• ९ पुस २०८१, मङ्गलबार

चैते दशैंको अवसरमा त्रिपुरासुन्दरीमा मेला

blog

डोल्पाको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लिङ्गा फेर्दै भक्तजनहरु । तस्बिर : विष्णुप्रसाद देवकोटा

विष्णुप्रसाद देवकोटा

डोल्पा, चैत १५ गते । हिन्दुहरूका लागि जेठो पर्वको रूपमा मानिने चैते दशैंको अवसरमा डोल्पाको त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा मेला लागेको छ । आद्याशक्ति श्रीवाला त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्न तथा मेला भर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

अन्य दिनमा बन्द रहने श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरका चारै ढोकाहरू भक्तजनको दर्शन तथा पूजाआजाका लागि खुला गरिएको छ । असत्यमाथि सत्यको विजय भएको दिनको सम्झनामा यो पर्वलाई मनाइने गरिन्छ ।

भगवतीको उत्पतीस्थलको रूपमा समेत डोल्पाको श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरलाई लिने गरिएको मन्दिरका पुजारी लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभयो । चैते दशैं तथा रामनवमीलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन स्थानीय युवा क्लब, नेपाल प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको छ ।

भगवतीको मन्दिरमा दर्शन गरेमा निःसन्तानलाई सन्तान दिने मनकामना पूरा गरिदिने विश्वास रहेकाले पनि छिमेकी जिल्ला रुकुम जाजरकोट जुम्ला र काठमाडौंलगायतका सहरी क्षेत्रबाट समेत दर्शनार्थी डोल्पास्थित मन्दिरमा आउनेगरेका छन् ।

मन्दिरमा बोका, राँगा, भेडा, कुष्माण्ड र नरिवलको बलिदिने गरिन्छ । जीवनमा आफूले भाकल गरेबमोजिमको बलिबोका लिएर चढाउन मन्दिरमा सर्वसाधारणको भीड लाग्नेगर्छ । मन्दिर व्यवस्थापन समिति र स्थानीय युवा क्लबले विभिन्न सांस्कृतिक कार्यक्रम तथा सत्य युगमा भगवती र राक्षसको युद्ध भएको नाटक मञ्चन गरिने गरिन्छ ।

चैते दशैको अवसरमा मन्दिरका चारवटै लिङ्गाहरू समेत नयाँ बनाइएको छ । मन्दिरमा दर्शन गर्न आउनुभएका पशु कार्यालय डोल्पाका सूचना अधिकारी नवराज न्यौपानेले मन्दिरमा भाकल गरेबमोजिम पूजा गरेमा चाहेको मनोकामना पूरा भएकाले पुनः दर्शन गर्न आएको बताउनुभयो ।