• १० पुस २०८१, बुधबार

मुगुवासीलाई आधुनिक चुल्हो

blog

छायानाथ रारा नगरपालिका र सहास नेपालको आर्थिक सहयोगमा आधुनिक चुलो स्थानीयलाई वितरण गर्दै । तस्बिर: हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, चैत २७ गते । जिल्लाको छायानाथ रारा नगरपालिकाका २ , ३ र ५ नं. वडाका अति विपन्न र ज्येष्ठ नागरिकले आधुनिक चुलो पाएका छन् । उनीहरूलाई नगरपालिका र सहयोगी हातहरूको समूह (सहास नेपाल) ले ११५ परिवारलाई आधुनिक चुलो वितरण गरेका हुन् ।

परम्परागतको चुलोले विपन्न परिवारका सदस्यलाई स्वास्थ्यमा असर पारेकोले स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले विपन्न परिवारलाई चुलो वितरण गरेको बताइएको  छ ।

छायानाथ रारा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष परेगराज चौलागाइँले नगरका ज्येष्ठ नागरिक, एकल महिला र अन्य दलित महिलाको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले धुवाँरहित चुलोको वितरण गरिएको बताउनुभयो ।

छायानाथ रारा नगरपालिकाको ३ लाख रुपियाँ र सहास नेपालको आर्थिक सहयोगमा ५ लाख ५५ हजार रुपियाँ गरी कुल ८ लाख ५५ हजारको लागतमा धुवाँरहित चुलो सहयोग गरिएको हो ।

छायानाथ रारा नगरपालिका वडा नं. २ का स्थानीय धनलाल तिरुवाले परम्परागत तरिकाको चुलोबाट खाना पकाउँदा हामी दमरोगीका बिरामीलाई स्वास्थ्यमा सारै असहज हुने गरेकोमा अहिले सहज भएको बताउनुभयो । 

स्थानीय दामुकला तिरुवा आधुनिक चुलोबाट खाना पकाउँदा घरभित्रको वातावरण नै सफा देखिएको बताउनुभयो । ‘पूरै घर नै धुवाँले स्वास्थ्यमा असर पर्ने देखि, घरको कपडा, भाँडाकुँडा सबै  बिग्रन्थे, अहिले सफा देखिन थालेका छन्, यसले कामको भार कम गराएको छ,’ उहाँले भन्नुभयो ।

सहास नेपालका परियाेजना अधिकृत राजकुमार थापाले नगरपालिकाको वाड नं. २, ३ र ५ को अल्फा करेसाबारी कृषक समूहका ६६ वटा घरधुरी त्यसैगरी तलितुम हिमाली कृषक समूहमा २६ घरधुरी र हातेमालो महिला समूहमा २३ गरी कुल ११५ वटा घरधुरीलाई आधुनिक चुलो वितरण गरिएको बताउनुभयो ।