नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, चैत २९ गते । कोभिड–१९ को महामारीपछि बाँकेको नेपालगञ्जका चलचित्र भवनमा पुगेर चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढ्दो छ। नेपालगञ्जस्थित बागेश्वरी क्युएफएक्स चलचित्र भवनमा ४० दिनदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ यो वर्ष बाँके जिल्लामा सबैभन्दा धेरै हेरिएको र धेरै व्यापार गर्ने चलचित्र बन्न पुगेको छ।
बागेश्वरी क्युएफएक्स चलचित्र भवनका प्रबन्धक सञ्जीव शाक्यले चलचित्र बाँके र बर्दियाका २५ हजारभन्दा बढी दर्शकले हेरेको र हालसम्म ६७ लाख रुपियाँभन्दा बढीको व्यापार गरेको दाबी गर्नुभयो। छैटौँ हप्तामा पनि उल्लेखीय रूपमा दर्शकहरूको साथ पाइरहँदा आफूहरू उत्साहित बनेको प्रबन्धक शाक्य बताउनुहुन्छ।
नेपालगञ्जमा यसै वर्ष प्रदर्शनमा आएको दक्षिण भारतको चलचित्र ‘केजीएफ च्याप्टर टु’ले करिब ६५ लाख र नेपाली चलचित्र ‘कबड्डी ४’ ले करिब ६० लाखको व्यापार गरेको प्रबन्धक शाक्यले भनाइ छ। राम्रो चलचित्र निर्माण भएर बजारमा आउने हो भने अझै पनि दर्शकको ठूलो सङ्ख्या चलचित्र भवनसम्म पुग्ने विश्वास शाक्यको छ।