• २४ पुस २०८१, बुधबार

सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद् गतिहीन हुन्छ : सचेतक बर्तौला

blog

नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौला । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, चैत १४ गते । नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसद्को प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताउनुभएको छ ।

सचेतक बर्तौलाले प्रतिनिधि सभाका सभामुख सभाको नेता भएको भन्दै उहाँलाई सिङ्गो संसद्ले विश्वास गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिनिधि सभा नियमावलीमा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउनु उहाँहरूको सार्वभौम अधिकारको कुरा भए पनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्नेमा जोड दिनुभयो ।

‘‘माननीयहरूले राखेको विषय उहाँहरूको सार्वभौम अधिकारको कुरा हो । हामी सबैले बुझ्न के पर्छ भने सभामुख भनेको लिडर अफ द हाउस । हेड अफ द इन्स्टिच्युट । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका । प्रतिनिधि सभाको सभामुख भनेको हाउसको हाम्रो अगुवा र नेता भएको कारणले गर्दा उहाँलाई सिङ्गो हाउसले विश्वास गर्नुपर्छ भन्ने हो ।,’’ एमालेका सचेतक बर्तौलाले भन्नुभयो, ‘‘किनभने उहाँ रेफ्रिको भूमिकामा हुनुहुन्छ । रेफ्रिले कतिबेर सिठी बजाउने भन्नेकुरा कुनै ठाउँबाट निर्णय गरेर, निर्देशित गर्न थाल्यो भने त्यो रेफ्रिको पर्फमेन्स के हुन्छ ? सिङ्गो खेलको अवस्था के रहन्छ ? त्यसकारण जब हाउसको विषय रहन्छ, सभामुख एउटा रेफ्रि हो ।’’

मङ्गलवार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सभामुख सभाको रेफ्रि भएको भन्दै रेफ्रिले कतिबेला सिठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्नु नहुने बताउनुभयो । उहाँले सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसद्को प्रभावकारितामा गतिरोध उत्पन्न हुने जानकारी दिनुभयो । उहाँले त्यसो भएमा संसदीय मूल्य, मान्यता र गरिमा नरहने उल्लेख पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘रेफ्रिले निष्पक्षता, तटस्थताको आधारबाट भूमिका निर्वाह गर्नुपर्छ । यदि त्यसप्रकारको भूमिका निर्वाह गर्नका लागि जे संवैधानिक अधिकारहरू छ । हामीले हिजो व्यवस्था गरेका अधिकारहरू छ, त्यो अधिकारलाई कुण्ठित गर्नेगरी, हातखुट्टा बाँध्नेगरी अर्थात् कार्यव्यवस्था परामर्श समितिमा परामर्श गरेर होइनकी सबै निर्णय गरिदिएर त्यो निर्णय बमोजिम मात्रै सभामुख आसनमा रहने, रेस्टरुम निस्किन पनि कार्यव्यवस्था परामर्श समितिको निर्णयबाट भन्ने आशयबाट हामी जान थाल्यौँ भने संसदीय मूल्य, मान्यता, यसको गरिमा र संस्कृतिमा र सिङ्गो हाउसको प्रभावकारितामा गतिरोध निर्माण हुन्छ ।’’

सचेतक बर्तौलाले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको उल्लेख गर्नुभयो । नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छाया पार्नु नहुने उहाँले बताउनुभयो । उहाँले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभामुख अगाडि बढ्दा संसद् गतिहीन हुनसक्ने र अवरोधहरूको सञ्जालमा पर्नसक्ने बताउनुभयो ।

संसद्लाई सञ्चालन गर्ने सन्दर्भमा सरकार निर्माणको अङ्क गणित, प्रतिपक्ष वा सत्तापक्ष यस हिसाबले सत्ताको छायाको आधारबाट अगाडि बढाउने यस हिसाबबाट अगाडि बढ्न खोज्यो भने समग्र संसद्को माध्यमबाट हामीले राष्ट्र र जनताको मुद्दाहरूमा डिबेट गरेर जाने फोरम बनाउन सक्दैनौँ । हामीले सत्ता निर्माण, सरकार निर्माणको छाया यसमा पर्न दिनु हुँदैन ।,’’ एमालेका सचेतक बर्तौलाले भन्नुभयो, ‘‘ हाम्रो नेता भनेको सभामुख हो हामीले उहाँलाई विश्वास गर्नुपर्छ । कार्य व्यवस्था परामर्श समितिमा सबै निर्णय गरेर निर्णय भएको माइन्युट अनुसार मात्रै सभामुख अगाडि बढ्नुपर्छ भनेर यदि हामी भन्न थाल्यौँ भने लोकतान्त्रिक संस्थाहरूलाई, सर्वोच्च जनप्रतिनिधि संस्था संसद् गतिहीन हुनसक्छ । अवरोधहरूको सञ्जालमा पर्नसक्छ । यो विषयलाई हामीले राजनीतिक परिपक्वताका साथ हाउसको साझा विषय बनाउनुपर्छ ।’’

उहाँले संसदमा नियमावली निर्माणको सन्दर्भमा विभाजित हुनु हुँदैन भन्ने निष्कर्ष राजनीतिक दलहरूको रहेको पनि उल्लेख गर्नुभयो ।