• ९ मंसिर २०८१, आइतबार

'बहाव'लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

blog

काठमाडौं, चैत २३ गते । शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'बहाव'ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिनुभएको छ ।

एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली फिल्म जगतमा सम्भावना बोकेको फिल्म बनेको प्रतिक्रिया दिनुभयो । ‘फिल्मको विषयवस्तु नयाँ छ । नेपाली दर्शकका लागि यसले फरक स्वाद दिनेछ । फिल्मले हामीले समाजमा देख्दै र भोग्दै आएको विषयलाई गम्भीर किसिमले उठान गरेको छ’, उहाँले भन्नुभयो ।

पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र सांसद पदम गिरीले फिल्मले समाजभित्रको अन्तरविरोधलाई प्रस्तुत गरेको बताउनुभयो । उहाँले समाजभित्र रहेको विभेदको जरा उखेल्न नसिरहेको अवस्थामा ‘बहाव’ ले त्यो जरा उखेल्न भूमिका निर्वाह गर्ने आशा व्यक्त गर्नुभयो । ‘यस्तो फिल्मले समाजलाई बदल्न महत्वपूर्ण भूमिका खेल्छ । फिल्मले समाजको वास्तविक कथा बोलेको छ’, उहाँले भन्नुभयो ।

यस्तै, निर्देशक नरेश पौडेलले ‘बहाव’ नेपालमा बनिरहेका फिल्म भन्दा फरक शैलीमा बनेकोमा खुशी व्यक्त गर्नुभयो । कलाकार भोलाराज सापकोटाले कथादेखि प्रस्तुतिकरण, कलाकारको अभिनय राम्रो लागेको बताउनुभयो । अर्का कलाकार दीपक आचार्यले नेपाली परिवेशमा एउटा राम्रो फिल्म बनेको उल्लेख गर्नुभयो । कलाकार विजय बरालले पनि फिल्मको कन्सेप्ट आफूलाई मनपरेको बताउनुभयो ।

फिल्मका अभिनेता कमलमणि नेपालले फिल्ममा आफू कठोर देखिए पनि वास्तविक जीवनमा कमलो मनको भएको बताउनुभयो ।