• ८ मंसिर २०८१, शनिबार

अनुदान थप्न अमेरिका इच्छुक

blog

काठमाडौँ, चैत २३ गते । नेपालमा अनुदान थप्न अमेरिकाले इच्छा देखाएको छ । मिलिनियम च्यालेन्जर कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएआइडी)मार्फत नेपालमा अनुदान थप्न अमेरिका इच्छुक भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग बुधबारको भेटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डेयन आर थमसनले उक्त कुरा बताउनुभएको हो । 

नयाँ परियोजनामा लगानी गर्न पनि अमेरिका तयार रहेको भेटपछि अर्थमन्त्री डा. महतले बताउनुभएको छ । “आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ,” उहाँले भन्नुभयो । भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा पनि छलफल भएको थियो ।   

बुधबार नै एसियाली विकास बैङ्कको नेपालका लागि राष्ट्रिय निर्देशक आर्नो कोस्वासँग पनि भेट गर्दै अर्थमन्त्री महतले नेपालको विकासका लागि दातृ निकायबाट थप सहयोगको अपेक्षा राखेको बताउनुभयो । काम छिटो हुने अवस्थामा दातृ निकाय त्यस्तो सहयोग उपलब्ध गराउन तयार रहेको पनि उहाँको भनाइ थियो । नेपालमा खर्च नहुने परिपाटीका सन्दर्भमा भने दातृ निकाय चिन्तित रहेको उहाँले बताउनुभयो ।