वर्तमान एक्काइसौँ शताब्दीलाई विज्ञान र प्रविधिको युगका रूपमा चिनिन्छ। विज्ञान र प्रविधिको विकास तथा अनुसन्धानबिना कुनै पनि मुलुक अगाडि बढ्न नसक्ने अकाट्य तथ्य हो। विज्ञान प्रविधिको अध्ययन अनुसन्धानमा ठूलो लगानीको आवश्यकता पर्छ। हाम्रोजस्तो विकासशील मुलुकका निम्ति विज्ञान र प्रविधिको क्षेत्रमा ठूलो लगानी जुटाउनु कठिन विषय हो। सम्पन्न मुलुक विज्ञान तथा प्रविधिको क्षेत्रमा ठूलो लगानी गरी त्यसबाट नयाँ नयाँ प्रविधिको आविष्कार गरिरहेका छन्। त्यसबाट समाज र अर्थतन्त्रमा अनेक लाभ लिइरहेका छन्। नेपालजस्तो कम आय भएको मुलुकका निम्ति विज्ञान प्रविधिको अध्ययन, अनुसन्धान तथा विकासमा उल्लेखनीय प्रगति गर्न स्रोतको अभाव सामान्य नै विषय हो।
सीमित साधन तथा स्रोतका बीच पनि विज्ञान प्रविधिको अध्ययन, अनुसन्धानका क्षेत्रमा एउटा सुखद खबर सार्वजनिक भएको छ। मोफसलका सामुदायिक विद्यालयका विद्यार्थी भूउपग्रह ‘मुनाल’को निर्माणमा सक्रिय छन्। यो भूउपग्रह प्रक्षेपणको अन्तिम तयारीमा रहेको छ। काभ्रेपलाञ्चोकको पनौतीस्थित काठमाडौँ विश्वविद्यालय हाइस्कुलको प्रयोगशालामा निर्माण भइरहेको मुनालमा काभ्रेका तीनवटा सामुदायिक विद्यालय तथा काठमाडौँ विश्वविद्यालय हाइस्कुलका विद्यार्थीहरूको संलग्नता रहेको छ। विशेषतः नेपालमा सामुदायिक विद्यालयलाई निजी विद्यालयको दाँजोमा कमजोर गुणस्तरको रूपमा लिइने गरिन्छ। यसै सेरोफेरोमा काभ्रेका तीन सामुदायिक विद्यालयका विद्यार्थीले जुन उत्साह र लगनका साथ भूउपग्रह निर्माणजस्तो जटिल वैज्ञानिक विषयवस्तुमा अग्रसरता तथा कुशलता प्रदर्शन गरेका छन्, त्यसलाई सराहनीय मान्नुपर्छ। यस उदाहरणबाट उचित मार्गदर्शन तथा प्रेरणा प्राप्त भएमा सामुदायिक विद्यालयका विद्यार्थी पनि जुनसुकै कठिन कार्य कार्यान्वयन गर्न सफल हुन्छन् भन्ने सन्देश पनि प्रवाहित भएको छ।
छ जना इन्जिनियरसमेत सहभागी भएका मुनालको निर्माण विद्यार्थीका लागि पक्कै पनि चुनौतीपूर्ण छ। त्यसबाहेक विद्यालयको नियमित अध्ययन तथा मुनालका निम्ति समय छुट्याउनु उनीहरूका निम्ति पक्कै पनि थप चुनौती हो। यति हुँदाहुँदा नै पनि नौ जना विद्यार्थीको यो समूहको समय व्यवस्थापनको प्रयास अन्य विद्यार्थीका लागि अनुकरणीय मान्न सकिन्छ। नेपालका सामुदायिक विद्यालयका विद्यार्थीमा देखिएको यो लगनले राम्रो सकारात्मक सन्देश प्रभाव भइरहेको छ। अवसर पाए विद्यार्थीले विज्ञान र प्रविधि क्षेत्रमा जस्तोसुकै चुनौतीपूर्ण कामसमेत गर्न सक्छन् भन्ने सन्देशसमेत प्रवाह भएको छ।
भूउपग्रह आफैँमा चुनौतीपूर्ण तथा कठिन कार्य हो। यस्तो कठिन कार्यमा विगत १६ महिनादेखि विद्यार्थी सहभागी छन्। मुनाल निर्माणको लक्ष्य पूरा गर्न अथक मेहनत तथा प्रयास गरेकै फलस्वरूप तेस्रो चरणको सफलता हात परेपछि विद्यार्थी उत्साहित छन्। यो सफलता ती विद्यार्थीका निम्ति निकै उपलब्धिमूलक मान्न सकिन्छ। विदेशका प्रयोगशालामा पनि मुनालको इन्भारोमेन्ट टष्ट्रको सफल परीक्षण भइसकेको छ र निर्धारित समयमा यसको प्रक्षेपण लगभग हुने निश्चित देखिन्छ। विदेशी विशेषज्ञको टोलीले पनि मुनालको निर्माण उपयुक्त ढङ्गबाट भएको धारणा व्यक्त गरेबाट निर्माणमा संलग्न विद्यार्थीको उत्साहमा निःसन्देह रूपमा वृद्धि भएको छ। दस घनसेमिको आकार तथा एक किलोग्राम तौलको मुनाल भूउपग्रहमा क्यामरा मिसन, प्यासिभ अल्टिच्युट डिटरमिनेसन एन्ड कन्ट्रोल (पीएडीसीएस ) मिसनका अतिरिक्त आर्ट मिसन, रेडियसन मेजरमेन्टलगायतका मिसन रहनेछ। सामान्य रूपमा भन्दा मुनालले नेपाली विद्यार्थीको उत्साहमा आत्मविश्वास भर्नेछ र केही गर्न सकिन्छ भन्ने सन्देशसमेत दिएको छ।
यो परियोजनाको कुल लागत दुई करोड रुपियाँ लाग्ने तथा नयाँ वर्ष २०८० वैशाखभित्र प्रक्षेपण गरिने लक्ष्य लिइएको यो भूउपग्रहबाट प्रक्षेपणपश्चात् विविध जानकारी उपलब्ध हुने अपेक्षा लिइएको छ। भूउपग्रह मुनालको निर्माण तथा प्रक्षेपणको प्रक्रिया आमवैज्ञानिक गतिविधिका दृष्टिकोणमा सामान्य भए पनि नेपालको वैज्ञानिक आभामा यसलाई उल्लेखनीय रूपमा लिइनु आवश्यक छ। यस भूउपग्रहको निर्माणले नेपाली विद्यार्थीमा वैज्ञानिक सम्भावनाका सङ्केतलाई उजागर गरेको अर्थमा लिइनु महत्वपूर्ण हुनेछ। साथै, सामुदायिक विद्यालयका विद्यार्थीको यसमा संलग्नताले थप उत्साह तथा उत्प्रेरणाको वातावरण सिर्जना गरिदिएका खण्डमा उनीहरूबाट राष्ट्र तथा समाजोपयोगी वैज्ञानिक अध्ययन अनुसन्धानको अपेक्षा गर्न सकिन्छ। सरकार तथा सरोकारवाला निकायले विद्यालयका विद्यार्थीलाई विज्ञान प्रविधिको अध्ययन अनुसन्धानलाई प्रश्रय तथा बढावा दिने कार्यलाई नीतिगत प्राथमिकता दिन सके मुलुकको विज्ञान प्रविधिको क्षेत्रमा सकारात्मक योगदान पुग्ने तथ्यमा विश्वस्त हुन सकिन्छ।