• १७ असार २०८१, सोमबार

आर्मीलाई हक्की उपाधि

blog

उपाधि विजेता आर्मीका खेलाडी । तस्बिर : हक्की संघ

काठमाडौं, चैत २८ गते । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

विराटनगरमा सोमबार राति भएको फाइनल खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले हरायो । साबिक विजेता आर्मीले उद्घाटन खेलमा समेत पुलिसलाई पराजित गरेको थियो । आर्मीको जितमा काशीराज राईले निर्णायक गोल गर्नुभयो । आर्मीका नितिज न्यौपाने म्यान अफ दि म्याच हुनुभयो । 

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसका हरिदत्त पाण्डे, इमर्सिङ प्लेयर सुदूरपश्चिम प्रदेशका महेश नेपाली, सर्वाधिक गोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट डिफेन्डर पुलिसका योगेश बारघरे र सर्वोत्कृष्ट खेलाडी आर्मीका नितिश न्यौपाने हुनुभयो ।

उपाधिसँगै आर्मीले ७५ हजार रुपियाँ पुरस्कार पायो । उपविजेता नेपाल पुलिसले ४१ हजार र तेस्रो भएको सुदूरपश्चिम प्रदेशले २५ हजार रुपियाँ पुरस्कार पायो । प्रतियोगितामा आर्मी, पुलिस, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो । 

विजेतालाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, हक्की सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मा, नेपाली काँग्रेसकी केन्द्रीय सदस्यता डा. डिला सङ्ग्रौला, प्रतियोगिताका संयोजक रञ्जन थापा, नेपाल हक्की सङ्घ मोरङका अध्यक्ष राजेश गुप्ता, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँलगायतले पुरस्कार प्रदान गर्नुभयो ।