• १३ असोज २०८१, आइतबार

विद्युत् आपूर्ति नहुँदा लाखौँको नोक्सानी

blog

कोकिला ढकाल 

इलाम, चैत २४ गते । यही चैत १७ गतेदेखि यो वर्षको चियाको पहिलो प्रशोधन थालेको जसबिरे चिया उद्योगमा पहिलो पटकको चिया नै नष्ट भयो। दुई दिनसम्म उद्योगमा विद्युत् आपूर्ति बन्द हुँदा पहिलो टिपाइको चिया प्रशोधन हुनै सकेन। विशेष गरी चीन निर्यात गर्न प्रशोधन थालिएको चिया बिग्रिएपछि त्यसको प्रत्यक्ष नोक्सान उद्योगलाई प-यो।  

चैतको दोस्रो सातामै प्रशोधन सुरु गरेका इलाम माईपोखरी क्षेत्रका करिब १२ उद्योगले जसबिरे चिया उद्योगकै जस्तो अवस्था बेहोर्नु प-यो। गोल्डन पल र गोल्डन टी का लागि थालिएको चिया प्रशोधन विद्युत्का कारण त्यस किसिमको ‘स्पेसल टी’ बन्न सकेन। दुई पात एक सुइरोको मात्र तयारी चिया बनाउने हरियो पत्ती नष्ट हुँदा पहिलो गाँसमै ढुङ्गा लागेजस्तो भएको जसबिरे टी प्रोसेसिङ प्रालिका सञ्चालक शरद सुब्बाले बताउनुभयो। 

“विद्युत् नहुँदा गुणस्तरको चिया बनाउन सकिँदैन। त्यसैले यो क्षेत्रमा विद्युत् नियमित गरिदिन विद्युत् प्राधिकरण इलामलाई पटक–पटक आग्रह ग-यौँ। प्राधिकरणले समस्या समाधान गरिदिएन,” सुब्बाले भन्नुभयो, “यो वर्षको चैत १७ गतेदेखि चिया प्रशोधन थालेका थियौँ। सुरु गरेकै दुई दिनसम्म बत्ती आएन। टिपेर ट्रफमा हालेको चिया सबै बिग्रियो। त्यसपछि प्रमुख जिल्ला अधिकारीलाई नै हामीले गुहार्नु पर्ने अवस्था आयो।”

चियाका लागि फस्ट फ्लसको चिया वर्षभरिकै गुणस्तरीय र विदेशी बजारमा बिक्रीका लागि योग्य मानिन्छ। “सुरुकै टिपाइको चिया बिग्रिएपछि हामीले लाखौँ रुपियाँ घाटा सहनुपर्ने भयो,” उहाँले भन्नुभयो, “एकातिर चिया बिग्रियो, अर्कातिर जेनेरेटर चलाउनुपर्दा त्यो अत्यन्तै खर्चिलो हुन्छ। यो घाटा उद्योगलाई मात्र होइन किसानलाई पनि उत्तिनै पर्छ।” सुब्बाका अनुसार एक दिन विद्युत् आपूर्ति बन्द हुँदाको अवस्थामा एक दिन मात्र जेनेरेटर चलाउनुपर्दा एक महिनामा खपत हुने विद्युत्को महसुल सबै रकम खर्च हुने गरेको छ। 

सुब्बालाई मात्र होइन सन्दक फु टी प्रोसेस प्रालि, फार्मर टी प्रोसेसिङ प्रालिलगायतका उद्योगले पनि अवस्था उस्तै बेहोर्नु परेको छ। यो क्षेत्रमा विद्युत् आपूर्ति नियमित नहुनु यो वर्षको मात्र नयाँ समस्या होइन। अघिल्ला वर्षमा पनि विद्युत् आपूर्ति नियमित गराउन माग गर्दै यहाँका चिया व्यवसायी र किसानले विद्युत् प्राधिकरण इलामलाई पटकपटक आग्रह गरेका थिए। प्राधिकरणले यो क्षेत्रमा विद्युत् आपूर्ति नियमित गराउन खासै ध्यान नदिँदा यो वर्ष पनि चियाबाट किसान र उद्योगले ठूलो नोक्सानी सहनुपरेको उद्योगीको भनाइ छ। 

चिया उद्योगीले विद्युत्का कारण चियामा नोक्सानी भएको भन्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेललाई एक ज्ञापनपत्रसमेत बुझाएका छन्। विद्युत् अनियमित हुँदा लाखौँ रुपियाँको घाटा बेहोर्नु परेको उल्लेख गर्दै ज्ञापनपत्र बुझाएका हुन्। उद्योगीको ज्ञापनपत्र बुझ्दै प्रजिअ पोख्रेलले विद्युत् प्राधिकरणसँग समन्वय गरेर कर्मचारी व्यवस्थापन गरेर समस्या समाधानको पहलमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। 

यी उद्योगहरूमा प्रशोधन गरिएको पूर्ण अर्गानिक चिया चीन, जापान, जर्मनी, रसिया, अमेरिकालगायतका देशमा निर्यात हुने गरेको छ। गोल्डन, गोल्डन पल, सिल्भर टी, ग्रीन टीलगायतको तयारी चिया यी कारखानाहरूमा उत्पादन हुने गरेको छ।