• १३ साउन २०८१, आइतबार

चिसो हटेसँगै लेकतिर फर्किँदै भेडीगोठ

blog

चिसो हटेपछि बेसीबाट गाउँ फर्किँदै भेडीगोठ । तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा ,चैत १८ गते । चिसोको समयमा बेसी झरेका भेडीगोठ यती बेला गाउँ फर्किन थालेका छन् । बूढी नन्दा, हिमाली , स्वामिकार्तिक, जगनाथ लगायतका अधिकांश स्थानीयहरूको मुख्य पेसा भेडा बाख्रापालन रहेकोले उनीहरू हिउँदको केही महिना चिसो छल्न र भेडा बाख्रा पाल्न सहजताका  लागि गत कात्तिकमा बेँसी झरेका थिए ।

यती बेला बेसीमा गर्मी सुरु भएसँगै जिल्लाको पूर्वी उत्तर क्षेत्रका बूढी नन्दा, हिमाली, स्वामिकार्तिक, जगनाथ लगायतका भेडीगोठ धमाधम गाउँ फर्किन थालेका हुन् । बूढी नन्दा नगरपालिका –९ पाण्डुसैनका भेडा पालक प्रेमबहादुर थापाले, मङ्सिर, पुस, माघ र फागुन लगायत हिउँदका केही महिना गाउँमा चिसो हुने हुँदा त्यो चिसो छल्न तथा पालन गर्नका लागि गत कात्तिक महिना भेडीगोठ बेसी झरेको र बेसीमा अहिले गर्मी सुरु भएसँगै गाउँ फर्किन थालेको बताउनुभयो ।

उहाँले, भेडा बाख्रालाई गर्मी भन्दा त चिसो ठाउँमै बस्न सहज हुन्छ । हिउँदका केही महिना गाउँमा हिउँ पर्ने गर्छ । लामो समयसम्म हिउँ बिलाउँदैन । भेडा बाख्राले खाने कुरा सबै हिउँले पुर्छ । हिउँ परेपछि भेडा बाख्रालाई धेरै चिसो हुने र चरन टिपन गर्न समेत समस्या हुने गरेकोले हिउँदको केही महिना बेँसीतिर झर्ने गरेको बताउनुभयो ।

हिउँदे चिसो छेल्न तथा भेडा बाख्रा पालनलाई पालन पोषण गर्न सहज हुने भएकोले हिउँदका केही महिना घरपरिवार सहित भेडीगोठ बेँसी झरेको र  यति बेला बेसीमा पनि गर्मी सुरु भएपछि गाउँ फर्किन थालेको थापाले बताउनुभयो ।

पाण्डुसैनका अधिकांश किसानको भेडा बाख्रा पालन मुख्य पेसा हो । पहिला गाउँका सबै वन खुल्ला हुने गरेकोले उनीहरूलाई भेडा बाख्रापालनमा निकै सहज हुन्थ्यो । अहिले गाउँका ती सबै बन सामुदायिक भएपछि भेडा पालकलाई भेडा पालनमा निकै चुनौती थपिँदै गएको छ ।

पहिला बाजुराको बूढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह र छिमेकी जिल्ला अछाम साँफेबगर नगरपालिकाका केही वनहरू  खुल्ला हुन्थे । उनीहरूलाई त्यो वनमा भेडा बाख्रा पालन गर्न निकै सहज हुन्थ्यो । अहिले हिउँद हिमपातका डरले बेँसी झर्नुपर्ने बेसीमा पनि सामुदायिक बन उपभोक्ता समितिलाई महँगो कर तिर्नुपर्ने भएपछि भेडा बाख्रा पालनमा चुनौती थपिएको प्रेम थापाले बताउनुभयो । 

उहाँले, पहिले गाउँमा एकै परिवारले पाँच सयभन्दा बढी भेडा बाख्रा पाल्ने गर्थे । त्यति बेलामा बेसी झर्दा बनको समेत  कर  तिर्नुपर्दैनथ्याे। अहिले भेडा वनमा पस्ने बित्तिकै सामुदायिक बनले समात्न थाल्दछ । पछिल्लो समयमा भेडा बाख्रालाई चरिचरनमा समस्या भएपछि भेडा बाख्रा पाल्नेको सङ्ख्यामा समेत  निकै कमी हुँदै आएको बताउनुभयो । 

यता भेडा बाख्राहरू बनमा पस्दा नयाँ हुर्किँदै गएका सबै बोट बिरुवा नष्ट पार्ने भएकोले वनमा भेडा बाख्रा मनाही गरेको वन उपभोक्ता समिति बताउँछन् । बूढीनन्दा नगरपालिका वडा नं –९ का वडा अध्यक्ष मानबहादुर रावतले, बूढीनन्दा नगरपालिका अधिकांश स्थानीयको भेडा बाख्रापालन नै मुख्य पेसा भएकोले यसलाई थप प्रोत्साहन दिँदै जानुपर्ने बताउनुभयो । 

उहाँले, अहिले भेडापालकहरुले राष्ट्रिय बनमा मात्र भेडा चराउने गरेका छन् । हिउँदमा कसैले दानापानी खुवाएर पनि घरमै राख्ने गरेको बताउनुभयो । यो भनेको भेडा बाख्रा पालनको निकै ठुलो समस्या हो । यो समस्यालाई कसरी  समाधान गर्ने भन्ने विषयमा स्थानीय सरकार र भेडा बाख्रापालक बीचमा छलफल भइरहेको उहाँले बताउनुभयो ।