विप्रेषणको रकम पनि बढिरहेको छ । यो सँगै नेपालीहरूको उपभोगवादी संस्कार बढेको छ, परिवारको फजुल खर्च बढिरहेको छ, विदेशी चिजवस्तुको आयात बढिरहेको छ र विदेशबाट युवाले कमाएर पठाएको रकम उत्पादनशील कार्यमा प्रयोग हुन सकेको छैन । युवा पलायनसँगै कृषि मजदुरकोे अभाव हुँदा गाउँका धेरै खेतबारी बाँझा भएका छन् र कृषि उत्पादन घट्दा परनिर्भता बढिरहेको छ । गाउँमा उद्यमशीलता गुम्दै गएको छ । कमाएर नेपाल पठाएको पैसामा विदेशमा दुःख गर्नेको नियन्त्रण छैन, जसका कारण विदेशिने युवाशक्तिको जीवनस्तरमा दीर्घकालमा ताìिवक सुधारको अपेक्षा गर्न सकिँदैन । बुवा, आमा वा दुवै विदेशिँदा घरमा रहेका छोराछोरीले संरक्षकत्व पाउँदैनन् । महिला वैदेशिक रोजगारीमा जाँदा बालबालिका तथा किशोरी सानै उमेरदेखि घरायासी काम धन्दामा लाग्नुपर्ने र शिक्षादीक्षा तथा समूचिक शारीरिक, संवेगात्मक र बौद्धिक विकासमा बाधा पुग्छ ।
यसरी वैदेशिक रोजगारीले अर्थतन्त्रलाई भरथेग गरिरहेको र चरम गरिबी घटाउन तात्कालिक रूपमा योगदान पु¥याइरहेको भए पनि यसका गम्भीर सामाजिक तथा मानवीय असर देखा परिरहेका छन् र पर्नेवाला छन् । । देशमा रहेका वर्ष श्रम बजारमा प्रवेश गर्ने साढे चार लाख युवा जनशक्तिमध्ये साढे तीन लाखले देशभित्र रोजगारी पाउन नसकेपछि विदेशिन बाध्य भएको अवस्थामा ब्रेन ड्रेन र मसल ड्रेनको यस्तो विकराल अवस्था वास्तवमै देशको दीर्घकालीन आर्थिक तथा सामाजिक समुन्नतिका लागि ठूलो चुनौती हो । लाखौँ युवाशक्ति पलायनका कारण परिवार, समाज तथा राष्ट्रले चुकाइरहेको मूल्यलाई तत्कालका लागि अर्बौंको मात्रामा भित्रिरहेको विप्रेषणले ढाकछोप गरिरहेको छ । वैदेशिक रोजगारीका सामाजिक जोखिमलाई ध्यान नदिएर युवालाई विदेश धपाइरहने हो भने यसले कालान्तरमा हाम्रो सामाजिक मूल्य, सामाजिक संरचना तथा सामाजिक सम्बन्धलाई विघटन गर्ने जोखिम छ ।
लेखक महिला तथा सामाजिक मुद्दाबारे जानकार हुनुहुन्छ ।