काठमाडौँ, चैत २७ गते । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको शिशुको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गरिदिन परिपत्र गरेको छ। विभागका महानिर्देशक एवं केन्द्रीय पञ्जिकाधिकारी रुद्रप्रसाद पण्डितले देशभरिका छ हजार ७४३ वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई परिपत्रमार्फत जन्म दर्ताका सन्दर्भमा उठेका द्विविधा प्रस्ट पार्नुभएको हो।
उहाँले भन्नुभएको छ, “विवाहअघि शिशु जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने। यदि शिशु मावलीमा बसेको भए सोही ठेगानामा जन्म दर्ता गरिदिने।”