रेखीराम राना
पाल्पा, चैत १६ गते । प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण घटेको छ। पाल्पाका ११ वटा सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ।
जिल्लामा प्राविधिक शिक्षा पठनपाठन गराउने विद्यालयको सङ्ख्या हरेक वर्ष थपिए पनि विद्यार्थीको सङ्ख्या भने घटेको छ। प्राविधिक शिक्षाको महत्व बुझाउन नसक्दा, प्राविधिक शिक्षाका बारेमा अभिभावकमा भएको अन्योलले प्राविधिक शिक्षा आर्जन गर्ने विद्यार्थीको सङ्ख्या कम हुँदै गएको बताइन्छ। पछिल्लो समय प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई वैदेशिक अध्ययन तथा रोजगारीमा समस्या देखिएका कारण पनि यो शिक्षामा आकर्षण कम भएको अभिभावकको बुझाइ छ। प्राविधिक शिक्षा पठनपाठनका बारेमा अहिले पनि अभिभावकमा अन्योल कायम देखिएको पाल्पाका शिक्षा एकाइ प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार प्राविधिक शिक्षा अध्ययन गरिसकेपछि त्यसबाट कसरी अघि बढ्न सकिन्छ भन्ने स्पष्ट जानकारी अभिभावकमा कम छ। विदेश जाने युवामा पनि प्राविधिक शिक्षाभन्दा साधारण शिक्षा लिने बढी देखियो।
पाल्पाका विभिन्न ११ विद्यालयमा हाल प्राविधिक शिक्षा अध्यापन भइरहेको छ। तीमध्ये कतिपय विद्यालयमा ज्याँदै न्यून सङ्ख्यामा विद्यार्थी रहेको विद्यालयको भनाइ छ। यो वर्ष ११ विद्यालयमा प्राविधिक धार अध्ययन गरिरहेका जम्मा २३९ जना मात्रै विद्यार्थी माध्यमिक शिक्षा (एसईई)को परीक्षामा सहभागी हुँदैछन्। ११ वटा विद्यालयले एक शैक्षिक सत्रमा एउटा कक्षामा बढीमा ४४ जनासम्म विद्यार्थी पढाउन पाउने व्यवस्था छ। यो तथ्याङ्कले प्राविधिक शिक्षा पढ्ने विद्यार्थी कोटा ५० प्रतिशत पनि पूरा भएको देखिएन।
जिल्लामा बाली विज्ञान, कृषि विज्ञान, अटोमोबाइल्स, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इन्जिनियरिङ, पशुविज्ञानजस्ता प्राविधिक विषयको अध्ययन भइरहेको छ तर यी विषयको अध्ययन गर्ने विद्यार्थी जुटाउन समस्या परिरहेको विद्यालयका शिक्षकहरू बताउँछन्।
केही वर्षअघिसम्म प्राविधिक विषय अध्ययन गर्न विद्यार्थीको चाप भए पनि पछिल्लो तीन/चार वर्षयता प्राविधिक विषय पढ्ने विद्यार्थी कम भएको तानसेन–५, बन्दीपोखरास्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु सिग्देलले बताउनुभयो।
जिल्लाका सबैजसो विद्यालयलाई प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थी खोज्न समस्या रहेको उहाँले बताउनुभयो। समग्रमा विद्यार्थी सङ्ख्या कम हुँदा पनि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थी कम हुँदै गएको प्रअ सिग्देलको भनाइ छ। केही विद्यार्थी कक्षा ९ र १० मा प्राविधिक विषय अध्ययन गरे पनि एसईई परीक्षापछि उक्त विषय पढ्न छाड्ने गरेका छन्। प्राविधिक धारतर्फको शिक्षाको अस्पष्टताले बीचमै यो विषय छाडेर अन्य विषय अध्ययन गर्ने विद्यार्थी बढ्दै गएको तानसेन जनता माविका शिक्षक रामप्रसाद ढकालले बताउनुभयो।