• १३ साउन २०८१, आइतबार

'जानकी साहित्य पुरस्कार' भण्डारीलाई

blog

रमेश विश्वकर्मा 

गुल्मी, चैत १७ गते । किरण पुस्तकालय तम्घास गुल्मीले जानकी साहित्य पुरस्कार–२०८० आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गरिने भएको छ । किरण पुस्तकालयका उपाध्यक्ष दीन पन्थीले यस पुस्तकालयबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको जानकी साहित्य पुरस्कार आगामी वर्ष आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको बताउनुभएको हो । 

धुर्कोट गाउँपालिका वस्तुमा २०१६ जेठ ५ गते जन्मनुभएका भण्डारीलाई सो पुरस्कार आगामी मोती जयन्तीका दिन प्रदान गरिनेछ ।

जानकी साहित्य पुरस्कार साहित्यमा रुचि राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको सम्झनामा उहाँको परिवार र पुस्तकालयको सम्झौताअनुसार गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जना गर्ने वा गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने साहित्यकारहरूलाई प्रदान गरिँदै आएको छ । 

वि.सं. २०७३ सालमा स्थापना भएको सो पुरस्कार यसभन्दा अगाडि सूर्यबहादुर सेन वलीले २०७५ सालमा, भागीरथी श्रेष्ठले २०७६ सालमा, रामप्रसाद पन्तले २०७७ सालमा, नारद गौतमले २०७८ सालमा र रुद्र ज्ञवालीले २०७९ सालमा प्राप्त गरिसक्नुभएको छ । 

भण्डारीका चिराग (लघुकथा सङ्ग्रह)–२०४७, अस्वीकृत कथाहरू (कथा सङ्ग्रह)– २०५८, अविरल यात्रा (लघुकथा सङ्ग्रह)–२०६३, चरीका रमाइला कथा (बालकथा सङ्ग्रह)–२०६७, काला सर्पको खोजी (लघुकथा सङ्ग्रह)– २०६७, कुनमिनको सेरोफेरो (नियात्रा)– २०६९ मनको आँखा (बालकथा सङ्ग्रह)–२०६९, गोनू झा र चोरहरू (बालचित्र कथा)–२०७०, प्रकाशित छन् । त्यस्तै, धनञ्जय गोत्रीय भण्डारीहरूको वंशावली–२०७०, सुनको झ्याल (बाल उपन्यास)–२०७४ का साथै विभिन्न पत्रपत्रिकामा कथाहरू प्रकाशित छन् ।