• १३ साउन २०८१, आइतबार

आकर्षक बन्यो उदयपुरगढी

blog

गाईघाट समाचारदाता

गाईघाट, चैत २४ गते । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढी गाउँपालिका–५ स्थित पुरातात्त्विक महत्व बोकेको ऐतिहासिक उदयपुरगढीको पुरानै आकारमा पुनर्निर्माण गरिएको छ। चार वर्षदेखि सुरु गरिएको पुरानो गढीको पुनर्निर्माण कार्य करिब ९० प्रतिशत पूरा भएको उदयपुरगढी गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको केन्द्र रहेको उदयपुरगढीदेखि करिब एक किलोमिटर उत्तरमा रहेको सो ऐतिहासिक स्थलले पुनर्निर्माणपछि अहिले वास्तविक आकार लिएको छ। करिब २५० वर्षअघि निर्मित गढीको ध्वस्त भग्नावशेषलाई पुनर्जीवन दिँदै पालिकाले पुरानो गढीको पुनर्निर्माण गर्ने कार्य सम्पन्न गर्न लागेको गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनुभयो।

 गढीमा तत्कालीन सैनिक बङ्कर, कोतखाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त संरचनालाई पुनर्संरचना गरी पुरानो स्वरूपलाई जस्ताको तस्तै बनाइएको छ। पृथ्वीनारायण शाहको फौजी कारबाही कालको इतिहास झल्काउँदै पर्यटन विकास गर्ने उद्देश्यसहित गाउँपालिकाले चार वर्षदेखि त्यहाँ पुरानो गढीको पुनर्निर्माण योजना सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो।

गाउँपालिकाको ३० प्रतिशत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त लगानीमा सुरु भएको पुनर्निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा सङ्घीय सरकारले दुई करोड ७५ लाख रकम विनियोजन गरेको थियो। जसबाट चालु आर्थिक वर्षभित्र पुनर्निर्माण सक्ने गरी धमाधम निर्माणको काम भइरहेको र हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको अध्यक्ष मगरले बताउनुभयो।

दुई करोड १८ लाख रुपियाँमा एडी/सिद्धगढी/निशान जेबी बर्दिबासले ठेक्का लिएको र अब निर्माण अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो। पुरानो गढीको वरिपरि १३० मिटर गोलो बङ्करले अन्तिम रूप लिइसकेको छ। त्यस्तै बङ्करको बीचमा पाँच सय मिटर व्याससहितको गोलाकार अग्लो भागमा आठ त्रिभुज (अष्टकोण) आकारको गढी निर्माण कार्य पनि सम्पन्न भइसकेको छ। 

बङ्कर नाघेर गढी (अष्टकोण) क्षेत्र प्रवेश गर्न फलामे पुल निर्माण भइसकेको छ भने गढीभित्र कोतखाना भवन र इनारको निर्माण कार्य पनि सकिनै लागेको उदयपुरगढी गाउँपालिकाका इन्जिनियर सन्तोष राय थारूले बताउनुभयो। गढीको वरिपरि बाहिर पट्टि छ फिट र भित्रपट्टि १४ फिट उचाइको गारो लगाएर बङ्कर पुनर्निर्माण गरिएको छ। 

कोतखाना, इनारसँगै त्यहाँ बगैँचा पनि बनाइने योजना रहेको गाउँपालिकाको प्राविधिक शाखाले जनाएको छ। इन्जिनियर सन्तोष राय थारूका अनुसार गढी परिसरमा सार्वजनिक शौचालय, कार्यक्रम स्थल (मञ्च), फलामे भ्युटावरको निर्माण भइसकेको छ। 

प्राचीन गढीलाई जस्ताको तस्तै स्वरूपमा झल्काउने गरी काँचो ढुङ्गा चिल्लो र निश्चित आयाताकारमा ढालेर कलात्मक बनाएर जडान गरिएको, निर्माण कम्पनीले आधुनिक मेसिन उपकरणको सहयोगमा ढुङ्गा कँुदेर अत्यन्तै सुन्दर र आकर्षक बनाई प्रयोगमा ल्याएको छ। 

करिब २५० वर्षअघि बाइसेचौबिसे राज्यमध्ये एउटा राज्य रहेको उदयपुरगढी र चौदण्डीगढीलाई शाहवंशीय राजा पृथ्वीनारायण शाहका सेनाले कब्जा गरेका थिए। पूर्वबाट किरात वंशका वल्लो किरात, पल्लो किरात र माँझ किरात कब्जा गर्दैआएका शाहका सेनाले राज्य एकीकरणको क्रममा विजयपुरगढी, हतुवागढी, चौदण्डीगढी कब्जा गर्ने क्रममा उदयपुरगढीमा युद्धपोत स्थापना गरेर लडाइँ गरेको उदयपुर जिल्लाको इतिहास लेखक कौशल चेम्जोङले बताउनुभयो।