• ४ असार २०८१, मङ्गलबार

एन्जिला र प्रिन्स सर्वोत्कृष्ट खेलाडी

blog

एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०७८ बाट सम्मानित खेलाडीहरु । तस्बिर सौजन्य : राखेप

काठमाडौं, चैत २० गते । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टन स्टार प्रिन्स दाहाल १७औँ एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०७८ मा वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले सोमबार काठमाडौंमा आयोजना गरेको अवार्ड कार्यक्रमबीच महिलातर्फ एन्जिला र पुरुषमा प्रिन्सलाई सर्वोत्कृष्ट खेलाडी अवार्ड प्रदान गरेको हो । अवार्डसहित दुवै खेलाडीले जनही एक लाख रुपियाँ पुरस्कार पाउनुभयो । 

यसैगरी करातेकी चन्चला दनुवार महिलातर्फ र पुरुषतर्फ गल्फका सद्भाव आचार्य प्रतिभाशाली खेलाडी चुनिनुभयो । अवार्डसहित यस विधाका विजेतालाई जनही ५० हजार रुपियाँ प्रदान गरियो । 

यस्तै संघले सर्वोत्कृष्ट पारा एथलेट अवार्ड सुभेक्षा खतिवडा, गजराज आर्दैश खेल व्यक्तित्व अवार्ड खड्गबहादुर रानाभाट र उत्कृष्ट खेलकुद पत्रकार पुरस्कार कान्तिपुर दैनिकका ध्रुब तुलाधरलाई प्रदान गरेको छ । पारा अवार्ड विजेतालाई १५ हजार, गजराज आदर्श खेल व्यक्तित्व अवार्डलाई ३५ हजार र खेलकुद पत्रकारिता पुरस्कार विजेतालाई २५ हजार रुपियाँ प्रदान गरियो 

यस्तै अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई संघकै सिफारिसका आधारमा जनही १० हजार रुपियाँसहित सम्मान गरिएको छ । 

सम्मानित हुनेहरुमा आर्चरीका इमायुङ राई, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलका अनुषा मल्ल, बक्सिङका सुष्मा तामाङ, साइक्लिङका निष्मा श्रेष्ठ र फेन्सिङका ओमकार सिंह हुनुहुन्छ ।

यस्तै अवार्ड पाउनेमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, गल्फका सद्भाव आचार्य, जिम्न्यास्टिकका  नारायण मानन्धर, ह्याण्डबलका विशाल नेपाली, हक्कीका कमला चन्द, जुडोकी संजित  ढंगोल, कबड्डीका घनश्याम रोकामगर,  करातेका चन्चला दनुवार, र्‍याफ्टिङ एन्ड क्यानोइङका मोहन राणा, सुटिङका सुष्मिता नेपाल, स्कीका संगिता लामा, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसका सिक्का सुवाल श्रेष्ठ, टेनिसका रितिक राना, ट्रायथलनका श्रेबी महर्जन, भलिबलका सलिना श्रेष्ठ, भारोत्तोलनका विशालसिंह विष्ट, कुस्तीका  सुशिला चन्द र उसुका सुष्मिता तामाङले रहनु भएको छ ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, विभिन्न संघका पदाधिकारी लगायतले अवार्ड प्रदान गर्नुभयो ।संघले आगामी संकरणको अवार्ड ललितपुरको पाटन दरवार स्क्वायरमा आयोजना गर्ने एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ जानकारी दिनुभयो ।