• १३ असोज २०८१, आइतबार

नगर प्रमुखले मनोमानी गरेको भन्दै विरोध

blog

पत्रकार सम्मेलनमा नगर उपप्रमुख भट्टराई । तस्बिर : गोरखापत्र

विष्णुप्रसाद पोखरेल

दमक, चैत २० गते । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले मनोमानी गरेको र अधिकारको दुरुपयोग गरेको भन्दै सत्तारुढ गठबन्धनमा आबद्ध रहेका स्थानीय राजनीतिक दलहरूले विरोध गरेका छन् । 

नगर प्रमुख स्थानीय अस्पतालको संयोजक बन्नु लज्जाको विषय भन्दै यस्तो कार्य निन्दनीय भएको पनि राजनीतिक दलहरूले आरोप लगाएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, नेपाल कम्यूनिष्ट पार्टी र सङ्घीय लिम्बुवान मञ्च दमक नगर समितिले संयुक्त रूपमा  पत्रकार सम्मेलन गर्दै विरोध जनाएका हुन् ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसबाट निर्वाचित दमक नगर उपप्रमुख रेगिना भट्टराई, वडाध्यक्षहरू पुण्यप्रसाद दाहाल र राजेन्द्र प्रसाद भट्टराई सहितको उपस्थितिमा पत्रकार सम्मेलन भएको हो ।

राप्रपाबाट निर्वाचित रामकुमार थापाले एमालेको बलमा  मनोमानी गरेको आरोप उनीहरूको रहेको छ । नेपाली काँग्रेस नगर सभापति प्रकाश प्रसाईँले विषयगत समिति बनाउँदा र विभिन्न प्रकारका निर्णयहरू गर्दा मनोमानी गरेको बताउनुभयो । 

दीर्घकालीन र दूरगामी महत्त्व राख्ने समितिहरू निर्माण गर्दा मनोमानी भएको छ, उहाँले भन्नुभयो । गत चैत ७ गते कार्यपालिका बैठकले गरेका निर्णयप्रति आफूहरूको सहमति नरहेकाले सच्याउन पनि उहाँले आग्रह गर्नुभयो ।

७ गतेको बैठकले स्वास्थ्य अर्थात् दमक अस्पताल समिति, नगर शिक्षा समिति निर्माण गर्नुको साथै नगरको प्रवक्ता तोकेको थियो । दमक अस्पतालको संयोजकमा नगर प्रमुख थापा आफै बस्नु भएको छ । 

अन्य महत्त्वपूर्ण समितिका संयोजकहरूमा नेकपा एमालेका कार्यपालिका सदस्यहरूलाई जिम्मेवारी दिएपनि नेपाली काँग्रेसबाट निर्वाचितहरुलाई पाखा लगाइएको आरोप लगाइँदै आएको छ ।

नेकपा माओवादी केन्द्रका दमक नगर इन्चार्ज बेदु गौतमले नगर प्रमुख स्वेच्छाचारी ढङ्गले चल्दा अन्यौलता सिर्जना भएको बताउनुभयो । दमक अस्पताल र दमकका विकास निर्माणका कामहरू अस्तव्यस्त बनेको छ, उहाँले भन्नुभयो । यस्तै अवस्था रहिरहेको अवस्थामा बाध्य भएर आफूहरू प्रतिरोधमा उत्रनु पर्ने अवस्था आउनसक्छ, उहाँको भनाई रहेको थियो ।

पाएको जिम्मेवारी र अधिकार प्रयोग गरेर अघि बढ्छौ : उपप्रमुख भट्टराई

नगर प्रमुख विरुद्धको पत्रकार सम्मेलनमा सहभागी बन्नुभएकी उपप्रमुख रेगिना भट्टराईले जनतामा आशा जोगाउने गरी काम गरिरहेको बताउनुभयो । 

संविधानले दिएको जिम्मेवारी अनुसार काम गरिहरेका छौ र गर्छौ, उहाँले भन्नुभयो । दमक अस्पतालमा व्यापक सुधार गरेको र प्रादेशिक अस्पतालमा भन्दा राम्रो सुविधा दिइरहेको दाबी पनि उहाँले गर्नुभयो । 

राजनीतिक दलहरूले अस्पतालमा केही नै नभएको भनिरहँदा उहाँले सुधारको काम पनि भइरहेको तर जनताको अपेक्षा अनुसार हुन नसकेको स्वीकार गर्नुभयो ।