• ९ पुस २०८१, मङ्गलबार

घट्दै छ कालीकोटमा बालबिवाह

blog

बालबिवाहबिरुद्धका अभियान्तालाई आवश्यक प्रशिक्षित गरिंदै । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, चैत १५ गते । पछिल्लो समय कालीकोटमा बालविवाहका घटनामा कमी आउन थालेको छ । लगातारको सेचतीकरण कार्यक्रमले तीन वर्षयताको तथ्याङ्कले कालीकोटमा बालविवाहको दर ओरालो लागेको पाइएको हो । 

अङ्ग्रेजी वर्षअनुसार (सन् २०२०) २०७६ मा जिल्लाभरि ६७ प्रतिशत रहेको बालविवाह तीन वर्ष यता सन् २०२२ अर्थात् २०७८ पुसमा आउँदा घटेर ५० प्रतिशतमा झरेको छ । समाजमा जरा गाडेर रहेको बालविवाह न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको प्लान इन्टरनेशनल नेपाल र साझेदार संस्था मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालले तीन वर्षको छुट्टाछुट्टै गरेको सर्वेक्षणमा बालविवाह घटेको पाइएको हो ।

हुरेन्डेक नेपालको नेतृत्व र निर्णय कार्यक्रमका अधिकृत डम्बर बोहोराले स्थानीय तह र आफूले आफ्नो कार्यक्षेत्र रहेका जिल्लाका तीन वटा स्थानीय तहमा गरेको अध्ययनअनुसार बालविवाहको दर घटेको बताउनुभयो ।  

तीन वर्षको अवधिमा जिल्लाको रास्कोट नगरपालिकाको ६७ प्रतिशत बालविवाह घटेर ५१ प्रतिशतमा झरेको छ । नरहरीनाथ गाउँपालिकाको ७४ प्रतिशतबाट घटेर ५२ प्रतिशतमा झरेको छ । यस्तै, सान्नीत्रिवेणी गाउँपालिकामा भने केही उतार–चढाव आएको छ । २०७६ मा ५८ प्रतिशत रहेको बालविवाह एक वर्षपछि २०७७ मा घट्नुको सट्टा बढेर ७० प्रतिशतमा पुगेको र फेरि २०७८ को पुससम्मको तथ्याङ्कमा घटेर ४८ प्रतिशतमा झरेको देखिएको छ । 

बालविवाह न्यूनीकरणमा पत्रकारको भूमिका विषयमा छलफल गर्न आयोजना गरिएको कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको थियो । प्लानले काम गरिरहेको यी तीन वटा पालिकामा तीन वर्षमा १५ वटा बालविवाह प्रत्यक्ष रूपमा रोकिएका छन् । 

हुँदैगरेका विवाहलाई गैरसरकारी संस्थाले स्थानीय सरकार, प्रहरीको सहयोगमा रोकेको हुन् । यहाँ हुरेन्डेक नेपालसँगै सादा नेपाल र किर्डाक नेपालले बालविवाह न्यूनीकरणको क्षेत्रमा काम गरिरहेका छन् । 

उता जिल्लाको तिलागुफा नगरपालिका र शुभकालीका गाउँपालिकाले भने उल्लेख्य रूपमा बालविवाह घटेको पाइएको छ । किर्डाक नेपाल कालीकोटका संयोजक तुलाराम पाण्डेले पछिल्लो तथ्याङ्कअनुसार तिलागुफा नगरपालिकामा बालविवाहको दर दश प्रतिशतमा झरेको बताउनुभयो ।