• ९ पुस २०८१, मङ्गलबार

नदीमा अड्किएको शवको पहिचान

blog

राजन रावत

हुम्ला, चैत १५ गते । चंखेली गाउँपालिकामा पर्ने नदीको बीच भागमा ढुङ्गामा अड्किएको अवस्थामा भेटिएको लासको पहिचान भएको छ । लास भएको आशङ्का गरिएका परिवारका सदस्यहरू घटनास्थलमा पुगेर आफ्नै मान्छे भएको बताएपछि सो लासको पहिचान खुलेको हो ।

प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले नदीमा भेटिएको लास रुकुमपूर्व जिल्लाको पृथ उत्तरगङ्गा गाउँपालिका –६ को मनहाङ गाउँका सञ्चार घर्तीमगर भएको आफन्तले स्वीकार गरेका छन् । गत आइतबार बेलुका चङ्खेली गाउँपालिका –४ को पिप्लाङ गाउँको तल पर्ने दर्बी कर्णाली पिप्लाङ गाउँका दुई जना युवाहरूले हर्के कुलाल र सुरज विकले माछाका लागि जाल हाल्न जानेक्रममा नदीमा लास  अड्किएको अवस्थामा देख्नुभएको थियो ।

लास पिप्लाङकै गाराडिली भन्ने स्थानमा भेटिएको छ । प्रहरीका अनुसार घर्तीमगरका परिवारका चार जना सदस्य घटनास्थलमा पुगेर लासको पहिचान गरेका थिए । यसका लागि जिल्लाबाट प्रहरी सिताप्रसाद चौधरीको टोली गत सोमवार घटनास्थल गएको थियो । शवको पहिचान भएपछि प्रहरीले आफन्तको आग्रहमा शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगेको जनाएको छ ।

पिप्लाङबाट गत मङ्सिर ८ गते घर्तीमगर बेपत्ता भएका थिए । घर्तीमगर बेपत्ता भएपछि प्रहरीले तीन जना पुरुष र एक जना चङ्खेली गाउँपालिकाकी महिला कर्मचारीलाई अनुसन्धान गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।