नेपालमा सरकार तथा अन्तर्राष्ट्रिय समन्वयकारी प्रयासका कारण मातृ मृत्युदरमा निकै कमी आएको छ । राष्ट्रिय जनगणना २०७८ का क्रममा गरिएको दोहोरो अध्ययनबाट मातृ मृत्युदरको वास्तविक स्वरूप पत्ता लगाइएको हो । यसअघि जनगणनाले मातृ मृत्युदर उच्च तथा सम्बद्ध संस्थाका सर्वेक्षणले कम देखाउने गर्थे । अहिले जनगणनाले देखाएको तथ्याङ्क विश्लेषण गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खटाएका स्वास्थ्यकर्मी टोलीले नमुना छनोटका आधारमा गरेको सर्वेक्षणले त्यस्तो दोहोरो तथ्याङ्कको अन्योल हटाएको छ । नयाँ तथ्याङ्कअनुसार मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा १५१ जना रहेको छ । २०६८ को जनगणनाले प्रति एक लाख महिलामध्ये चार सय जनाको मृत्यु गर्भावस्था सम्बन्धित देखाएको थियो ।
गर्भवती भएको दिनदेखि प्रसूतिको ४२ दिनभित्र कुनै महिलाको मृत्यु हुन्छ भने त्यसलाई मातृ मृत्यु मानिन्छ । यस्तो मृत्यु नियन्त्रण गर्न नेपाल सरकार, अन्तर्राष्ट्रिय गैरसरकारी तथा राष्ट्रिय गैरसरकारी संस्थाले गरेका प्रयासस्वरूप दुई दशकयता मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा उल्लेख्य प्रगति हासिल भएको छ । तथापि पछिल्लो तथ्याङ्कले पनि मातृ मृत्युदर उच्च नै रहेको देखाएको छ । मुलुकले तय गरेको दिगो विकासको लक्ष्य भेट्न मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा ७० जनाभन्दा कम गर्नुपर्छ । यसका लागि अझै प्रशस्त चुनौती सामना गर्नु छ ।
सरकारले आमा सुरक्षा तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम चलाएको छ । आधारभूत मातृ शिशु स्याहार र पूर्ण खोप कार्यक्रममार्फत बाल र मातृ मृत्युदर न्यूनीकरण गर्न युनिसेफ कार्यरत छ । नेपालले मातृ स्वास्थ्य सुधारमा गरेको प्रगतिका आधारमा सहश्राब्दी विकास लक्ष्य पदक पाएको छ । बाल मृत्युदर न्यूनीकरणमा सफल सात देशमध्ये नेपाल पनि एक बनेको छ । दिगो विकास लक्ष्यसँगै मातृ मृत्यु न्यूनीकरण मार्गचित्र (रोडम्याप) २०३० बनाइएको छ । यस्ता कार्यक्रमका आधारमा गाउँगाउँमा स्वास्थ्य स्वयंसेविका खटिएका छन् । नियमित गर्भ परीक्षण र स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रेरणा दिइएको छ । यस्तै प्रयासले मातृ मृत्युदर घटेको भए पनि दिगो विकास लक्ष्यअनुसार यो समस्या न्यूनीकरण अझै जटिल छ ।
मातृ मृत्युदरका कारक तत्त्वमा गैरप्रसूतिजन्य जटिलता, उच्च रक्तचाप, उच्च रक्तश्राव, गर्भावस्थासम्बन्धी सङ्क्रमण, शल्यक्रियाका बेला एनेस्थेसिया व्यवस्थापनमा समस्या मूल छन् । यस्तै भौगोलिक जटिलता, स्वास्थ्य संस्था र सेवामा पहँुच नहुनु,, कम उमेरमा विवाह र बच्चा हुनु, छिटो छिटो गर्भवती हुनु, नियमित स्वास्थ्य परीक्षण नगर्नु, विपन्नता, खानपिनको अभाव वा ध्यान नपु¥याउनुजस्ता कारण पनि मातृ मृत्युका कारण छन् । धनीकोे तुलनामा गरिबीमा रहेका र कलिला आमाको मृत्युदर अझै उच्च छ । गर्भवती र प्रसवका बेला स्वास्थ्य संस्थामा पुग्नुपर्छ भन्ने चेतनाको अझै अभाव छ । स्वास्थ्य संस्थामै पुगेका आमाहरूकै मृत्यु (५७ प्रतिशत), सुत्केरी अवस्थामा ६१ प्रतिशत र गर्भावस्थामा ३३ प्रतिशतको मृत्यु हुने गरेको छ । यसले हाम्रा स्वास्थ्य सम्बद्ध जनशक्ति र उपकरणको प्रयोगमा कमजोरी रहेको देखाउँछ ।
मातृ मृत्युका यस्ता कारण सम्बोधन गर्नै नसकिने होइनन् । २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने, नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामा प्रसूति गराउने, परिवार व्यवस्थापनका साधन प्रयोग गर्नेजस्ता व्यवहारले मृत्युदरमा कमी आएको यहाँ स्मरणीय छ । योसँगै राज्यका तर्फबाट गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्थानीय तहमा पनि बजेट र योजना निर्माण, तिनको प्रभावकारितामा जोड दिइनुपर्छ । स्वास्थ्य सेवामा वृद्धि गरिनुपर्छ । आमा र शिशुलाई हानि पु¥याउने कुरीति हटाउन सकारात्मक उपाय प्रवद्र्धन गरिनुपर्छ । अध्ययनले देखाएका तथ्यका आधारमा मातृ मृत्युका कारणको सम्बोधन गर्न सरकारलाई सहज भएको छ । आगामी नीति, कार्यक्रम र बजेट यसतर्फ लक्षित हुनु आवश्यक छ । अध्ययनले प्रदेशगत अवस्था पनि देखाएको छ । सोबमोजिम आवश्यकताका आधारमा बजेट, कार्यक्रम विनियोजन गरिनुपर्छ । खासगरी गरिबी हटाउन, स्वास्थ्य चेतना बढाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको समन्वयात्मक कार्य आवश्यक छ । विगत दुई दशकमा प्राप्त सफलताको अनुभवका आधारमा सकारात्मक पहल अगाडि बढाउँदा नेपाली आमाहरूले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुन सक्छ ।