• १३ असोज २०८१, आइतबार

जङ्गलमा लागेको आगोले बस्ती जोखिममा

blog

डढेलोले जोखिममा परेको दोखुको ल्याङ्बा पुछारको बस्ती । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २७ गते ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा जङ्गलमा लागेको आगोले बस्ती जोखिममा परेको छ । फुङ्लिङ नगरपालिका–८ दोखुको धुसेनी जङ्गलमा लागेको आगोका कारण दोखुकै ल्याङ्बा टोलको पुछार बस्ती जोखिममा परेको हो ।

शनिबार बेलुकीदेखि धुसेनी जङ्गलबाट सुरु आगो तीन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । दोखु मेवाराजाका स्थानीय हरिप्रसाद नेपालका अनुसार धुसेनीबाट सुरु भएको आगो सोमबार बिहान ल्याङ्बा पुछार असारे भीरसम्म आइपुगेको छ । असरे जङ्गल (भीर) मा फैलिएको डढेलोले ल्याङ्बा पुछारको बस्ती उच्च जोखिममा परेको नेपालले बताउनुभयो ।

उहाँका अनुसार डढेलो कटाउन (अग्निरेखा लगाउन) लाई ढिलो भएकाले बस्ती जोखिममा परेको हो । ल्याङ्बा पुछारको असारे भीरमा पुगेको आगो नियन्त्रणमा नआएमा दोखुको सालिम्मे, बेजम्बु लगायतको क्षेत्रमा फैलनसक्ने सम्भावना रहेको नेपालले बताउनुभयो । सालिम्मे र बेजम्बु क्षेत्रको भीरमा डढेलो फैलिएमा त्यस क्षेत्रको बस्तीसमेत जोखिममा पर्ने उहाँको भनाइ छ ।

धुसेनी वनमा डढेलो सुरु भएको दिन शनिबार बेलुका भने फुङ्लिङ नगरपालिकाको बारुण यन्त्र (दमकल)सहित प्रहरी, स्थानीयबासी लगायतले आगो नियन्त्रणको प्रयास गरेका थिए । उक्त प्रयासका कारण धुसेनी वनमा पर्ने मेची राजमार्ग माथिको जङ्गलमा भने आगो फैलनबाट रोकिएको छ ।

यसवर्ष हिउँद मौसमभर पानी नपरी लामो खडेरी लागेका कारण डढेलोका घटना वृद्धि भएको पाइएको छ । यसअघि फुङ्लिङ नगरपालिकाकै तोक्मेडाँडा सामुदायिक वन, मिक्वाखोला गाउँपालिकाको खोक्लिङ, पापुङ, सिरिजङ्घा गाउँपालिकाको मामाङ्खे, सिदिङ्वा गाउँपालिकाको साब्लाखुलगायत क्षेत्रका वन जङ्गलमा आगलागी भएका छन् ।

यता कति सङ्ख्यामा र हेक्टर क्षेत्रफलमा डढेलोले क्षति गर्‍यो भन्ने तथ्याङ्क सङ्कलन भई नसकेको डिभिजन वन कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् सहायक वन अधिकृत ललितकुमार यादवले बताउनुभयो । यो वर्ष केही सामुदायिक र अधिकांश राष्ट्रिय वनमा आगलागीका घटना हुँदै आएको सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो ।