काठमाडौँ, पुस ५ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको नेपालको राष्ट्रिय आवश्यकता निर्वाचन भएको बताउनु भएको छ ।
शनिबार काठमाडौँमा आयोजित एकता सभालाई सम्बोधन गर्नुहुँदै प्रचण्डले भन्नुभयो, ‘निर्वाचन अहिले नेपालको राष्ट्रिय आवश्यकता बनेको छ । अब निर्वाचनको विकल्प छैन ।’
उहाँले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सफल पार्न एकजुट हुनुपर्नेमा जोड दिनु भएको छ । अब अरु विकल्पमा जाँदा जोखिम हुने भन्दै उहाँले निर्वाचनको विकल्पमा जानुको विकल्प नभएकोमा उहाँको जोड छ ।
उहाँले निर्वाचनको मिति सार्ने काम सरकारले गर्नु नहुनेमा समेत जोड दिनुभयो । सरकारले निर्वाचनको मिति सार्ने काम गरेमा संविधान मिचिने उहाँले दाबी गर्नुभयो । उहाँले शान्तिपूर्ण रूपले निर्वाचन सम्पन्न होस् भन्ने कामना गर्नुभयो । प्रचण्डले नेकपाको शक्तिलाई जिस्क्याउने काम नगर्न चेतावनीसमेत दिनुभयो ।
उहाँले जेनजीको अभिभावक नेकपा भएको भन्दै जेनजीका प्रतिनिधि हामी हौँ भनेर स्टन्ट नगर्नसमेत चेतावनी दिनु भएको छ ।

‘अहिले जेनजी युवाका प्रतिनिधि हौँ भनेर स्टन्ट गर्ने धेरै देखिएका छन् । जेनजी युवा भनेको एउटा उमेर समूह हो । त्यो कुनै संस्था, विचार र सङ्गठन होइन । जेनजी यत्रतत्र जतासुकै छन् । जेनजी हाम्रो पेवा भन्ने ठानेको छ भने त्यो भ्रम त्यागे हुन्छ । नेपाली कम्युनिस्ट पार्टीले जसले भ्रष्टाचारविरुद्ध, सुशासनका लागि लडाइँ लडेको छ । हामी नै जेनजी पुस्ताका सही प्रतिनिधि हौँ । कसैले स्टन्ट नगरे हुन्छ । जेनजीको असली अभिभावक नेकपा हो । ’
उहाँले स्टन्टवाजको पछाडि नलाग्न मिडियालाईसमेत अनुरोध गर्नुभएको छ । जनयुद्ध र जनआन्दोलनमा रगत बगाउने महान सहिदलाई मिडियाले अपमान गर्नु नहुने उहाँले प्रष्ट पार्नुभयो । उहाँले सहिदको अपमान गर्ने काम बन्द गर्नसमेत चेतावनी दिनुभएको छ ।
